काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक तथा अर्थविद् रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा तीन प्रमुख अन्तरविरोध रहेको बताएका छन् । उनले मुलुकको अर्थतन्त्रमा मुख्य गरी बैंकिङ र वित्तीय क्षेत्रमा देखिएका समस्यासँगै आन्तरिक र बाह्य क्षेत्रको सन्तुलनमा चुनौती रहेको बताएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यक्रममा उनले बैंक तथा वित्तीय क्षेत्रको नियमन प्रभावकारी भए पनि बैंकहरूको सम्पत्तिको गुणस्तर घट्दो अवस्थामा रहेको बताए । खनालले खराब सम्पत्तिको देखिने आकारमात्रै घट्दै गएको देखिए पनि नदेखिने आँकडा कहाली लाग्दो अवस्था रहेको उल्लेख गरे ।
उनले बैंकहरूको सम्पत्तिको गुणस्तर कमजोर देखिएका अन्तर्राष्ट्रिय निकायहरूले बैंकहरूको मूल्यांकन परम्परागत नियमनले मात्रै नभएर ऋणीकै तहमा पुग्न र कर्जा लिएको व्यक्ति वा संस्थाले कर्जा उपयोगका विषयमा छानबिन गर्नुपर्ने प्रश्न उठाएको उल्लेख गरे ।
उनले बैंक तथा वित्तीय संस्था र रियल क्षेत्रबीचको सम्बन्ध प्रभावकारी नभएको पनि बताए । खनालले अहिले बजारमा ७०० अर्ब बढी तरलता भए पनि व्यक्तिको हातमा तरलता नभएको बताए । उनले बजारमा गएको तरलता व्यक्तिको हातमा पुग्ने संयन्त्र कुण्ठित भएको पनि उल्लेख गरे ।