काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले घरेलु मैदानमा जारी काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो निकालेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराएको हो ।
पहिलो दुई सेट हेल्प नेपालले २५–१५, २५–२३ ले सहजै आफ्नो पक्षमा पार्यो । तर, तेस्रो सेट गण्डकीले २५–२३ ले आफ्नो बनायो । हेल्प नेपालले भने चौथो सेट २५–१६ ले सहजै आफ्नो बनाउँदै विजयीयात्रा जारी राख्यो ।
हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकट हिरोजमाथि ३–२ को सेटमा जित निकालेको थियो । हेल्प नेपालले अब बुधबार क्लब एचडीसीसँग प्रतिष्पर्धा गर्नेछ । गण्डकीले भने इरानको यू–१८ टोलीसँग प्रतिस्पर्धा गर्ने तय छ ।
जितसँगै दुई खेलबाट हेल्प नेपालले पाँच अंक जोडेको छ । दुई हार सामना गरेको गण्डकीको समान खेलबाट एक अंक छ ।
आइतबार नै इरानको यू–१८ टोलीले माल्दिभ्सको क्लब एचडीसीलाई ३–२ को सेटमा हराउँदै सुखद् सुरुवात गरेको छ ।
इरानी टोलीले पहिलो सेट २५–१६ ले सहजै आफ्नो बनाएको थियो । तर, दोस्रो सेट प्रतिस्पर्धात्मक बन्यो । यो सेट क्लब एचडीसीले २५–२२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट पनि एचडीसीले २५–२० ले आफ्नो बनाउँदै अग्रता लियो ।
तर, चौथो सेट इरानी युवा टोलीले २५–२० ले आफ्नो बनाउँदै सेट २–२ को बराबरीमा ल्याए । निर्णायक तथा पाँचौँ सेट पनि इरानी टोलीले १५–१३ ले आफ्नो पक्षमा पार्दै सुखद् सुरुवात गरेको छ ।