site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमा कांग्रेसको हार, एमाले र माओवादीलाई फलिफाप
स्थानीय तह उपनिर्वाचनमा मतदान गर्दै मतदाता ।

काठमाडौं । उपनिर्वाचनका विषयमा जिज्ञासा राख्दा नेकपा (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही दिनअघि बाह्रखरीसँग भनेका थिए, “हामीले उपनिर्वाचनमा पालिका गुमाउनुपर्ने छैन, बोनस न पाउने हो ।”

उनले भनेजस्तै उपनिर्वाचनको सार्वजनिक मत परिणामानुसार, एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्ष पद एमालेलाई ‘लाभ’ भएको छ । ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको दैलेखेको महाबु गाउँपालिका अध्यक्ष र बाजुराको स्वामीखापर गाउँपालिकाको उपाध्यक्ष पद एमालेले जितेको छ ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य रहेका जंगबहादुर शाहीलाई पार्टीमा भित्र्याउँदा एमालेले दैलेखको महाबुमा जित निकालेको हो । गाउँपालिका अध्यक्षमा एमालेका उमेदवार शाही तीन हजार १२७ मत ल्याएर निर्वाचित भए । उनी गएको कात्तिक २७ गते एमालेमा फर्किएका थिए । त्यसपछि एमालेले उनैलाई उमेदवार बनाएको हो ।

सोमबार बिहान सार्वजनिक मत परिणामानुसार, यहाँ नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत पाए । नेकपा (माओवादी केन्द्र)का जंगबहादुर बराल ८४२ मतसहित तेस्रो स्थानमा रहे ।

०७९ मा निर्वाचित अध्यक्ष कांग्रेसका लछुमन गुरुङको निधनपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । त्यति बेला एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गर्दै गुरुङ पालिका अध्यक्ष बनेका थिए । गुरुङ ४६० मतान्तरले निर्वाचित भएका थिए । उनले दुई हजार ९७९ र उपाध्यायले दुई हजार ५१९ मत पाएका थिए ।

०७९ मा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट उमेदवार बनेका शाही (अहिले निर्वाचित)ले दुई हजार २६८, नेमकिपाका बमबहादुर सिंहले ५८, स्वतन्त्र उमेदवार विष्णुकुमार बुढाले २२ मत ल्याएका थिए । राप्रपाका राजबहादुर सिंहले १५ र अर्का स्वतन्त्र उमेदवार दिनेशबहादुर सिंहले एक मत पाएका थिए ।

०७९ मा एकीकृत समाजवादीबाट उमेदवार बन्दा पराजित भएका शाहीले ०७४ मा एमालेबाटै पालिका अध्यक्ष जितेका थिए ।

उता, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी निर्वाचित भइन् । उनी एक हजार ७४० मत ल्याएर निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी कांग्रेसकी पुल्तीसरा शाहीले एक हजार ४७४ मत पाइन् । एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ माओवादी केन्द्रबाट उमेदवार बनेकी राजुकुमारी विश्वकर्माले एमालेलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएकी थिइन् । तर, केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गर्न निर्देशन दिएको थियो ।

०७९ सालको स्थानीय तह निर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् । उनको निधनपश्चात् उपनिर्वाचन भएको हो ।

०७९ को निर्वाचनमा जोशीले एक हजार ८१० मत प्राप्त गरेकी थिइन् । भण्डारी (अहिले निर्वाचित)ले एक हजार ६३७ मत ल्याएकी थिइन् । उनीहरूबीचको मतान्तर १७३ थियो । यहाँ माओवादीका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उमेदवार वीरसिंगे विकले ४१ मत पाएका थिए ।

माओवादीले पनि खोस्यो 
यो उपनिर्वाचनमा माओवादीले पनि ०७९ मा कांग्रेसले जितेका पद खोसेको छ । माओवादीले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष र जाजकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पद जितेको छ ।

ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमोनारायण माझी निर्वाचित भए । उनले ६ हजार ९६९ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ६ हजार ३३३ मत ल्याए । एमालेका तुलसीराम विश्वासले चार हजार १५९ मत प्राप्त गरे । यहाँ ०७९ मा अध्यक्षमा निर्वाचित कांग्रेसका जयप्रकाश गच्छदारको निधनपश्चात् उपनिर्वाचन भएको हो ।

०७९ को निर्वाचनमा गुरुङले सात हजार ६०५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत ल्याएका थिए । उनीहरूबीचको मतान्तर एक हजार ५१२ थियो ।

त्यति बेला माओवादी केन्द्रका विजयकुमार सरदारले दुई हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, एकीकृत समाजवादीका राकेश चौधरीले १३९ मत पाएका थिए । यस्तै, जनमत पार्टीका उमेदवार पञ्चनारायण चौधरी थारुले ९८, नेमकिपाका मनोजकुमार चौधरीले चार मत ल्याएका थिए ।

यता, जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भइन् । निर्वाचन आयोगका अनुसार, उनले चार हजार २७२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी इन्दा चन्द्र (सिंह)ले तीन हजार १४७ मत ल्याइन् । एमालेकी सुनिता बोहोराले दुई हजार ५४२ मत पाइन् ।

यहाँ कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको निधनपश्चात् रिक्त पदमा उपनिर्वाचन भएको हो । ०८० कात्तिक १७ गतेको भूकम्पमा परी उनको निधन भएको थियो । एमालेकी बोहोरा (अहिले तेस्रो स्थानमा) ०७९ मा पनि उमेदवार बनेकी थिइन् ।

माओवादीले ०७९ मा जितेको रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपलिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको मतगणना जारी छ । पुथाउत्तरगांमा माओवादीका उमेदवारले सुरुआती अग्रता लिएका छन् ।

यस्तै, ०७९ मा कांग्रेसले जितेको कीर्तिपुर नगरपालिकाको मेयर पदको मतगणना पनि जारी छ । यहाँ कांग्रेसकै उमेदवार कृष्णमान डंगोल अगाडि छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro