काठमाडौं । काठमाडौं किक्रेट एकेडेमीको औपचारिक रूपमा उद्घाटन गरिएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा रहेको सुविधा सम्पन्न एकेडेमीको सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको प्रमुख उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा क्यानका अन्य पदाधिकारी, राष्टिय किक्रेट खेलाडी आशिफ सेखलगायत किक्रेटसँग सरोकार राख्ने व्यक्तिहरूको उपस्थित थियो ।
कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चन्दले नेपालको क्रिकेट विकासमा क्रिकेट एकेडेमीहरूले महत्त्वपूर्ण योगदान पुर्याउने बताए । नेपालमा क्रिकेटको विकासका लागि निजी क्षेत्र पनि अघि बढ्नुलाई क्यानले सकारात्मक रूपमा लिएको समेत उनले बताए । क्रिकेट विकासका लागि सरकारले अझै ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
पछिल्लोसमय नेपालमा क्रिकेटको स्वर्णिम युगको सुरुआत भएको समेत अध्यक्ष चन्दले बताए । नेपालमा क्रिकेटको सम्भावना उच्च रहेको भन्दै उनले यसको विकासका लागि सरकार र निजीक्षेत्र सँगसँगै अघि बढ्नुपर्ने बताए ।
नेपालको समग्र क्रिकेट विकासका लागि सपनामाथिको लगानीका रूपमा काठमाडौं किक्रेट एकेडेमी अघि बढेको सञ्चालकको भनाइ छ । एकेडेमीले क्रिकेटको अभ्यासका लागि सुविधा सम्पन्न आउटडोर र इनडोर खेल मैदानको व्यवस्था गरेको छ ।
एकेडेमीको मुख्य प्रशिक्षकका रूपमा राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक जगत तमटा रहेका छन् । उनका अनुसार काठमाडौं किक्रेट एकेडेमीमा राष्ट्रिय खेलाडीहरूले समेत अभ्यास गर्न सक्ने गरी पूर्वाधारहरू बनाइएको छ ।