site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवा–ओली बखान ? स्वार्थ कि सम्बन्धको निरन्तरता !

काठमाडौं । “ओली र म सँगै जेलमा बसेका साथी हौँ । धेरै दुःख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन,” कांग्रेसका देशभरकै जिल्लास्तरीय कार्यकर्तालाई पोखरामा सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले भनेका शब्द हुन्, यी ।

शब्दमात्रै होइन, यो सन्देश बोकेर ७७ वटै जिल्ला पुग्न दिएको संकेत पनि हो । 

सबै जिल्लाका सभापतिसहितको भेलामा सम्बोधन गर्दै देउवाले कार्यकर्तालाई स्पष्ट सन्देश दिए– ‘‘सरकार तलमाथि पर्दैन । स्पष्ट ढंगबाट अघि बढ्नू ।”

Argakhachi Cement Island Ad

ओलीको यतिधेरै बखान गरेपछि कार्यकर्ताले अब जिल्ला पुगेर पनि सरकारको विरोध गर्ने छैनन् ।

कांग्रेस र एमाले संसद्का दुई ठूला राजनीतिक दल हुन् । साढे तीन दशकयता यी दल प्रमुख प्रतिस्पर्धी पनि हुन् ।

तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक यिनलाई ‘खेलाउँदै’ पाँचै वर्ष सरकार चलाउने ‘३२ सीटे जादूमय गणितीय’ कथा सुनाएपछि दुई नेता एक ठाउँमा उभिने वातावरण बनेको थियो ।

दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार बेचन झा पक्राउ परेसँगै कांग्रेस र एमालेका शीर्ष नेताको ‘सातो’ गएको दाबी गरे पनि उनीहरू भने मान्न तयार छैनन् ।

दाहालको चलाखीपूर्ण व्यवहारका कारण आफूहरू एक ठाउँमा हुनुपरेको उनीहरूको टिप्पणी रहँदै आएको छ ।

ओलीले सातबुँदे सहमतिअनुसार तोकिएको समयभन्दा एक साताअघि राजीनामा गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताइरहेकै छन् । सँगै देउवाले ओलीको मुक्त कण्ठले प्रशंसा गर्दै अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको सन्देशसहित जिल्ला फर्कन कार्यकर्तालाई संकेत गरे ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि सबैभन्दा बढी दोहोर्‍याएको वाक्य हो, ‘‘मेरो कार्यकाल सकिनुअगावै कांग्रेस सभापति तथा मेरा मित्र शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नेछु ।’’

दुई नेता यसरी मिलेका देखिन्छन् कि ओलीले प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकबाट सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमै ‘बन्ध्याकरण’ नै भएको ठोकुवा गरे । उनले यो नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालप्रति संकेत गर्दै भनेका थिए ।

राजनीतिक सम्बन्ध नै ‘वृद्ध’ हुने अवस्थामा रहेका यी दुई नेताबीचको अस्वाभाविक नजिकीलाई पनि राजनीतिक वृत्तमा धेरैले शंकाको दृष्टिले हेर्ने गरेका छन् । ओलीले नै पहिलोपटक २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि देउवा अब ‘चुनावमा जान तयार हुनुपर्ने’ निष्कर्षमा पुगेका थिए ।

देउवाको यो अडानका कारण संसद् विघटनका बेला कांग्रेसले सडक संघर्षमा जान सकेन । त्यसबेला एक भेटमा देउवाले भनेका थिए– ‘‘सडकमा जाने हो भने मैले चुनाव जाउँ भन्छु, रामचन्द्र पौडेल संसद् विघटन संविधानविपरीत भन्छन् । अनि एउटै मञ्चबाट यस्तो सन्देश दिन मिल्छ त ?”

ओलीले दोस्रोपल्ट २०७८ जेठ ८ मा गरेको विघटनका बेला भने देउवा विरोधमा उत्रिए । त्यो विरोधसँगै उनलाई ‘प्रधानमन्त्री पद’ आइलाग्यो । तर, यसलाई मंगलबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले ‘जालीझेलीको सम्बन्ध’ भनेका छन् ।

“यो भ्रष्टाचारीको सरकार हो । जालीझेलीकै सरकार हो । जालझेल जतिबेला पनि हुन सक्छ । यो संविधानविपरीतको सरकार हो । भ्रष्टाचारीको रक्षा गर्न मिलेका हुन्,” म्याग्दीमा भएको कार्यक्रममा सम्बोधन गर्दै दाहालले भने ।

जालीझेली र फटाहा मान्छे प्रधानमन्त्री भएपछि यो देशका लागि ठूलो दुर्भाग्य के हुन्छ ? भन्दै प्रश्न गर्दै दाहालले भने, “हेर्दा त कांग्रेस र एमालेका नेता मिलेको जस्तो देखिन्छ तर भित्री कुरा त्यो होइन । यसलाई यो देशका दलाल, कमिसनखोर, बिचौलिया, भू–माफियाहरूले बनाइदिएको हो ।” 
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्