चैत १५ गतेको ‘तीनकुने ताण्डव’ अत्यन्त दुःखद, निन्दनीय र आपत्तिजनक घटना हो । त्यस दिन जे भयो त्यलाई सही भन्न सम्भवतः कोही पनि तयार नहोलान् । ताण्डवका नाइके बनाइएका दुर्गा प्रसाईले समेत प्रहरीसँग माफी मागेका छन् । लुकेर बसेको ठाउँबाट भिडियो सन्देश दिँदा उनको भङ्गिमामा पहिलेको उदण्डताका ठाउँमा निरीहता देखिन्छ ।
तिनकुने ताण्डवमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई अदालतमा पेस गरिँदैछ भन्ने समाचार सार्वजनिक भएको छ । कस्तो मुद्दा लाग्ला र पुर्पक्षका लागि उनीहरूलाई कसरी राखिएला अदालतले निर्णय गर्ने विषय हो ।
राप्रपाको माग
‘राजतन्त्र’ फर्काउने बाटो संविधानमै छ । अहिले संसारभर चरम दक्षिणपन्थीहरूको लहर आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसद्मा पनि राम्रै उपस्थिति छ । यस्तै रहे २०८४ को चुनावमा राप्रपा बलियो शक्ति बन्न सक्थ्यो । देशलाई २०४७ त के २०१८ मै फर्काउन पनि सकिन्छ त जनताको समर्थन भए । लोकतन्त्रमा विश्वास भए प्रक्रिया त स्वीकार गर्नै पर्छ नि ! संसद्मा धेरै स्थान जित ।
तीनकुने ताण्डवमा आफ्नो सहमति र साथ नभएको भाव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रकट गरिसकेका छन् । उनका उपाध्यक्ष र महामन्त्रीले भिडलाई उक्साउँदै गरेको भिडियोहरू सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भए पनि लिङ्देनलाई शङ्काको सुविधा नदिनु अन्याय हुन्छ । पार्टीका पदाधिकारी र ज्ञानेन्द्र शाहका विश्वासप्राप्तहरू पक्राउ परेपछि लिङ्देनले पनि विरोध गरेको त देखाउनै पर्यो नि !
राप्रपाले तीनकुने ताण्डवको न्यायिक छानबिनको माग गरेको छ । सरकारले यो माग स्वीकारे हुन्छ । न्यायिक छानबिनमा सरकारी अधिकारीसँगै दुर्गा प्रसाई र ज्ञानेन्द्र शाहको पनि बयान त लिनुपर्ला । आयोगमा बयान दिन अभियुक्त भए भने पूर्व ज्ञानेन्द्र शाहलाई राज्यले दिएको सुरक्षा र सुविधा हटाउनु पर्यो नि ! एकातिर पूर्वराष्ट्राध्यक्षको सम्मान दिने र अर्कातिर अभियुक्तका रूपमा बयान लिने गर्न त सुहाउँदैन । यसमा राप्रपालाई नै रोज्न दिनु बेस हुन्छ ।
दुर्गा प्रसाईको सुरक्षा !
दुर्गा प्रसाई पनि ‘डरलाग्दो खुलासा’ गरेका छन् - प्रधानमन्त्रीले देख्नेबित्तिकै गोली हान्न भनेका छन् भनेर । एकछिनलाई पत्याइदिऊँ । त्यसो हो भने त झन् उनले तत्काल आत्मसमर्पण गर्नु बेस हुन्छ । हिरासतमा उनलाई पक्कै कसैले गोली हान्नेछैन । बरु लुकीलुकी हिँड्दा पो डर हुन्छ त ! प्रहरीमाथि मोटर जोताउन खोजेको देखेर धेरै जना रिसाएका होलान् । ‘कमान्डर’ नै यसरी लुक्ने भाग्ने गरेपछि ‘राजा’कसरी फर्काउने ? बैंकको ऋण कसरी पचाउने?
अब कता लाग्ने ?
अहिले फर्काउन खोजिएको त ‘सक्रिय राजतन्त्र’ नै हो । नत्र, नवराज सुवेदीलाई सारथी पक्कै बनाउने थिएनन् अपदस्थ गरिएका तत्कालीन राजा ज्ञानेन्द्र शाहले । लोकतन्त्रको स्वाद चाखेको पुस्तालाई अलमल्याउन र पुराना कांग्रेसहरूलाई लोभ्याउन अहिले ‘राजसंस्था’ भन्ने गरेका न हुन् ।
लोकतान्त्रिक गणतन्त्रको नभएर सरकारको र सरकारको भन्दा पनि प्रमुख भनिएका राजनीतिक दलका शीर्ष नेताको रवैया देखेर दिक्क भएका जनताको भावनात्मक दोहन गर्ने मौका छोप्दै ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति चिन्ता प्रकट गरे । अनि आफूलाई साथ दिन नेपाली जनतालाई आह्वान गरे । यतिसम्मलाई धेरैले ठीकै ठानेका थिए ।
समाजमा देखिएको मौनलाई समर्थन ठानेछन् क्यारे ज्ञानेन्द्र गणले । उनलाई पोखराबाट फर्कँदा भव्य स्वागत गरे । लाग्यो होला, यति ठूलो भिडले साथ दियो भने त म सिंहासनमा सजिलै फर्किन्छु । अनि उनले गद्दीमै फर्केसरह ‘शाही निसान’ समेत प्रयोग गर्न थाले । ‘पञ्चतन्त्रको कथाको ‘गङ्गादत्त भ्यागुतो’ स्वभावका दन्तबझानमा व्यस्त दलका नेतालाई अत्तो न पत्तो !
अनि ज्ञानेन्द्र शाहले आफूलाई ‘देखिने सुनिने’ राजा नै ठाने क्यारे राजा फर्काउने आन्दोलनमा वयोवृद्ध पञ्च नवराज सुवेदीलाई मुख्तियारको पञ्जापत्र दिए । बैंकहरूको ऋण नतिर्न उपद्रो मच्चाइरहेका दुर्गा प्रसाईलाई ‘कमान्डर’ बनाए । यसैबाट देखियो ज्ञानेन्द्र शाहले समय बितेको थाहै पाएका रहेनछन् । उनको नियत र सोच २०५८ मा जस्तो थियो अहिले पनि उस्तै रहेकोसमेत यसैले देखायो ।
ज्ञानेन्द्रको रहस्यमय मौन
तीनकुने ताण्डवमा आःफ्नो नाम जोडिएपछि पनि ज्ञानेन्द्र शाह अहिलेसम्म ‘देखिन सुनिन’ खोजेका छैनन् । दुःखद घटनाका सम्बन्धमा पनि प्रतिक्रियासम्म नदिएर उनले नेताको कर्म र राजाको धर्म दुवै पालना गरेनन् । नैतिकताका आधारमा त उनले घटनाको जिम्मेवारी लिनुपर्ने हो । उनी यसरी सरक्क पन्छिन खोजेपछि त दुर्गा प्रसाईहरू त फस्ने भए नि !
पूर्व राष्ट्राध्यक्षको थान्कामा बसे दुर्गा प्रसाई उफार्न भएन । दुर्गा रथमा सवार भए सम्मान खोज्न भएन । भनिन्छ नि ‘धर्मो रक्षति रक्षितः’ । मर्यादामा बसे न मर्यादा पाइन्छ ।
हुनत, तीनकुनेमा ताण्डव मच्चियोस् भन्ने ज्ञानेन्द्रको चाहना नहुनसक्छ । अनि उनको संलग्नता पनि परिबन्दले मात्र देखाएको हुनसक्छ । तर त्यो त कम्तीमा उनैले पहिले भन्नुपर्यो नि । प्रमाणित नहुँदासम्म कसुरदार भन्न नमिलेजस्तै अरूले अनुमान गरेर कसैलाई बेकसुर भन्न पनि त मिल्दैन ।
ज्ञानेन्द्रले बल नपुगेरै भए पनि विनारक्तपात गद्दी छाडेका हुन् । सङ्क्रमणको समयमा शान्त बसेर उनले राज्यलाई सहयोग गरेका थिए । अब सत्तामा फर्कन पनि उनी ‘रक्तपात’का लागि पक्कै तयार नहोलान् । यसैले सरकारले प्रतिशोधको भावना राख्नु हुन्न । हो! अपराधमा कसैलाई उन्मुक्ति पनि दिनु हुँदैन ।
रोजाइ ज्ञानेन्द्र शाहकै हो । पूर्वराष्ट्राध्यक्षका हैसियतमा मर्यादित भएर बस्ने कि नागरिकका हैसियतमा सबै स्वतन्त्रता उपभोग गर्ने कि ? ‘कि चपरीमुनिको वास कि हस्तिनापुरको रजाइँ’ भन्ने उखान चरितार्थ गर्दै दुर्गा प्रसाईलाई सारथी बनाउने ? सेनाले साथ नदिए सत्तामा फर्कन सम्भव रहेनछ भन्ने त देखिइहाल्यो र नेपाली सेना अब ‘राजतन्त्र’ ल्याउन जनतामाथि जाइलाग्ला भनेर सोच्न पनि सकिँदैन ।
हेरौँ, गणतन्त्रवादीहरू कति नागरिक र लोकतान्त्रिक भएका छन् !