site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनर्निर्माणका निम्ति एक खर्ब आवश्यक

काठमाडौं । पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद्पश्चात पुनर्निर्माणका लागि झन्डै एक खर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ ।

भूकम्प र मनसुनजन्य विपद्का घटनाले क्षति पुर्‍याएको सडक पुल तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत्, वैकल्पिक ऊर्जा र सिंँचाइ, निजी आवास, खानेपानीलगायत पुनर्निर्माण गर्न उक्त रकम आवश्यक देखिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त लगत तयार पारेको हो । “पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनर्निर्माणका लागि ९८ अर्ब ६५ करोड २९ हजार ६८ रुपैयाँ लाग्ने अनुमान छ । यो आगामी तीन वर्षका लागि हो,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता डा. डिजन भट्टराईले बाह्रखरीसँग भने ।

Dabur Nepal
NIC Asia

सरोकारवाला मन्त्रालयहरू र कार्यालयले पठाएको बझाङ र जाजरकोटमा गएका भूकम्प तथा २०८१ सालमा मनसुनजन्य विपद्ले गरेको क्षतिको विवरणको आधारमा लगत तयार गरिएको हो ।

यही पुस २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् प्राधिकरणलाई निर्देशन दिएको थियो ।

परिषद्का आगामी बैठकमा प्राधिकरणले ठोस योजना लग्ने र त्यो पारित भएपछि पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने जनाइएको छ । “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक यही पुस २८ गते बस्दैछ । बैठकले योजना पारित गरेपछि कामअघि बढ्छ,” प्रवक्ता भट्टराईले भने ।

२०८० असोज १६ गते बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही वर्षका कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जाजरकोट भूकम्पको तुलनामा बझाङ भूकम्पले जनधनको क्षति कम निकै कम गरेको थियो ।

प्राधिकरणका अनुसार, जाजरकोट भूकम्पका कारण संरचना भत्किँदा १५४ जनाको मृत्यु भएको थियो भने ३६४ जना घाइते भएका थिए । भूकम्पले २६ हजार ५५७ घरमा पूर्ण र ३५ हजार ४५५ घरामा आंशिक गरी कुल ६२ हजार घरमा क्षति पुर्‍याएको थियो ।

अस्थायी आवास निर्माण गर्न २०८१ मंसिर २ गतेसम्म जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राहीका नाममा हालसम्म तीन अर्ब १६ करोड रुपैयाँ निकासा भएको छ ।

प्राधिकरणको विवरणअनुसार, जाजरकोटमा एक अर्ब ५४ करोड रुपैयाँ, रुकुम पश्चिममा एक अर्ब २४ करोड रुपैयाँ, सल्यानमा सात करोड रुपैयाँ, बझाङमा २५ करोड रुपैयाँ र बाजुरामा ६ करोड रुपैयाँ निकासा भएको छ । हालसम्म ७१ हजार ३७४ अस्थायी आवास निर्माण सम्पन्न भैसकेका छन् ।

२०८१ सालमा मनसुनजन्य विपद्ले नेपालमा ठूलो जनधनको क्षति गरेको छ । प्राधिकरणको तथ्यांकअनुसार, यस वर्षको मनसुनमा (२०८१ जेठ २८ गतेदेखि असोज २६ गतेसम्म) मनसुनजन्य विपद्बाट ४९५ जनाको मृत्यु, ६६ जना बेपत्ता र ५२२ जना घाइते भएका थिए । प्रत्यक्ष प्रभावित परिवारको संख्या १० हजार ८२३ रहेको छ ।

गतवर्ष (२०८०) को मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० जना बेपत्ता र १६८ जना घाइते भएका थिए । उक्त वर्ष मनसुनजन्य विपद्का घटनाबाट ६ हजार १२८ परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।

२०८१ सालमा मनसुनजन्य विपद्का घटना बढेपछि सरकारले २० जिल्लका ७१ वटा स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

नेपालमा जल मापन सुरु भएयताको ७७ वर्षको इतिहासमा एकैदिन सबैभन्दा धेरै वर्षा रेकर्ड २०८१ सालमा भएको थियो । कञ्चनपुरको दोधारा वर्षा मापन केन्द्रमा चौबिस घन्टामा ६२४ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

मनसुनको अन्त्यतिर २०८१ असोज १० देखि १३ गतेसम्म परेको अविरल र आरिघोप्टे पानीले ठूलो जनधनको क्षति गरेको थियो । तीन दिनको वर्षाले २५० जनाको ज्यान लियो भने १८ जना बेपत्ता भए । १७८ जना घाइते भएका थिए । तीन दिनको भारी वर्षाले सबैभन्दा धेरै क्षति वाग्मती प्रदेशमा गरेको थियो ।

तीन दिनको पानीले अर्बौको क्षति गरेको थियो । प्राधिकरणले तयार पारेको ‘क्षति तथा नोक्सानीको प्रारम्भिक आकलन’अनुसार असोजमा परेको तीन दिनको पानीले ४६ अर्ब ६८ करोड ४३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको थियो ।

प्राधिकरणको प्रारम्भिक आकलनअनुसार सडक, पुल, जलविद्युत् लगायत भौतिक पूर्वाधारतर्फ ३८ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ, कृषि तथा पशुधनतर्फ पाँच अर्ब ८८ करोड २८ लाख रुपैयाँ, शिक्षातर्फ सात करोड दुई लाख रुपैयाँ, स्वास्थ्यतर्फ दुई करोड १७ लाख रुपैयाँ र सिँचाइतर्फ एक अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति गरेको थियो ।

बाढी तथा पहिरोले ४१ वटा सडकखण्डमा क्षति हुँदा ती सडकको पूर्ण मर्मतसंहार गर्न २५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

तीन दिनको बाढी र पहिरोले देशभरका २६ वटा जलविद्युत् आयोजनामा असर गरेको थियो । बाढी र पहिरोले ती जलविद्युत् आयोजनामा तीन अर्ब एक करोड ८० लाख रुपैयाँ बराबरको क्षति गरेको थियो ।
बाढी तथा पहिरोले खानेपानी तथा सरसफाइसम्बन्धी एक हजार ६३९ वटा प्रणालीमा क्षति गरेको थियो । बाढी तथा पहिरोले ४४ वटा पुलमा क्षति पुर्‍याएको थियो, जसका कारण एक अर्ब चार करोड २० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको थियो ।

तीन दिनको वर्षापछि आएको बाढी तथा पहिरोले दूरसञ्चार क्षेत्रमा १५ करोड १८ लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । बाढी तथा पहिरोले देशभर ३०२ वटा दूरसञ्चारका युनिटमा क्षति गरेको थियो ।

बाढी तथा पहिरोले तीन दिनमा ८४ वटा सार्वजनिक यातायातका सधानमा क्षति गरेको थियो । सार्वजनिक यातायातमा क्षति पुग्दा ७२ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको थियो ।

बाढी, पहिरो र डुबानले ६५ हजार ८४ हेक्टर कृषियोग्य जमिनमा क्षति गरेको थियो । २६ हजार २०५ पशुपंक्षी प्रभावित भएका थिए । बाढी तथा पहिरोबाट ७ वटा सिँचाइ आयोजना प्रभावित हुँदा एक अर्ब ३५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro