site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लस एन्जलस जलाइरहेको ‘सान्टा एना’ हावा

काठमाडौं । अमेरिकाको लस एन्जलस यतिखेर डढेलोको चपेटमा छ । आगलागी प्रभावित लस एन्जलस क्षेत्रबाट हजारौँ मानिसलाई अन्यत्र सारिएको छ ।

लस एन्जलस क्षेत्रमा अहिले हिउँदे पानी पर्ने मौसम हो । तर, यस वर्ष हिउँदे पानी नपर्दा यो क्षेत्र निकै सुख्खा थियो । नेसनल जियोग्राफीका अनुसार, लस एन्जलस क्षेत्रमा ११० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चलिरहेको छ । तीव्र गतिको हावा र सुख्खा मौसमका कारण डढेलो निभाउन कठिन भएको हो ।

तीव्र गतिको हावाले डढेलोलाई २२ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढाइरहेको छ । यही कारण आगो निभाउन कठिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् ।

लस एन्जलसका ६ स्थान डढेलोको चपेटमा परेका छन् । मंगलबारबाट सुरु भएको डढेलो शुक्रबारसम्म नियन्त्रणमा आएको छैन । लस एन्जलसको अग्नि नियन्त्रण विभागका अनुसार, हावाको गति नरोकिए लस एन्जलसवासी नै खतरामा पर्नेछन् । डढेलोको चपेटामा परेर १० जनाको मृत्यु भइसकेको छ ।

डढेलो ३४ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको छ । करिब दुई लाख जनालाई स्थानान्तरण गरिएको छ ।  दुई लाखभन्दा बढी गम्भीर जोखिममा रहेको चेतावनी दिइएको छ । डढेलोको चपेटमा परेर १० हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भइसकेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेले डढेलोबाट भएको क्षतिको क्षतिपूर्ति संघ सरकारले बेहोर्ने बताएका छन् । उनले १८० दिनभित्र सबै क्षतिपूर्ति दिने बताएका छन् ।

डढेलोका कारण बिमा कम्पनीहरू पनि चिन्तामा छन् । प्रारम्भिक अनुमानअनुसार, बिमा कम्पनीहरूमा कम्तीमा आठ बिलियन अमेरिकी डलर बराबरको बिमा दाबी हुने अनुमान गरिएको छ ।

डढेलो निभाउन जमिन र आकाशबाट प्रयास भइरहेको छ । अमेरिकाले क्यानडाबाट आगो निभाउन ल्याएको स्कुपर विमान दुर्घटनामा परेको छ । आगो निभाउने क्रममा विमान ड्रोनसँग ठोक्किएपछि अहिले ग्राउन्डेड गरिएको छ ।

डढेलोलाई ‘इकोसिस्टम’कै एक हिस्सा मानिन्छ । तर, जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा डढेलो भयानक बन्दै छ ।

अमेरिकामा बर्सेनि ७२ हजार ४०० वटा डढेलोका घटना हुन्छन् । डढेलोको कारणमा ८५ प्रतिशत मानवीय हुन्छ भने १५ प्रतिशत प्राकृतिक हुन्छ ।

सुख्खा मौसमकै कारण आगो निभाउन दमकलकर्मीलाई पानीको अभाव भइरहेको छ । पानी अभाव भएपछि स्थानीय सरकारले लस एन्जलसवासीलाई पानी जोगाउन अनुरोध गरेको छ ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक प्रमुख एन्थनी म्यारेनका अनुसार, उनीहरू यति ठूलो डढेलोका लागि तयार थिएनन् । “हाम्रो क्षमता यति ठूलो डढेलो निभाउने थिएन । हामीसँग मुस्किलले एक, दुई ठूला आगो निभाउने क्षमता थियो,” उनले भने ।

राष्ट्रपति बाइडेले पनि दमकलकर्मीलाई आगो निभाउने थप सामग्री उपलब्ध गराउन सेनालाई निर्देशन दिएका छन् ।

बीबीसीका अनुसार, यस क्षेत्रमा पहिले जंगलमा मात्र अगाो लाग्ने गर्थ्यो । तर, यसपटक हावाका कारण त्यो आगो मानव बस्तीसम्म पुग्यो । तीव्र हावा नरोकिए डढेलो अझै फैलिने सम्भावना छ । यस क्षेत्रमा अझै एक हप्ता पानी पर्ने सम्भावना छेन । त्यसकारण पनि डढेलो पूर्णरूपमा नियन्त्रणमा लिन अझै समय लाग्ने छ ।

आगो फैलाउने हावा

लस एन्जलसमा यतिखेर ‘सान्टा एना’ नामको हावा चलिरहेको छ । ‘सान्टा एना’ हावा हिउँदमा चल्ने हावा हो । यो हावा ९५ देखि १३० किलोमिटर प्रतिघण्टाको गतिसम्म चल्ने गर्छ ।

हिउँदमा चल्ने यो हावालाई ‘सान्टा एना’ नाम कसले दियो र किन दियो भन्ने कुरा यकिन छैन । यो हावा दक्षिणी क्यालिफोर्नियाको ओरेन्ज काउन्टीमा रहेको सान्टा एना खोँचबाट आएर समुन्द्रतर्फ जाने गर्छ । यो हावालाई ‘दानवी हावा’ र ‘रातो हावा’ पनि भन्ने गरिन्छ ।

‘सान्टा एना’ हावा सेप्टेम्बरको अन्तदेखि मे महिनासम्म चल्ने गर्छ । यस अवधिमा यो हावा कहिलेकाहीँ वा बढीमा एकहप्तासम्म निरन्तर चल्ने गर्छ । यो हावा पश्चिमी अमेरिकाको ठूलो क्षेत्रमा हावाको दबबा उच्च भएपछि सिर्जना हुन्छ । सुख्खा क्षेत्रमा सिर्जना हुने दबाबका कारण चल्ने यो हावामा आद्रता हुँदैन ।

लस एन्जलस क्षेत्रमा डढेलोलाई भयानक बनाउन यही हावाको भूमिका छ । यो हावाको गति कम नभएसम्म डढेलो रोक्न मुस्किल हुने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro