site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिमानी खेलमा लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्चक जित 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बनेको कीर्तिमानी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

यो एनपीएलमा कुनै पनि टिमले भेट्टाएको हालसम्मकै ठूलो योगफल हो । प्रतियोगितामा विराटनगरको यो पहिलो जित हो । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो ।

विराटनगरलाई अन्तिम ओभरमा जितका निम्ति १५ रनको आवश्यकता थियो । लुम्बिनीबाट बलिङ गर्न आएका विवेक यादवले सुरुका दुई बल वाइड फ्याके । त्यसपछि उनले पहिलो आधिकारिक बलमा विराटनगरका कप्तान सन्दीप लामिछानेलाई आउट गरे । 

विराटनगरलाई जितका निम्ति अन्तिम पाँच बलमा १३ रन आवश्यक बन्यो । सन्दीपपछि ब्याटिङमा आएका क्रिस सोलले विवेकको दोस्रो बल डट खेले । तेस्रो बल छक्का प्रहार गरेपछि विराटनगरलाई अन्तिम तीन बलमा सात रन आवश्यक थियो । चौथो बलमा पनि बाउन्ड्री लगाउँदै सोलले चौका प्रहार गरे । दुई बलमा तीन रन आवश्यक हुँदा पाँचौँ बलमा पनि सोलले चौका प्रहार गरेपछि विराटनगरले रोमाञ्चक जित निकालेको हो । 

विराटनगरको जितमा उत्कृष्ट ब्याटिङ गरेका लोकेश बमले ७१ रन बनाए । उनले ४७ बलमा तीन चौका र ६ छक्का प्रहार गरे । लोकेशलाई १७.४ ओभरमा लुम्बिनीका रेमन सिमोन्ड्सले सन्दीप जोराबाट क्याच गराए । ७२–४ को स्थितिबाट लोकेशले पाँचौँ विकेटका निम्ति बसिर अहमेदसँग ७८ रनको साझेदारी गर्दै विराटनगरलाई १५० रनसम्म पुर्‍याएका थिए । १६.२ ओभरमा आउट हुनुअघि बसिरले २३ बलमा चार चौका एक छक्कासहित ४० रन बनाए । बसिरलाई दुर्गेश गुप्ताले बेन कटिङबाट क्याच गराए । 

अन्तिमसम्म अविजित रहेका क्रिस सोलले चार बलमा दुई चौका र एक छक्कासहित १४ रन बनाए । उनीसँग अविजित रहेका दीपक बोहराले आठ बलमा नौ रन जोडे । स्कोरबोर्डमा दुई रन हुँदा इस्मात आलमलाई गुमाएको थियो । इस्मात शून्यमै पभेलियन फर्किए । यसपछि ब्याटिङमा आएमा मार्टिन गप्टिल र ओपनर लोकेशले दोस्रो विकेटका निम्ति ६२ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए । आठौंँ ओभरको पहिलो बलमा दुर्गेश गुप्ताबाट बोल्ड हुनुअघि गप्टिलले १७ बलमा ६ चौकासहित २८ रन बनाए । 

यसबाहेक, प्रतिश जिसीले तीन बलमा एक छक्कासहित ६ रन बनाए । उनलाई १७.६ ओभरमा दुर्गेश गुप्ताले बोल्ड गरे । राजेश पुलामीले १० बल खेल्दा चार रनमात्रै थप्न सके । उनी नवौँ ओभरको तेस्रो बलमा साद बिन जफरबाट ‘कट एन्ड बोल्ड’ भए । लगत्तै अर्को बलमा जफरले विराटनगरका किर्टोनलाई ‘गोल्डेन डक’ पभेलियन फर्किए । लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट लिए । चार ओभर बलिङ गरेका दुर्गेशले २१ रनमात्र खर्चिए । रेमन सिमोन्ड्स र साद बिन जफरको नाममा समान दुई विकेट रह्यो । विवेक यादवले एक विकेट लिए ।

पहिलो इनिङ : लुम्बिनीको कीर्तिमानी योगफल 
यसअघि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रनको योगफल बनाएको हो । मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुनै पनि टिमले बनाएको यो हालसम्मकै सबैभन्दा ठूलो योगफल हो । लुम्बिनीले सुदूरपश्चिम रोयल्सको नाममा रहेको कीर्तिमान तोडेको हो । यसअघि सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध नै १८२ रन बनाउँदै यो कीर्तिमान बनाएको थियो । 

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । अर्धशतकबाट चार रनले चुकेका रोहितलाई १२.५ ओभरमा राजेश पुलामीले प्रतिश जिसीबाट क्याच गराए । रोहितले २९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । ६४–२ को स्थितिबाट रोहितले टम मोरेससँग तेस्रो विकेटका निम्ति ३३ बलमा ६७ रनको आक्रामक साझेदारी गर्दै लुम्बिनीको इनिङ बढाएका थिए । 

१४औँ ओभरको चौथो बलमा रनआउट हुनुअघि मोरेसले १७ बलमा एक चौका र दुई छक्कासहित ३० रन प्रहार गरे । लुम्बिनीको खातामा १२ रन थपेका सन्दीप जोरा १६.२ ओभरमा रनआउट भए । उनले १३ बल खेले पनि बाउन्ड्री प्रहार गर्न भने सकेनन् । साद बिन जफरले १३ बलमा एक छक्कासहित १५ रन बनाए । सन्दीप लामिछानेले गरेको १९औँ ओभरको दोस्रो बलमा जफर मार्टिन गप्टिलबाट क्याच भएका थिए । सोही ओभरको चौथो बलमा बेन कटिङ पनि रनआउट भए । कटिङले ६ बलमा एक चौकासहित ६ रन बनाए । 

त्यसअघि लुम्बिनीले चौथो ओभरको पहिलो बलमा ओपनर आशुतोष घिरैयालाई रनआउटको रूपमा गुमाएको हो । ननस्ट्राइकमा रहेका आशुतोष रन लिन अघि बढेको स्थितिको फाइदा उठाउँदै विराटनगरका निकोलस किर्टोनले उत्कृष्ट ‘थ्रो’ गर्दै रनआउट गरे । आशुतोषले १५ रन बनाए । 

दोस्रो विकेट लुम्बिनीले आठौँ ओभरको दोस्रो बलमा अर्का ओपनर अर्जुन साउदलाई गुमाएको थियो । साउदलाई विराटनगरका इस्मात आलमले बोल्ड गरे । उनले लुम्बिनीको खातामा १७ रन थपे । अन्तिममा अविजित रहेका विवेक यादवले १९ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका विवेकले सात बलमा तीन छक्का प्रहार गरे । रोमन सिमोन्ड्सले दुई रन बनाए । 

विराटनगरका कप्तान सन्दीप, इस्मात आलम र राजेश पुलामीले समान एक विकेट लिए । प्रतियोगितामा तेस्रो खेल खेलिरहेको विराटनगरबाट सन्दीपको यो पहिलो विकेट हो । यसबाहेक, विराटनगरले लुम्बिनीका चार ब्याटरलाई रनआउट गरेको थियो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro