काठमाडौं । दिवंगत स्रष्टा एवं कलाकारको सम्झना गर्दै सांगीतिक कार्यक्रम ‘पलेँटी’ फेरि सुरु भएको छ । विगत २० वर्षदेखि नेपाल, भारत र भुटानमा फैलिएका नेपाली संगीतकर्मीको साझा थलोका रूपमा चिनिँदै आएको यो कार्यक्रम कोभिडको महामारी कालयता बन्द भएको थियो ।
नेपालयको प्रस्तुतिका रूपमा यसलाई कवि एवं संगीतज्ञ आभासले संयोजन गर्दै आएका छन् । पलेँटीले आफ्नो पुनरोदयको पहिलो प्रस्तुति कालिकास्थानस्थित नेपालयको ‘आरशाला’मा शुक्रबार र शनिबार दिएको थियो । जसमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, अम्बर गुरुङ, रत्नशम्शेर, प्रेमध्वज, फत्तेमान, राममान ‘तृषित’, भीम विराग, योगेश वैद्य, कुमार सुब्बा, विनोद स्याङ्देन र मीरा थापालगायत ११ जना स्रष्टाका सिर्जना एवं गायन समेटिएको थियो ।
पलेँटीसँग आबद्ध कुल ५६ जना प्रस्तोतामध्ये उल्लिखित स्रष्टा एवं कलाकारको निधन भइसकेको छ । उनीहरू सबैले आफ्नो गीतमा प्रकट गरेका कुनै साझा विम्बको खोजी गर्दा ‘फूल’लाई कुनै न कुनै रूपमा उल्लेख गरेको पाएपछि सबैमा फूल अर्पण गर्दै कार्यक्रमको खाका उभ्याइएको नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले बताए ।
कार्यक्रमलाई ‘गीति–निबन्ध’ नामकरण गरिएको थियो, जसमा प्रस्तोता आभासले दिवंगत स्रष्टाका रचना प्रस्तुत गरेका थिए । गीत भने महिला स्वरमा अभिज्ञा घिमिरे र पुरुष स्वरमा बेनुप क्षत्रीले गाएका थिए ।
पलेँटीले नयाँ मञ्च पाएको छ । ‘आरशाला’ले हलमा बस्न कुर्सीको व्यवस्था मिलाएको छ । यसरी कुर्सीमा बसेर कार्यक्रम अवलोकन गरे तापनि कार्यक्रमको नाम भने ‘पलेँटी’ नै यथावत् रहनेछ ।
त्यस्तै, गितारमा कृपेश लोहनी, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारसमणि सुवेदी, तबलामा लक्ष्मीप्रसाद डंगोल र किबोर्डमा दिनेश रेग्मीको उपस्थिति थियो । रत्नशम्शेर थापाको ‘फूलै फूलको मौसम तिमीलाई’बाट सुरु भएको गायन राममान तृषितको ‘एक फूल झरेर के भो’मा टुंगिएको थियो ।
कार्यक्रमकै लागि आभासले भर्खरै दार्जिलिङलगायत पूर्वोत्तर भारतको भ्रमण गरेका थिए । अबको प्रस्तुति भने दार्जिलिङका संगीतकार चन्दन लम्जेल र गायिका डेजी बराइलीको हुनेछ । यो दम्पतीकी गायिका छोरी विमोचना लम्जेलसहित सिंगो परिवारले एकसाथ आफूलाई प्रस्तुत गर्नेछन् । गीत भने दार्जिलिङकै प्रतिभाशाली कवि नोर्देन रुम्बाका पछिल्लो समयका रचना हुनेछन् ।
अर्को महिना मञ्चमा गीतकार कालीप्रसाद रिजाल उपस्थित हुनेछन् । रिजालका नयाँ गीतमा आभास स्वयंले सहकार्य गर्दै प्रस्तुति दिनेछन् । आगामी पलेँटी कार्यक्रमहरूको टिकट बुकिङ पनि खुला भइसकेको छ ।