site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवस्था फेर्ने अभियानमा सक्रिय राप्रपाको दयनीय अवस्था ! 
राप्रपा काभ्रेको आठौँ जिल्ला अधिवेशनको दृश्य । फाइल तस्बिर : राजेन्द्र लिङदेनको ट्विटबाट ।

काठमाडौं । कीर्तिपुर नगरपालिकामा ३१ हजार ११२ मतदाता छन् । भर्खरै सम्पन्न उपचुनावमा ०७९ को स्थानीय तह निर्वाचनभन्दा झन्डै १० हजार कम अर्थात् २१ हजार २९९ मत मात्र खस्यो ।

त्यसमा ५३१ मत बदर भयो । कुल सदर मत २० हजार ७६७ कायम भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मेयर उमेदवार ध्रुव महर्जनले जम्मा ९९५ अर्थात् कुल सदर मतको ४.७९ प्रतिशत मात्र प्राप्त गरेसँगै उनको जमानत जफत भयो ।

अझ कीर्तिपुर त्यस्तो पालिका बन्यो, जहाँ राप्रपाले उपनिर्वाचन भएका ठाउँमध्ये सबैभन्दा बढी मत पायो । कीर्तिपुर–१ मा राप्रपाका वडाध्यक्षका उमेदवार सुरेन्द्रप्रसाद उप्रेतीले ६४ मत मात्र ल्याए । कीर्तिपुर–४ का वडाध्यक्ष उमेदवार राप्रपाकै विजेश बस्नेतले १६४ मत पाए ।

तीन हजार ११२ मत सदर भएको वडा नम्बर–४ मा बस्नेतको जमानत जफत भयो । एक हजार ६७४ मत सदर भएको कीर्तिपुर–१ मा ६४ भोट पाएका उप्रेतीकोे त झन् लाजमर्दो अवस्था देखियो । जमानत जफत भए पनि राप्रपाका निम्ति त्यही कीर्तिपुर देशका अरू पालिका र वडाभन्दा सम्मानजनक मत पाएको स्थान बन्न पुग्यो ।

कीर्तिपुरमा अरू दलभन्दा राप्रपाले पहिल्यै उमेदवारी घोषणा गरेको थियो । त्यसक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशको अवस्था गणतन्त्रवादी दलहरूले बिगारेको आरोप लगाएका थिए । कीर्तिपुरवासीलाई भोटमार्फत व्यवस्था परिवर्तनको शंखघोष गर्न उनले आह्वान गरेका थिए । तर, आफैँले जित्ने घोषणा गरेका पालिकामा राप्रपाको जमानत जोगिएन ।

राप्रपाको अझ खराब अवस्था देखाउने पालिका बन्यो, मोरङको ग्रामथान गाउँपालिका । ग्रामथानमा कुल १८ हजार २०७ मत सदर भयो । यहाँ राप्रपाका अध्यक्ष उमेदवार दिनेशकुमार थान्दारले जम्माजम्मी ५५५ मत प्राप्त गरे । ३ प्रतिशत मत मात्र पाएका थान्दारको पनि जमानत जोगिएन ।

काठमाडौं महानगरपालिका–१६ को उपचुनावमा यसपटक कुल १० हजार ३७६ मत सदर भएको थियो । त्यहाँ राप्रपाका वडाध्यक्ष उमेदवार श्यामकृष्ण श्रेष्ठले ६२२ मत ल्याए, तर जमानत जोगिएन ।

उपचुनावमा पूर्वपञ्चबहुल राजतन्त्रको हिमायती दल राप्रपाको अवस्था देशभर यस्तै बनेको छ । मधेस प्रदेशको मुकाम रहेको धनुषाधाम–१ मा राप्रपाले २७ मत पायो । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा राप्रपाले दुई मत पाएको छ ।

राप्रपा उमेदवारले ओखलढुंगाको मोलुङ–५ मा तीन, रौतहटको गढीमाई–८ मा चार, तेह्रथुमको लालीगुराँस–८ मा चार, सप्तरीको डाक्नेश्वरी–४ मा ६, गुल्मीको मुसिकोट–१ मा पाँच, जाजरकोटको कुशे गाउँपालिका–७ मा ६ मत पाए । 

राप्रपा अध्यक्ष लिङदेनको गृहजिल्ला झापाको कन्काई–६ मा राप्रपाका उमेदवार नारायण निरौलाले २६ मत पाएका छन् । त्यहाँ एक हजार ५०६ मत सदर भएको थियो ।

कुनै बेला राप्रपाको गढ मानिने हेटौँडा उपमहानगरपालिका–१२ मा उक्त पार्टीका वडाध्यक्ष उमेदवार प्रेमबहादुर भोलनले १७८ मत पाए । उनको पनि जमानत जफत भयो ।

राप्रपा नेताहरूले गणतन्त्रवादीको सरकारबाट नागरिक वाक्कदिक्क भइसकेको र व्यवस्थाकै विकल्प खोजिरहेको बताउँदै आएका छन् । विवेकशील साझा पार्टी छाडेर राप्रपाको वरिष्ठ उपाध्यक्ष बनेका रवीन्द्र मिश्रले त गणतन्त्रवादीका कारण देश नै जोखिममा परेको भन्दै मुलुक जोगाउन राजा र राजावादीहरू शक्तिमा फर्कनुपर्ने बहस चलाइरहेका छन् ।

तर, निर्वाचनको जनमतले गणतन्त्रवादीबीच मात्र प्रतिस्पर्धा देखाएको छ । देशका अधिकांश ठाउँमा कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा भयो । काठमाडौं–१६ मात्र जितेको रास्वपा पनि नवगणतन्त्रवादी दल हो ।

जनताले भोटै हालेनन् : राप्रपा
राप्रपा उपाध्यक्ष तथा संसदीय दलका उपनेता बुद्धिमान तामाङ उपचुनावमा जनताले भोटै नहाल्दा आफ्नो पार्टीको मत कम आएको जिकिर गर्छन् । “यसपटक जनताले भोट नै हालेनन् । म पनि एउटा पार्टीकै वरिष्ठ उपाध्यक्ष छु, तर जनता पार्टीहरूसँग वाक्कदिक्क छन्,” तामाङले बाह्रखरीसँग भने, “जनताले त डेलिभरी खोज्छ, शान्ति सुरक्षा खोज्छ, भ्रष्टाचार नियन्त्रण र सुशासन खोज्छ । त्यो नहुँदा जनता दल र हालको व्यवस्थाप्रति आक्रोशित छ ।”

यसपटक कार्यकर्ताको मात्र भोट आएको उनले तर्क गरे । “जसको पार्टी संगठन बलियो छ, उसका कार्यकर्ता र त्यससँग जोडिएका व्यक्तिले भोट हाले, अरूले भोटै हालेनन्,” उनले भने, ‘‘जति भोट प्राप्त भएको छ, राप्रपाले उपलब्धिका रूपमा लिएको छ ।’’

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro