
काठमाडौं । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको एउटा सेसनमा ‘नेताले किन पढ्नुपर्छ ?’ भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भयो ।
कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की नेतृ हिसिला यमी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, राजनीतिशास्त्री हरि शर्मासँग अध्येता शंकर तिवारीले केही सवाल उठाए । बहसमा सहभागी तीनैजनाले नेताले पढ्नुपर्ने विषयमा एकमत देखिए ।
नेपाली समाजमा एउटा सर्वमान्य मानक बनेको छ, ‘नेताले पढ्दैपढ्दैनन् ।’ के साँच्चै नेताले नपढ्ने हुन् त ? पढ्दा कस्ता के पढ्छन् ? कस्ता पुस्तक पढ्छन् ? यिनै प्रश्नको सेरोफेरोमा शनिबार बहस चल्यो ।
राजनीतिक विश्लेषक शर्माले नेपाली राजनीतिज्ञहरूले कम पढ्ने तर्क प्रस्तुत गरे । उनले भने, ‘राजनीतिज्ञहरूले कम पढ्छन् भन्नलाई मलाई कुनै संकोच छैन । किनभने जनताको आकांक्षा, उर्लंदो इच्छालाई पढ्न सकिरहेका छैनन्,’ उनले थपे, ‘यो कुनै किताबसँग सम्बन्धित छैन । तर, किताब पढ्ने कुरा महत्त्वपूर्ण छ ।’
उनले पढ्नुलाई व्यापकताको संज्ञा दिए । राजनीतिज्ञ मनोवैज्ञानिक हुनुपर्ने विचार उनको रह्यो । नेताले पढिदिऊन् भन्ने जनताको चाहनालाई सकारात्मक रूपमा लिनुपर्नेमा उनले जोड दिए ।
जनता समाजवादी पार्टी (नयाँ शक्ति)की नेतृ यमीले पनि नेताले पढ्नुपर्नेमा सहमति जनाइन् । उनले रूपान्तरणको राजनीति गर्न पढ्नुको विकल्प नभएको ठोकुवा गरिन् ।
यमीले भनिन्, ‘राजनीतिज्ञले सबै पढ्नुपर्छ । राजनीतिमा पनि कुन खालको राजनीति हो ? सत्ताकेन्द्रित राजनीति हो भने मान्छेलाई पढेर स्वार्थमा पार्न सक्ने हो भने सत्ता अर्कोपटक पनि आउँछ । तर, रूपान्तरणको राजनीति गर्ने हो भने पढ्नुपर्छ, पढ्नुपर्छ, पढ्नुपर्छ,’ उनले थपिन्, ‘संसारका चर्चित नेताहरूले असाध्यै पढेको देखिन्छ ।’
सत्तादेखि सत्ताका लागि हो भने पढ्न आवश्यक नभएको उनको भनाइ थियो । पपुलिज्म खोज्ने नेताहरूले कम पढेको उनको टिप्पणी रह्यो । नेतृ यमीले जनयुद्ध सुरु भएपछि किताब पढ्ने अभ्यास बढेको दाबी गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनालले अहिले उड्डयनसँगै परराष्ट्र नीति र कूटनीतिक विषयका पुस्तक पढिरहेको उल्लेख गरे । चेतना र चिन्तन निर्माणमा पुस्तकको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । उनले भने, ‘चेतना वृद्धिका लागि पढ्नुको अत्यन्तै ठूलो महत्त्व हुन्छ जस्तो लाग्छ । त्यो म पटक–पटक अनुभव गर्छु ।’
पपुलिस्ट नेतामा समाजको प्रचलित मानसिकतालाई तुरुन्तै पढ्न सक्ने खुबी भएको पनि उनले बताएको फेस्टिवलद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।