
काठमाडौं । ललितपुरको सिभिल होम्सको घर नम्बर ४६ मा दियोबाट सल्किएको आगोले घर जलाएको खुलेको छ ।
आइतबार बिहान ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा दियोबाट सल्किएको आगोले सुमनकुमार जोशीको घरमा आगलागी भएको ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले जानकारी दिए ।
“घरको माथिल्लो तलामा रहेको मन्दिर कोठाबाट आगलागी सुरु भएको खुलेको छ, त्यही आगोले घर जलायो । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । मानवीय क्षति भएको छैन,” एसपी जोशीले भने ।
उनका अनुसार, आगलागीबाट बहुमूल्य सामान पनि जलेका छैनन् । पूजाकोठामा रहेका केही सामानमात्र जलेको उनले बताए ।
आगो नियन्त्रणका लागि महानगरको दमकल, नगरप्रहरीको टोली र प्रहरी परिचालन गरिएको थियो । क्षतिको थप विवरण संकलन गरिहेको प्रहरीले जनाएको छ ।