काठमाडौं । आयरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा भारतीय महिला क्रिकेट टिमले ६ विकेटको जित निकालेको छ । शुक्रबार भारतको राजकोटमा भएको खेलमा आयरल्यान्डले प्रस्तुत गरेको २३८ रनको लक्ष्य भारतले ३४.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा प्रतिका रावलले सर्वाधिक ८९ रन बनाइन् । उनले ९६ बलमा १० चौका र एक छक्का प्रहार गरिन् ।
हेजल हसाबनिसले ४६ बलमा नौ चौकासहित अविजित ५३ रन बनाइन् । यस्तै, कप्तान स्मृति मन्दनाले ४१ र हर्लिन देवलले २० रन थपिन् ।
आयरल्यान्डकी एमी मग्वायरले तीन विकेट लिइन् । आठ ओभर बलिङ गरेकी मग्वायरले एक मेडन फ्याँक्दै ५७ रन खर्चिइन् ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको आयरल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २३८ रनको योगफल खडा गरेको थियो ।
आयरल्यान्डकी ग्याबी लेबिसले सर्वाधिक ९२ रन बनाइन् । शतकबाट नौ रनले चुकेकी उनले १२९ बलमा १५ चौका प्रहार गरिन् ।
लिह पाउलले ५९ रन थपिन् । यस्तै, अर्लेने केलीले २८ र क्रिस्टियन कल्टर रेलीले १५ रन जोडे ।
भारतकी प्रिया मिश्राले दुई विकेट लिइन् । तितास साधु, सयाली सतघरे र दीप्ति शर्माले समान एक विकेट लिए ।
यो जितसँगै भारतले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुने तालिका छ ।