
काठमाडौं । बागलुङको गल्कोट नगरपालिका–५ स्थित शिवज्योति युवा क्लबले आफ्नो २७औँ वार्षिकोत्सव आयोजना गरेको छ । क्लबले शिवरात्रिको अवसरमा फागुन ११ देखि १४ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाउने भएको हो ।
कार्यक्रममा खुल्ला भलिबल (पुरुष र महिला), खुल्ला मावि नृत्य प्रतियोगिता, र सामूहिक लोक नृत्य प्रतियोगिता लगायतका गतिविधिहरू समावेश छन् ।
यस्तै, क्लबले विजेताहरूका लागि आकर्षक पुरस्कारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरेको छ ।
२०५४ सालमा स्थापना भएको क्लबले 'समाज परिवर्तन दिगो विकास र संस्कृति संरक्षणको लागि शिवज्योति' भन्ने मूल नाराका साथ विगत २७ बर्षदेखि निरन्तर रूपमा स्थानीय समुदायको विकास, एकता, र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको बताएको छ ।
क्लबको मुख्य उद्देश्य स्थानीय प्रतिभाहरूलाई पहिचान र प्रोत्साहन दिनु, युवाहरूलाई सकारात्मक गतिविधिहरूमा संलग्न गराउनु, र सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन रहेको बताएको छ ।