site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभापतिलाई सदस्यहरूले नै र्‍याखर्‍याख्ती पार्न थालेपछि...

काठमाडौं । संसदीय समितिका सभापतिहरूलाई आफ्नै सदस्यहरूले र्याखर्याख्ती पार्ने क्रम बढ्न थालेको छ । तीन समितिका सदस्यहरूले सभापतिकै ‘कार्यशैली’मा प्रश्न उठाउँदै असन्तुष्टि पोख्दैछन् । सभापति र सदस्यहरूको भनाभन शैली हेर्दा कुनै दिन सदनझैँ हात हालाहाल हुने हो कि भन्ने स्थिति देखापर्दैछ ।

सार्वजनिक लेखाका सभापति ऋषिकेश पोखरेलबाट शुरु भएको भनाभन राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा हुँदै बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवसम्म पुगेको छ ।

राजकिशोर र सुवालबीच भनाभन 

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालबीच बिहीबार चर्काचर्की पर्यो । समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनसम्बन्धी एजेन्डा थियो । निर्णय सुनाउने क्रममा सांसद सुवालले आफ्ना मतलाई सभापतिले बेवास्ता गरेको भन्दै आक्रोशित भए ।

सभापति यादवले समिति बैठक सकिएको जानकारी दिएपछि सुवालले समितिमा अनुपस्थित सांसदको संयोजकत्वमा समिति बनाउन नहुने भन्दै आपत्ति जनाएका हुन् । 

बैठकले समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ । खनाल बिहीबारको बैठकमा उपस्थित थिएनन् । 

“अनुपस्थित सदस्यका नाममा समिति बनाइयो । निर्णयमा छलफल गर्न पाउनुपर्छ भन्दा छलफल नै हुन दिइएन । हामीले राखेका कुरा निर्णयमा समावेश भएको भए हुने भन्ने भनाइ हो । त्यस्तो वातावरण भएन,” सुवालले बाह्रखरीसँग भने ।  

सभापति र सुवालबीचको भनाभन यस्तो छ :
सभापति : यो बैठक यही समापन भएको घोषणा गर्दछु । 
सुवाल : सभापतिज्यूले जथाभावी नगर्नुस् । मैले बोल्न पाउँछु कि पाउँदिन । (सभापतिप्रति औंलो तेस्र्याउँदै) 
सभापति : औँला तल राख्नुस् ।
सुवाल : सहमति छैन भन्दा भन्दै किन सच्याउनुहुन्न ? 
सभापति : औँला तल राख्नुुस्, औंला तल राख्नुस् । नौटंकी गर्ने ? 
सुवाल : तपाईं निरंकुश ढंगले नचलाउनुस् । राणाशासन होइन, यो । तपाईंं राणाको अवतार नलिनुस् । मैले असहमति छ भनेपछि कि भन्नुपर्छ । 
सभापति : तपाईंं (रोक्न खोज्दै) 
सुवाल : तपाईं राणा नबन्नुस् । राणा जसरी नै हुत्याइदिन्छ । होस् गर्नुस् । राणा शासन जसरी समाप्त भयो । तपाईं त्यसरी नै हुतिन्छ होस् गर्नुस् । बढ्ता नहुनुुस् । तपाईं पनि एक्लै हो । म पनि एक्लै हो । के फूूर्ति गर्ने ?  तपाईं बढ्ता नहुनुस्, मेरो आपत्ति छ भनेपछि के भनेर सोध्नुपर्दैन सभापति ? तपाईं निरंकुश बन्ने ? 
सभापति : बन्ने (उठ्दै) । राख्नुस् न आफ्नो असहमति राख्नुस् ।
सुवाल : तपाईं कुन दिन हुत्तिन्छ होस् गर्नुस् । तपाईं सत्ता पार्टीको पुच्छर भएर नहिँड्नुस् । समितिको नेता बन्नुस् ।
सभापति : माओवादी सत्ता पक्ष हो ? 
सुवाल : हिजो प्रधानमन्त्री भएका सबै सत्ता पार्टी ।
सभापति : राष्ट्रिय स्वतन्त्र पार्टी सत्तापक्ष हो ? 
सुवाल : हिजो मन्त्री भएका सबै सत्ता पार्टी । 
सुवाल : तपाईं निरंकुश नबन्नुस् । निरंकुश भयो भने सिधिन्छ । तपाईं दाँत छिटै किराले खान्छ । जिब्रो खाँदैन । तपाईंले बोल्न दिनुपर्छ, निरंकुश बन्न पाईँदैन । अनुपस्थित सदस्यको अनुपस्थितिमा समिति बनाउन मिल्छ ? अनुपस्थित सदस्यका नाममा समिति बनाएर के गर्न खोज्नुभएको ? राय लिनुपर्दैैन ? निरंकुश बन्न पाइन्छ ? समितिबाट सदस्यहरूले राय राख्न पाउनुपर्छ । तपाईंहरू सबै मिलेर देश बेच्न खोज्नु भा । निरंकुश नबन्नुस् । अनुपस्थितको खारेज हुनुपर्छ । नयाँ सदस्य आउनुपर्छ । अहिले फेरि बैठक सुरु गर्नुपर्छ । बैठक बोलाउनुस् । तपाईं बढ्ता नहुनुस् । नभएका सांसदको नबनाउनुस् । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ ।

