काठमाडौं । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चाहरजार ५५५ मत ल्याए । तेस्रो बनेका नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले चारहजार ३३७ मत ल्याए ।
यसैगरी, 'केटा र केटी' चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार राजमान महर्जनले दुईहजार ३६ मत ल्याए । यस्तै, 'बाकस' चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार कविकुमार महर्जनले एकहजार ३१४ मत ल्याए । अर्का स्वतन्त्र उमेदवार 'कैँची' चिह्न पाएका दिनेशकुमार अधिकारीले एकहजार ४८ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुव महर्जनले ९९५ मत ल्याए ।
कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेसका उमेदवार नै निर्वाचित भएका छन् । वडा नम्बर ४ मा यसअघि स्वतन्त्र उमेदवार जितेका थिए ।
यसअघि, २०७९ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस नै निर्वाचित भएको थियो । त्यतिबेला नेपाली कांग्रेसका राजकुमार नकर्मी नौहजार ४३ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशवरत्न बज्राचार्यले पाँचहजार ५०७ मत ल्याएका थिए ।
तत्कालीन मेयर नकर्मीको गत साउन १० गते राति निधन भएको थियो । लामो समयदेखि मृर्गौलाको बिरामी रहेका उनको वीरअस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।