site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पोखरामा रविलाई पटकपटक किन भइरहेको छ अवरोध ?
स्केच : राष्ट्रिय स्वतन्त्र पार्टीको फेसबुकबाट ।

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने टेलिभिजन कार्यक्रमबाट पाएको लोकप्रियतालाई उपयोग गर्दै राजनीतिमा उत्रिए । चितवनबाट दुई–दुईपटक सांसद बने । अहिले देशकै चौथो ठूलो पार्टीको नेतृत्व गरिरहेका छन् ।

उनी जहाँ जान्छन्, भिड खडा हुन्छ । तर, पोखराको स्थिति फरक छ । लामिछानेलाई पोखरामा कार्यक्रम गर्न प्रहरी नै परिचालन गर्नुपर्ने सम्मको स्थिति आएको छ ।

आफू गृहमन्त्री हुँदा सहकारी ठगीमा संलग्नलाई समात्न नसकेको, आफैँमाथि छानबिन चलिरहेका बेला अनुसन्धानलाई रोकेको आशंकासहित पोखराका सहकारी पीडित उनीदेखि असन्तुष्ट छन् ।

गत वर्ष ७ पुसमा पोखराको अमरसिंह चोकमा भाषण गर्ने क्रममा उनीमाथि खोया प्रहार भएको थियो । त्यसपछि नै उनको नाम सहकारी ठगी प्रकरणमा जोडिएको हो ।

त्यतिबेला खोया प्रहार गर्ने युवा सहकारीसँग नजोडिएको खुले पनि लामिछानेमाथि भने त्यसपछि निरन्तर सहकारी जोडिएका विषय सार्वजनिक भए ।

पोखराकै सूर्यदर्शनदेखि बुटवलको सुप्रिमलगायत विभिन्न सहकारीमा लामिछानेको नाम जोडिन थाल्यो । उनी प्रबन्ध निर्देशक हुँदा गोरखा मिडियामा सूर्यदर्शन सहकारीबाट करोडौँ रकम गएको खुलेको छ ।

पोखरा महानगरपालिकाको प्रतिवेदन अनुसार, लामिछानेको नाममा पनि सहकारीबाट एक करोड रुपैयाँ गएको छ । महानगरको प्रतिवेदनले उनको नाममा रकम गएको देखाएपछि पोखरामा लामिछानेको झन् चर्को आलोचना हुन थालेको हो ।

अठार हजारभन्दा धेरै बचतकर्ताको एक अर्ब ११ करोड रकम सूर्यदर्शन सहकारीले अपचलन गरेको प्रतिवेदनमा उल्लेख छ ।

पीडितहरूले गृहमन्त्री हुँदा लामिछानेलाई भेटेर नै बचत रकम फिर्ता गराइदिन पटकपटक आग्रह गरेका थिए । तर, लामिछानेले कास्कीका एसपीलाई काठमाडौंमा बोलाएर आफ्नो पक्षमा बोल्न लगाएको आरोप उनीमाथि छ ।

जबकि, गत माघ २२ गते पीडितहरूले लामिछानेविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक उजुरी दर्ता गरेका थिए । यस्तो अवस्थामा निष्पक्ष छानबिन गर्नुको सट्टा अनुसन्धान गर्ने निकायलाई नै आफू सहकारीमा संलग्न नरहेको भनेर बोल्न लगाएको पीडितहरूको आरोप छ ।

अहिले लामिछानेमाथि सहकारी प्रकरणलाई लिएर रास्वपाकै सदस्यहरूले समेत प्रश्न उठाउन थालेका छन् । मंगलबार पनि पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न आउँदा सदस्यहरूले नै उनलाई सहकारीको विषय प्रस्ट पार्न माग राखेका थिए ।

लामिछानेलाई उनीहरूको प्रश्न थियो– 'व्यक्तिगत खातामा रकम गएको, गोरखा मिडियामा प्रबन्ध निर्देशक हुँदा सहकारीको करोडौँ रकम गएको विषयको जिम्मेवारी लिनुपर्ने कि नपर्ने ?'

लामिछानेले विगतझैँ आफूले ऋण नलिएको दाबी दोहोर्‍याए । गल्ती गरिसकेको भए अहिलेको सरकारले आफूलाई जेलमा हालिसक्ने भनाइ उनको थियो । तर, अहिलेसम्म प्रमाण नभेटिएको र आफू निर्दोष रहेको उनको जिकिर छ ।

बरु उनले पार्टी सदस्यहरूलाई एकको बदला कांग्रेस–एमालेविरुद्ध पाँच काण्ड लेख्न निर्देशन दिए । “एमालेले भन्यो भने, एमालेको पाँचवटा काण्ड थाहा छैन र ? एकको बदला पाँच हाल्नुहोस् । कांंग्रेसले भन्छ, एकको बदला पाँच हाल्दिनुहोस्, पचास लेख्न मिल्छ, पाँच लेख्नुहोस् । नक्कली भुटानी शरणार्थीदेखि नक्कली डिभोर्ससम्म लेखेर पठाइदिनुहोस् न,” उनले भने ।

लामिछानेले त्यतिबेला आफू प्रबन्ध निर्देशक रहेको भए पनि जीबी राई नै कार्यकारी अध्यक्ष रहेको सदस्यहरूलाई बताए ।

लामिछानेमाथि गत वर्ष ७ पुसमा खोया प्रहार हुँदा नै पीडितहरूले आन्दोलनको तयारी गरेका थिए । कार्यक्रमको अघिल्लो दिन ६ पुसमै पोखरा आएका लामिछानेले आफूविरुद्ध आन्दोलन हुने सूचना पाएका थिए । त्यसपछि उनले सहकारीपीडितलाई पार्टीका प्रदेश समिति कार्यालयमा डाके । राति २ घण्टासम्म उनले पीडितका प्रश्न सुने, ज्ञापनपत्र बुझे ।

उनले समस्या समाधान गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए । यस भेटको दुई महिनापछि फागुनमा लामिछाने गृहमन्त्री बने । तर, जीबी राईलाई नेपाल झिकाउने काममा असफल भए । त्यसपछि सहकारीपीडित लामिछानेप्रति झनै आक्रामक बनेका हुन् ।

कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सरकारको स्रोत साधन हुँदा पनि बोलेजस्तो गरेर काम गर्न नसक्नुले कालो झन्डा, नाराबाजीको अवस्था सिर्जना भएको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro