काठमाडौं । “अस्पतालको शैय्यामा छटपटिनु भन्दा त मर्नै पाए पनि हुन्थ्यो नि !” घरिघरि अस्पतालको भित्तातिर आँखा पुर्याउँछिन् मैसरी टमटा । अनायासै भित्तामा टाँसिएको बालकको तस्बिरतिर आँखा पुग्छ ।
एउटा मुस्कुराइरहेको बालकले उनको पीडा बिथोलिदिन्छ । “हरे ! छोराले के खायो होला ? आमा भनेर रोयो होला कि नाइँ ? बाबुलाई कति पिरोल्दो हो,” उनका आँखामा मातृत्व भरिएर आउँछ र पत्तै नपाई गालाबाट चुहिदिन्छ ।
कम्मरमुनि झुन्ड्याइएको पिसाबको झोला भरिनै लागिसक्यो । पीडाले भक्कानिएर आँसु त्यति नै बग्यो होला, सायद !
राष्ट्रिय ट्रमा सेन्टरको शैय्या नम्बर ५११ ।
पश्चिम रूकुम, आठबीसकोट– ४ की २६ वर्षीया मैसरी टमटा यसरी थलिएको डेढ महिना भयो । एक त सरकारी अस्पताल, उपचार पनि धीमा गतिमा हुन्छ । अर्को भनेजस्तो उपचार गर्न पर्याप्त पैसा पनि छैन ।
“फलानो औषधि लिएर आउनू, नत्र बिरामीलाई सन्चो हुँदैन,” नर्सहरू पनि उनलाई ऋण खाएका साहूजस्ता लाग्छन्, कर्कश, रूखो बोलीका !
कुनातिर आँखा पुर्याउँछिन्, हजुरबुबाको उमेरका श्रीमान् झुसिलो दाह्री सुमसुम्याइरहेका छन् ।
रित्तो बगली । खाली मन र चिसा आँखा लिएर श्रीमान् सेते टमटा पनि उनैलाई हेरिरहन्छन् । नर्सका सामु नाजवाफ हुन्छन्, कुन पैसाले औषधि किन्ने ?
कसैले दया–मायाले दुईचार रुपैयाँ दिए भने न औषधि किन्ने पैसा जुगाड हुन्छ ।
“पख् है, मैसरी ! केबी सरले केही उपाय लगाउनुहुन्छ कि,” बिरामी श्रीमतीतिर टीठलाग्दो आँखा हुत्याउँछन् र खोकिलामा हात हाल्छन् उनी । घाइते पत्नीको व्यथाले मन भक्कानिएको त छँदैछ, बूढेशकालमा विकलाङ्ग श्रीमतीलाई स्याहार गर्नुपर्दाको पीडाले उनको मन कहालिएको छ ।
० ० ०
देशमा भर्खर निर्वाचन सम्पन्न भएको छ । विजयी उमेदवारहरू समाजवादी सपनाको कागजपत्र सिरानीमुनी राखेर विजयोत्सव मनाइरहँदा मैसरी अस्पतालको शैय्यामा छटपटाइरहेकी छिन् । अझ भनौँ, जीवन–मरणको दोसाँधमा छिन् । ढाडमा राखेको पाताको पैसा बुझाउन नसक्दा उनी अस्पतालको शैय्याबाट निस्कन पाएकी छैनन् । थेरापी गरेर तंग्रिन उमेर त घर्किएको छैन तर खाली खल्तीले त्यो कसरी सम्भव छ र ?
नियतिको झटारो
२६ वर्षकै कलकलाउँदो उमेरमा भीरबाट खस्न पुगिन् मैसरी । उनको जीवन बुझ्दा लाग्छ– उनको जीवन यसैगरी पटकपटक भीरबाट खसेको छ र उनलाई उठ्नै नसक्ने गरी थला बसालिदिएको छ ।
१४ वर्षकै उमेरमा विवाह भयो । १५ वर्षको उमेरमा सन्तान पैदा भइहाल्यो । यौवन के हो अनुभूत गर्न पाउँदा¬–नपाउँदै प्रशववेदना झेलिन् र आमा बनिन् ।
“त्यतातिर यस्तै चलन छ । १४–१५ वर्षमै छोरीहरूको बिहे हुन्छ,” निरीह देखिइन् उनी । क्रमशः आफ्ना व्यथा बताउन थालिन् ।
बिहे गरेको वर्षदिन नपुग्दै नियतिको दोस्रो झटारो बेहोरिन् । उनको जीवनको भीमकाय हुरी थियो त्यो र उनको सिन्दूर सदाका लागि निमोठिदियो ।
घरमा खान–लगाउन पुग्दैनथ्यो । वर्षभरि मेहनत गर्यो तर ३ महिना पनि खान नपुग्ने !
“मैसरी ! म डोल्पातिर किरा (यार्सागुम्बा) टिप्न जान्छु, दुई–चार रुपैयाँ पैसाको मुख देख्न पाइन्छ,” श्रीमान्ले यसो भनेपछि उनी फुरूङ्ग परिन् र हुन्छ, जानुस् भनिन् ।
विचरीलाई के थाहा ! त्यसरी बिदा गरेको श्रीमान् कहिल्यै फर्कंदैनन् भनेर । यार्सागुम्बा टिप्न गएका श्रीमान् हिउँको आहारा बने । उनलाई एक्लो बनाएर अदृश्य भए र बालखैमा विधवा भइन् उनी ।
“जान त थुप्रै गएका थिए, तर उहाँचाहिँ चिसो लागेर बित्नुभएछ,” गला अवरूद्ध भयो उनको । गालाबाट बगेका आँसुका धारा हत्केलाले पुछिन् ।
श्रीमान् बित्दा ३ महिनाको गर्भ थियो उनको, छोरी जन्मिई ।
० ० ०
अलिनो जिन्दगी आँसु मिसिएर नुनिलो बन्दै थियो । बूढा भएका बाबुले भन्न थाले, “छोरी ! म पनि डाँडाको घाम भइहालेँ, बेलैमा श्रीमान् बिते, एक्लो जीवन कसरी बिताउँछेस् त ?”
भर्खर १५ मा टेकेकी मैसरीले जीवनको दूर बाटो र व्यवधान कसरी ठक्याउनु ? उनी निरुत्तरित भइन् ।
बरु बाबुले नै भने, “सेतेको पनि श्रीमती मरी । त्यहीसँग बिहे गरेस् । उसका छोरीहरू हुर्किइसकेका छन् । तेरो छोरी पनि तिनैले हुर्काउन सघाउँछन् ।”
बिहे गरेर सुख हुँदैन भन्ने त उनले भोगिसकेकी थिइन् तर छोरी हुर्काउन सघाउ पुग्ने आशमा हजुरबुबाको उमेरको सेते टमाटासँग जीवनको दोस्रो अध्याय सुरू गरिन् ।
० ० ०
सेते टमटाको कहानी पनि त्यस्तै छ । लाग्छ– उनीहरू नियतिले जुराएको जोडी हो । ३ छोरी थिए, सबैको बेलैमा बिहे भइसकेको थियो । दुई जोईपोई मात्रै थिए । उनीमाथि पनि दैवको कुदृष्टि पर्यो र श्रीमतीलाई उनको साथबाट खोसिदियो ।
घाँस काट्न गएकी श्रीमतीको पथाराको भीरबाट खसेको ढुंगो लागेर मृत्यु भयो ।
छोरी सबै आ–आफ्नो घर गइसकेका थिए, एक्लै भए सेते ।
र त्यही एक्लोपनाले जुटाइदिएको हो उनीहरूलाई ।
० ० ०
पति गुमाएकी मैसुरी र पत्नी गुमाएका सेते । उनीहरूबाट एक छोरा पनि पैदा भएको थियो र भविष्यको सहाराको जोहो पनि भइसकेको थियो । गाला चाउरिए पनि हात बसिसकेका थिएनन्, बनिबुतो गर्दा चुल्हो बाल्न गाह्रो थिएन । अब त दुःख सकिए हुन्थ्यो नि !
कहाँ हुन्थ्यो ? गत कात्तिक २६ गते मैसरी भीरबाट खसिन् । त्यही भीरले हो सेतेको पहिलो पत्नी निलेको । अन्ततः दोस्रो पत्नीलाई पनि खँजाहा बनाइदियो ।
कात्तिक २६ गते दिउँसो ३ बजेतिर घाँस काट्न पथारा पुगेकी थिइन् मैसरी । सदाझैँ घाँस काटिन् । भारी पुग्नै आँटेको हुँदो हो, रिंगटा लागेजस्तो भयो । अबेर दिउँसोसम्म मुखमा पानीसम्म परेको थिएन । कमजोरीले पाइला लरबरिन पुगे र अक्करे भीरबाट गुल्टिन थालिन् ।
सँगै गएकी दिदी नचिच्याएको भए उनको हाडखोर भेटिँदैनथ्यो होला, सायद ।
“मैसरी भीरबाट खसी” भनेर कंकालशवतले चिच्याउन थालेपछि खेतका मानिस भीरतिर दौडिए ।
खेत जोत्दै गरेका गाउँका दाइले च्याप्पै समाएछन, उनी बाँचिन् । तथापि कम्मरमुनिको भाग नचल्ने भइसकेको थियो ।
घाइते अवस्थाकी मैसरीलाई बाँच्छे भनेर कसैले भनेनन् । चार घण्टाको बाटो बोकेर मेडिकल त पुर्याए तर “हामी केही गर्न सक्दैनौँ, घरै लैजाओ । काठमाडौँ लैजान तिमीहरूसँग पैसा छैन । बाटामा विचल्ली हुनुभन्दा घरमै मरोस्,” मेडिकल साहुले यसो पो भने ।
त्यतिबेलासम्म मैसरीको होस आएको थिएन ।
० ० ०
केबी शाही चुनावको प्रचार–प्रसारमा रुकुम पुगेका थिए । बाटामा उनले सेतेलाई देखे र सोधे, “कसलाई के भयो ?”
“श्रीमती भीरबाट लडी, उपचार गराउने पैसा छैन, मेडिकलले घरै लैजा भन्यो,” रुन पो थाले सेते ।
केबी शाहीले ‘काठमाडौँ लैजानू, ढिला नगरी अहिले नै गाडी चढ्नू,” भनेर बाटो खर्च दिएर गाउँतिर लागेछन् तर काठमाडौँ जान भनेर हिँडेका सेते बीचबाटैबाट फर्किए । “काठमाडौँ लगिस् भने तेरो घरखेत सबै जान्छ र श्रीमती पनि मर्छे । बरु घरमै मरोस्,” कसले त्यहाँ पनि भाँजो हालिदिएछ ।
त्यो थाहा पाएपछि केबी आफैँले भोलिपल्ट काठमाडौँ ल्याउन सघाए । गाउँबाट मुसीकोट, मुसीकोटबाट काठमाडौँ आउन झन्डै तीन दिन लाग्यो । २६ गते लडेको बिरामी काठमाडौँ ल्याउँदा ३० गते भइसकेको थियो । काठमाडौं आइपुगेर उनी ट्रमा सेन्टरमा भर्ना भइन् ।
० ० ०
उपचार त गर्ने तर आफूसँग भएको पैसा बिरामी ल्याइपुर्याउँदै सकिइसकेको थियो । तिनै केबीले वडा कार्यालयदेखि जिल्ला जनस्वास्थ्यसम्मको कागजपत्र जुटाएर निःशुल्क शैय्यामा उपचारको प्रबन्ध मिलाए । तर सबै औषधि ट्रमा सेन्टरमा नपाइने । अत्यावश्यक औषधि खरिद गर्न समेत पैसा नहुँदा केबीले नै हारगुहार गरे ।
उनकी पत्नी कमला शाहीले त मैसरीलाई छाडेकी छैनन् । “यी गरिबको पनि को छ र ? यहाँ निःशुल्कमा त भर्ना गरिएको छ नि तर औषधि सबै किन्नुपर्छ । यहाँ पाइँदैन । हामीसँग भएको पैसा पनि सकिइसक्यो,” आँसु झार्दै सुनाइन् उनले ।
ढाडको शल्यक्रिया भर्खर गरिएको छ तर पछाडि राख्ने पाताको जुगाड गर्न सकिएको छैन । ढाडमा प्रयोग गरिएको स्टिल पनि उधारोमा खरिद गरिएको हो । “केही पैसा हामीले आफैँ तिर्यौँ । केही पैसा अझै तिर्न बाँकी छ,” कमला बताउँछिन् ।
ट्रमा सेन्टरका सामाजिक सेवा इकाइका प्रमुख अर्जुनप्रसाद भेटवाल पनि बिरामीको आर्थिक अवस्था नाजुक भएको बताउँछन् । विपन्न नागरिक औषधोपचार कोषको सिफारिसमा अस्पतालले एक लाख रुपैयाँसम्मको औषधोपचारको सुविधा उपलव्ध गराएको भए पनि त्यसले मात्रै बिरामीको उपचार सम्भव नहुने उनले बताए ।
“केही औषधि र स्पाइनल कर्ड इन्जर्ड भएकाहरूलाई आवश्यक उपचार सामग्री यहाँ छैन, बाहिरै किन्नुपर्छ । कति त महँगो पनि पर्छ, त्यो किन्न उहाँहरूसँग आर्थिक अभाव छ,” उनी भन्छन् ।
मैसरीको याचना
मृत्युको मुखमा पुगेर फर्किएकाले मैसरीको अनुहारमा रुन्चेहाँसो छाएको छ । बाँच्छु भन्ने आश त छ तर जिन्दगी डोेर्याउने उपाय उनीसँग छैन । गरिब नहुँदी हुन् त कम्मरमुनिको भाग चल्दैनथ्यो, निम्छरो भएकीले जिन्दगी नै विकलाङ्ग भएको छ उनको ।
आफ्नो चिन्ता त छँदैछ, ४ वर्षको छोराको पिरले आधा जीउकी भएकी छन् उनी । “कोही सहयोगीले दया गरे अस्पतालबाट घर जान सक्थेँ कि ? छोरो देख्न नपाएर छटपटिएकी छु” आँखाको चेपबाट आँसुका ढिक्का खसाल्दै उनले याचना गरिन् ।
इच्छुक सहयोगीका लागि :-
सेते टमटा
ग्लोबल आईएमई बैंक, न्युरोड शाखा
०२०७०१००१५१११
तस्बिर : सरिता खड्का
पुनश्च : हाल बिरामीलाई अतिरिक्त उपचारका लागि स्पाइनल इन्जुरी रिह्याब्लिटेसन सेन्टर साँगा पुर्याइएको छ । इच्छुक सहयोगीले अस्पतालमा रहेकी कमला शाही ९८०८१७३२४७ र सेते टमटा ९८६९६९०४७३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।