
काठमाडौं । इरानले मध्ये इजरायलमा नयाँ मिसाइल प्रहार गरेको छ । इजरायलले आफ्नो तर्फबाट इरानका परमाणु संरचनाहरूमा धेरै प्रहार गरेको दाबी गरेको छ ।
इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौँ घाइते
इरानले रातभर इजरायलमा विभिन्न चरणमा मिसाइल प्रहार गरेको छ । इजरायली संचारमाध्यमहरूका अनुसार उत्तरी इजरायलको हाइफानजिकैको आवासीय क्षेत्रमा मिसाइल प्रहार गर्दा कमसेकम पाँचजनाको मृत्यु भएको छ ।
इजरायली आपतकालीन सेवा मागेन डाभिड एडमका अनुसार, तेल अभिभमा भएको अर्को प्रहारमा ६० वर्षीया एक महिलाको मृत्यु भएको छ । इजरायली सुरक्षाबलका प्रवक्ताले बताए अनुसार सोही क्षेत्रमा २० जना र जुडियन फुटहिल्समा २४ जना घाइते भएका छन् । तर, बीबीसीले यी समाचारहरू स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
तेहरानको तेल मन्त्रालयले राजधानीको शाहरान तेल डिपोमा नयाँ इजरायली प्रहार भएको बताएको छ । इरानी राष्ट्रपति मसौद पेजेस्कियानले इजरायलले आक्रमण नरोके अझ कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
यी प्रहारहरू त्यतिबेला आएका हुन् जब अमेरिका र इरानले आइतबार इरानको परमाणु कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न लागेका थिए । तर, मध्यस्थकर्ता देश ओमानका अनुसार अब यो वार्ता रद्द भएको छ ।
इजरायल रक्षा बलका अनुसार इरानबाट इजरायलतर्फ प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरू पत्ता लागेपछि देशका धेरै क्षेत्रमा सतर्कता सक्रिय गरिएको छ । आईडीएफले वायुसेनाले ती क्षेप्यास्त्रहरूलाई रोक्न काम गरिरहेको जनाएको छ ।
तेहरानको तेल डिपो र हाइफा तेल प्रसोधन केन्द्र लक्षित
बीबीसीले पुष्टि गरेको एक भिडियोमा आगलागी भएको देखिन्छ, जहाँ दुई बासिन्दाहरूले शाहरान तेल डिपोमा लागेको ठूलो आगो हेरिरहेका छन् ।
अर्को क्लिपमा एउटा जलिरहेको तेल ट्यांकर देखिन्छ र एक व्यक्तिले भिडियोको समय र स्थान बारेका बताएका छन् । इरानको तेल मन्त्रालयले यो अवस्था नियन्त्रणमा रहेको बताएको छ ।
बीबीसीले पुष्टि गरेको अनलाइन भिडियोमा हाइफा तेल प्रसोधन केन्द्रनजिक आगलागी देखिन्छ, जुन इरानबाट प्रहार गरिएका मिसाइलको परिणाम हो ।
पश्चिमी गालिलीमा १४ जना घाइते, इजरायलको आपतकालीन सेवा
इजरायलको आपतकालीन सेवा मागेन डाभिड एडम (एमडीए)ले पश्चिमी गालिलीमा दुईतले घरमा १४ जना घाइते भएको जनाएको छ । एकजनाको अवस्था गम्भीर छ ।
देशको तटीय र उत्तरी क्षेत्रका धेरै घटनाहरूमा इजरायलको दमकल र उद्धार सेवाले सहयोग गरिहेको छ । आवासीय भवनहरूमा भएको क्षति र खुला स्थानहरूमा आगलागी भएका स्थानमा दमकल पुगेको छ ।
नेतन्याहूको अमेरिकीहरूसँग समर्थनको अपिल
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अंग्रेजीमा बोलेको एक भिडियो जारी गर्दै अमेरिकीहरूसँग समर्थनको अपिल गरेका छन् । उनले डोनाल्ड ट्रम्पलाई जन्मदिनको शुभकामना दिएर भिडियो सुरु गरेका छन् । त्यसपछि २५० वर्षदेखि स्वतन्त्रता रक्षा गर्दै आएका अमेरिकी सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेतन्याहूले इजरायली सेनाले पनि मध्यपूर्वमा स्वतन्त्रता रक्षा गरिरहेको बताएका छन्, जसमा उनले ‘अत्याचारी’ इरानी शासन भनेका छन् ।
“यही काम इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी जनता र विश्वका धेरै अन्यको स्पष्ट समर्थनले गरिरहेको छ,” उनले थपे ।
ह्वाइट हाउसले सुरुमा इजरायलको इरान आक्रमणबाट दूरी बढाउने प्रयास गरेको थियो । तर, पछि खुलेर यसलाई समर्थन गर्यो, ट्रम्पले यसलाई उत्कृष्ट भनेका थिए ।
इरानको उत्तर–पश्चिम प्रदेशमा ३१ को मृत्यु
इरानको उत्तर–पश्चिमी पूर्वी अजरबैजान प्रदेशका गभर्नर बहराम सरमस्तले त्यहाँ ३१ जनाको मृत्यु भएको बताएका छन् । यसमा ३० सैनिक कर्मचारी र एक इरानी रेड क्रेसेन्ट सदस्य समावेश छन् ।
सरमस्तले अहिलेसम्म ५५ जना घाइते भएको बताएका छन् ।
इरानको सरकारी टेलिभिजनले तेहरानमा एक भवनमा इजरायली प्रहारमा ६० जनाको मृत्यु भएको रिपोर्ट गरेको छ, जसमा २० बच्चा समावेश छन् ।
इजरायबाट इरानको दुई ग्यास फिल्डमा आक्रमण
इरानको तेल मन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिणी बुसेहर प्रदेशमा दुई प्रमुख ग्यास फिल्डमा इजरायली आक्रमण भएको बताएको छ ।
इरानी मिडियाहरूले प्रत्यक्षदर्शीहरूको भनाइ उदृत गर्दै दक्षिण पार्स ग्यास फिल्डमा सानो यूएभीद्वारा आक्रमण गरिएको बताएका छन् । सोही प्रदेशमा अर्को ग्यास कम्पनी, फज्र जाम ग्यास रिफाइनिङ कम्पनीमा पनि आक्रमण भएको छ । बीबीसी