काठमाडौं । नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी ३०औँ अन्तर माध्यमिक विद्यालय आईजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन तिन खेल भएका छन् ।
बुधबार भएको दिनको पहिलो खेलमा डीएभी स्कुल जावलाखेलले नेपाल पुलिस स्कुल सामाखुसीलाई २–० गोल अन्तरले हरायो । डीएभीका लागि खेलको ८औँ मिनेटमा अनुज थापा र ३१औँ मिनेटमा आर्नब मान क्षेत्रीले गोल गरे । 'म्यान अफ द म्याच' अनुज थापा घोषित भए ।
दिनको दोस्रो खेलमा पहिलोपटक प्रतियोगितामा भाग लिएको नेपाल पुलिस स्कुल दाङले साँगाको स्थानीय विद्यालय ग्रेसल्यान्ड स्कुललाई ३–० गोल अन्तरले हरायो । खेलको तेस्रो मिनेटमै नवीन ओलीले खाता खोलेका थिए । खेलको २८औँ र ५७औँ मिनेटमा 'म्यान अफ द म्याच' देवबहादुर ओलीले गोल गरेर अग्रता तेब्बर पारे ।
दिनको तेस्रो तथा अन्तिम खेल गत संस्करणको विजेता सैनिक आवासीय महाविद्यालय भक्तपुर र यस वर्षको नवप्रवेशी बालउद्धार मावि बूढानीलकण्ठले गोलरहित बराबरि खेले । रोमाञ्चक खेलमा दुवै टिमबाट गोल गर्ने धेरै अवसर सिर्जना भए पनि गोल हुन सकेन ।
भोलि तेस्रो दिन पनि तिन खेल हुनेछन् । पहिलो खेल नेपाल पुलिस स्कुल धरानले बिकटेश्वर स्कुलको सामना गर्नेछ । दोस्रो खेलमा नाइटिङगल स्कुलले मनकामना स्कुलसँग प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा आयोजकको टिम एनपीएस–ब्लू र ल्याब स्कुल आमनेसामने हुनेछन् ।
लिग कम नकआउट आधारमा मंसिर १८ देखि जारी प्रतियोगिता पुसको पहिलो सातासम्म चल्नेछ । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः ६० हजार, ४० हजार र २० हजार पाउनेछन् । उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।