 

खतिवडा र थानीबीच नोकझोक, राईले सभापतिमाथि उठाए प्रश्न

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिमा गत पुस २२ गते (सोमबार) बैठकको एजेन्डा थियो, प्राप्त उजुरी तथा निवेदनमाथि छलफल ।  ऐजेन्डामा धारणा राख्ने क्रममा समिति सदस्य नेपाली कांग्रेसका सांसद हृदयराम थानी सभापति रामहरि खतिवडासँग झोक्किए । खतिवडा कांग्रेसकै सांसद हुन् ।

थानीले संसारभरका उजुरी आए समितिले हेर्न नसक्ने बताए । “विधेयक अड्केर बसिराखेका छन् । संवैधानिक न्यायिक परिषद्को विधेयक पारित गरियो, संसदमा गएर सुतेर बसेको छ, भ्रष्टाचारसम्बन्धी अस्ती पास ग¥यौं, त्यो अब जाँदै होला । अख्तियार, आइसियूमा भन्ने गरेको छु,” थानीले भनेका थिए । 

सांसद थानीले यस्ता कुरा राखिरहँदा समिति सभापति खतिवडा बीचमै जवाफ दिएका थिए । 

“यी विधेयकहरू दिएको धेरै भएको छैन, संसदले लैजान्छ,”  खतिवडाले भनेका थिए । बैठकमा सांसद थानी बोलिरहेको बेला सभापति खतिवडाले अवरोध गरेपछि भनाभन भएको थियो ।

थानी आफू नबोल्ने भन्दै आक्रोशित भएका थिए । “तपाईं नै माननीय, तपाईं समिति सभापति, जहिले पनि कुरा क्रस गर्नुहुन्छ, तपाईं नै बोल्नस् म बोल्दिनँ,” थानी झोकिएका थिए । 

सभापति खतिवडाले विधेयक सहमतिमै अघि बढ्ने बताएका थिए । थानीले आफूले पनि त्यही समितिको सभापति भएको स्मरण गराएका थिए । उनले बीचबीचमा कुरा काटेको भन्दै बोलेन्न । 

समिति सभापतिले आफ्ना कुरा राख्न आग्रह गरेका थिए । थानीले बोल्न अस्वीकार गरेपछि सभापतिले समितिका सदस्य ईश्वरीदेवी न्यौपानेलाई समय दिएका थिए । 

अख्तियारसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन थानीको नेतृत्वमा उपसमिति चयन गरिएको थियो । उक्त समितिले सर्वसहमतिले प्रतिवेदन तयार गरेको थियो ।  तर, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकको प्रतिवेदन स्वीकार गरेर समितिबाट विधेयक पास भइसकेको छ । सँगै आएको अख्तियार विधेयकलाई अगाडि नबढाएकामा थानीले प्रश्न राखेका थिए । 

बैठकमा नोकझोंक भएपछि एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सहजीकरण गर्ने प्रयास गरेका थिए । सांसदले बोल्दा सभापतिले अवरोध गरेमा विषयवस्तुमा छलफल हुन नसक्ने श्रेष्ठको भनाइ थियो । 

एमाले सांसद राजेन्द्रकुमार राईले थानीको धारणामा समर्थन जनाएका थिए । उनले सभापति खतिवडाको कार्यशैलीमा प्रश्न उठाए । 

“श्रीमान् सभापतिसँग मेरो आग्रह छ । तपाईंले स्ट्यान्ड कायम गर्नुपर्छ । तपाईंसँग स्ट्यान्ड छैन । स्ट्यान्ड कायम गर्न सक्नुभएन भने यति महत्वपूर्ण समिति कसरी ‘डाइभ’ हुन्छ ?,” उनको प्रश्न थियो । 

सांसद राईले समितिका महत्वपूर्ण विषयको जवाफ सभापतिले मात्रै दिएर नहुने र सदस्यका नाताले आफूहरूले पनि दिनुपर्ने हुँदा ध्यान दिन उनको आग्रह थियो । बैठकको मितिका बारेमा पनि राम्रोसँग सूचना नदिएको भन्दै राईले आपत्ति जनाएका थिए । 

पोखरेलमाथि प्रश्नै प्रश्न

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि सांसदहरूले प्रश्न उठाउँदै आएका छन् । डेडिकेटेड तथा ट्रंक लाइनको विषयमा एकलौटी निर्णय गर्न खोजेपछि गएको भदौ ९ गतेको बैठकमा विवाद भएको थियो । 
त्यसपछि बैठक बोलाउनै आनाकानी गरिरहे । बल्लतल्ल त्यसको ४ महिनापछि पुुस ८ गते समितिको बैठक डाकिएको थियो । महालेखापरीक्षकले औंल्याएका बेरुजुमा प्रगति समीक्षा बैठकको एजेन्डा थियो । छलफलमा नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले समिति सभापति पोखरेलको राजीनामा मागेका थिए ।

सभापति पोखरेल एमाले सांसद हुन् । अहिले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । लेखा समितिको सभापति प्रतिपक्ष दलले पाउनुपर्ने मान्यता छ ।

नेपाली कांग्रेसको सत्ता सहकार्यसँगै सत्तारुढ एमालेले समिति सभापति छाडेको छैन ।

एमालेका सांसद योगेश भट्टराई र गोकुल बास्कोटाले लेखा समितिको सभापति चाहिए राष्ट्रियसभाको अध्यक्ष र उपसभामुखबारे पनि निर्णय हुनुपर्ने बताएका थिए । उनीहरूले समिति सभापति शीर्ष नेताहरूको सहमतिमा चयन भएको भन्दै फेर्ने भए सहमति जुटाउनुपर्ने बताएका थिए । 

समितिको बैठक बस्दा सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध सहकारीको वचत रकम हिनामिनामा पक्राउ पूर्जी जारी हुँदा फरार थिइन् । सोही विषयले पोखरेल पनि विवादमा तानिएकाले पद छाड्न उचित हुने माओवादी सांसदको भनाइ थियो । 

उनकी श्रीमती कोइराला बुधबार मात्रै धरौटी बुझाएर रिहा भएकी छन् । 

सांसदहरूले लेखा समितिको बैठक माग गर्दै आएका छन् । पोखरेल बाहना बनाएर पन्छिदै आएको सांसदहरूको आरोप छ । उनको कार्यशैलीप्रति प्रश्न उठ्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro