site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई वर्ष ऋणात्मक रहेको औद्योगिक क्षेत्र जीडीपीमा योगदान पाँच प्रतिशतनजिक

काठमाडौं । लगातार ऋणात्मक रहेको औद्योगिक क्षेत्र चालु आर्थिक वर्षमा आएर धनात्मक भएको छ । चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ४.९८ प्रतिशत योगदान रहने प्रक्षेपण सार्वजनिक भएको छ ।

गत वर्ष ऋणात्मक रहेको उद्योग क्षेत्र यो धनात्मक हुन पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । संशोधित तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २.०२ प्रतिशत ऋणात्मक रहने अनुमान गरिएको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार उक्त वर्ष यस क्षेत्रको वृद्धि १.७० प्रतिशत ऋणात्मक कायम भएको थियो । यस क्षेत्रमा अघिल्लो दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा ऋणात्मक वृद्धिदर देखिए पनि चालु आर्थिक वर्षमा भने सुधारको संकेत देखिएको कार्यालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वनस्पति तेल, प्लाइउड, प्लाष्टिकको पाइप फिटिङ, पेय पदार्थ, सिमेन्ट, साबुन लगायतका वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सुधार आउने प्रारम्भिक अनुमान गरिएको कार्यालयको भनाइ छ ।

भटमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइलालगायत कच्चा पदार्थको आयतमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारणले पनि उद्योग क्षेत्रको उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिएको छ ।

विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल उद्योग वाणिज्य संघले संयुक्त रूपमा दुई वर्षअघि गरेको एक अध्ययनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत पुगेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यस्तै, कार्यालयले एक वर्षमा कुल पुँजी निर्माण १७ खर्ब १३ अर्ब रुपैयाँ रहेको जानकारी दिएको छ । जसमा निजी क्षेत्रको ६१, सरकारको २१ र सार्वजनिक संस्थानको ८ प्रतिशत हिस्सा रहेको जानकारी दिएको छ ।

औद्योगिक उत्पादनका साथै आर्थिक वृद्धि पनि ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ । कार्यालयले गत आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ३.८७ प्रतिशत भएको जानकारी दिएको थियो ।

कार्यालयले मुलुकको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको कार्यालयले जनाएको छ । गत वर्ष नेपालको अर्थतन्त्रको आकार गत वर्ष ५७ खर्ब ४ अर्ब रुपैयाँ थियो । एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब रुपैयाँ बढेको कार्यालयले जनाएको छ । यस्तै अघिल्लो वर्ष अर्थतन्त्रको आकार ४८ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।

कार्यालयका अनुसार कृषि क्षेत्रको वृद्धि ३.२३, गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत रहेको अनुमान छ । कार्यालयले नौ महिनाको तथ्यांक प्रयोग गरेर बाँकी अवधिको तथ्यांकीय विधिको प्रयोग गरी अनुमान गरिएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्