site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुई सुरक्षा कर्मचारी बर्खास्त, तीनजना निलम्बन

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि दुर्व्यवाहार गर्ने दुईजना सुरक्षा कर्मचारी, दुईजना होस्टल कर्मचारी र एकजना प्रशासन अधिकारीलाई कारबाही गरेको छ ।
 
केआईआईटीले मंगलबार सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । केआईआईटीले आफ्ना दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त, दुई होस्टेल अधिकारी र एकजना प्रशासन अधिकारीलाई निलम्बन गरिएको जनाएको छ ।
 
“केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू १६ फेब्रुअरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछन्,” सूचनामा भनिएको छ, “दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ । दुई वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)का एक वरिष्ठ प्रशासनिक अधिकारीलाई अनुसन्धानको लागि निलम्बन गरिएको छ ।”
 
क्याम्पसका कर्मचारीहरू नेपाली विद्यार्थीलाई सकेसम्म छिटो क्याम्पसमा फर्काउन सक्रिय भएको जनाइएको छ ।
 
नेपाली विद्यार्थीलाई फर्काउन सहजीकरण गर्न केआईआईटीमा ‘कन्ट्रोल रुम’ सञ्चालन गरिएको र यसले सातै दिन चौबिसै घण्टा काम गर्ने सूचनामा उल्लेख छ । क्याम्पसका कर्मचारीलाई सम्पर्क गर्नुपरेमा यस नम्बरमा +९१ ८११४३८०७७० सम्पर्क गर्न भनिएको छ । 

आफ्ना केही कर्मचारीले तनावको समयमा गरेको टिप्पणीप्रति केआईआईटीले क्षमा मागेको छ । “हामी हाम्रा विद्यार्थीको सुरक्षालाई सबैभन्दा बढी प्राथमिकता दिन्छौँ,” सूचनामा उल्लेख छ ।
 
केआईआईटीको गल्र्स होस्टलमा आइतबार एकजना बी.टेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षिया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
 
विश्वविद्यालयको लापरवाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रिजस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो ।
 
त्यसपछि सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो । उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको थियो ।
सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले दुर्व्यवाहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुर्व्यवाहार भएको रिपोर्ट गरेकी थिइन् । तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको दाबी गरिएको छ ।
 
उक्त घटनाको भारत र नेपालमा आलोचना भएपछि विश्वविद्यालय प्रशासनले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई होस्टलमा फर्कन आग्रह गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro