
काठमाडौं । पोखरामा एक औपचारिक कार्यक्रमका क्रममा बेलुन विस्फोटमा परेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भए । जलनपछि कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उनीहरूलाई भेट्न भीआईपीहरूको लर्को नै लाग्यो ।
घाइतेद्वयलाई भेट्न राष्ट्रपति, प्रधानमन्त्रीदेखि पार्टी कार्यकर्तासम्म पनि आईसीयू कक्षमै पुगे । फागुन ३ गते कीर्तिपुरमा भर्ना भएका उनीहरूलाई भेट्न भोलिपल्टैदेखि अस्पतालले औपचारिक सूचना नै जारी गरेर बन्द गर्यो । अस्पतालको सूचना सर्वसाधारणमा लागु भए पनि भीआईपीहरूका निम्ति लागेन । परिवारका सदस्यमात्र होइन, सहयोगी समेत लिएर पुगे भीआईपीहरू घाइते भेट्न ।
उपचार टोलीले संक्रमण हुनसक्ने भन्दै सूचना निकालिरह्यो, तर उनीहरूले उल्लंघन गरिरहे । अस्पताल प्रशासन भन्छ, ‘‘भीआईपी हुन् या सर्वसाधारण हामी सबैलाई अनुरोध गर्छौं, उनीहरू अटेर गरेर भेटिरहन्छन् ।’’
नेपालमा जलनका घाइतेको मृत्युका मुख्य दुई कारण छन्– पहिलो प्राथमिक उपचार अभाव र दोस्रो संक्रमण । अस्पताल निर्देशक डा. किरणकिशोर नकर्मी भन्छन्, “अधिकांश बचाउन सकिने घाइतेको पनि यिनै दुई कारणले मृत्यु हुन्छ, कतिपयलाई अस्पतालमै संक्रमणबाट जोगाउन सकिँदैन ।”
सूचना जारी गर्दागर्दै पनि सघन उपचार कक्षमै भेट्न पुग्नुलाई डा. नकर्मी अटेरीपनाको रूपमा व्याख्या गर्छन् । भन्छन्, “हामीले निषेध गर्दागर्दै पनि कतिजना अटेर गरेर भेट्न पुग्छन्, यसमा सामाजिक कारण पनि होला, तर जोसुकै होस्, जलनका घाइतेलाई बाहिरी मान्छेको सम्पर्क अत्यन्तै जोखिमपूर्ण हुन्छ, संक्रमण नै हाम्रा लागि ठूलो चुनौती हो ।”
यद्यपि मन्त्री पौडेल र मेयर आचार्य दुवैमा ५ र ६ प्रतिशत मात्रै जलन भएको थियो । हाल उनीहरू अस्पतालबाट डिस्चार्ज भई स्वास्थ्यलाभ गरिरहेका छन् ।
संक्रमण के–के कारणले हुनसक्छ त ?
बिरामीले बाहिरको वातावरणलाई सहन नसक्नु नै संक्रमण हो । उनीहरूमा संक्रमण हुनुको कारण बिरामीको सम्पर्कमा आउने व्यक्ति, प्रयोग गर्ने सामान र आसपासमा रहेका अन्य बिरामी पनि हुनसक्ने डा. नकर्मी बताउँछन् ।
“कतिपय अवस्थामा स्वास्थ्यकर्मीबाटै पनि संक्रमण हुनसक्ने जोखिमले हामी अत्यन्तै संवेदनशील भएर उपचारमा खट्छौँ, सुरक्षा कवच त्यसरी नै अपनाउछौँ,” उनी भन्छन् ।
कीर्तिपुर अस्पतालको हकमा वर्न वार्ड साँघुरो हुँदा पनि बिरामीबीच आपसमा संक्रमण सर्ने जोखिम छ । २७ बेड रहेको वार्डमा बिरामीहरू नजिकनजिकै राख्नुपर्ने बाध्यता रहेको डा. नकर्मी बताउँछन् ।
यसको समाधानका लागि अस्पतालले भवन विस्तार गरी प्रत्येक बिरामीलाई छुट्टाछुट्टै राख्न मिल्नेगरी उपचार कक्ष बनाउन लागिएको उनले बताए ।
कीर्तिपुर अस्पतालमा नोभेम्बरदेखि मार्चसम्म झन्डै पाँच महिना जलनका बिरामीको चाप हुन्छ । सन् २०२४ को तथ्यांक हेर्ने हो भने नोभेम्बरमा ५८ जना भर्ना भएकोमा जनवरी २०१५ मा १०२ जना पुगेका थिए ।
१७ फेब्रुअरीसम्म ४६ जना जलनका बिरामीको भर्ना गरेर उपचार गरिरहेको छ, अस्पतालले । सन् २०२४ मा अस्पतिालमा भर्ना भएका ७५४ जनामध्ये १०१ जनाको मृत्यु भयो । डा. नकर्मीका अनुसार गम्भीर जलन (शरीरको १५ प्रतिशतभन्दा बढी भाग जलेको) भएमा बिरामीको अवस्था जटिल हुनसक्छ । यस्तो अवस्थामा शरीरका अन्य अंगमा पनि असर गरी अपांगता हुने सम्भावना बढ्छ ।
दीर्घरोग, उमेर, जलन भएको भाग, घाउको गहिराइ आदिले कम वा बढी सिकिस्त बनाउन सक्ने डा. नकर्मीको बुझाइ छ । त्यसमा संक्रमणको जोखिम थपिए बिरामीको अवस्था थप जटिल हुन जान्छ ।
घाइतेलाई स्थिर रहेर भुइँमा लडीबुडी गराउनु, शरीरको कपडा र गरगहना फुकाल्नु, बगिरहेको पानीमा घाउ भिजाइरहनु र जतिसक्दो जीवनजल पानी दिनु जलनपछिका प्राथमिक उपचार हुन् ।
जलनका घाइतेलाई कसरी हुन्छ संक्रमण, कति जोखिमपूर्ण ?
(डा. नकर्मीसँग बाह्रखरीका निम्ति अस्मिता रिजालले गरेकाे कुराकानीमा आधारित)