
काठमाडौं । भोजपुरका २७ वर्षीय शम्भु परियारको भदौ १९ (१ अप्रिल)मा कतारको फ्लाइट थियो । म्यानपावरमा केही कारोबार बाँकी थियो, आफन्त दाइलाई भेटेर सँगै जाने सल्लाहमा शुक्रबार दिउँसो सिनामंगलतर्फ जाँदै थिए ।
उनले सुनेका थिए चैत १५ गते काठमाडौंमा कुनै आन्दोलन हुँदैछ, तर कहाँ हुन्छ, कसले गर्दै छ केही जानकारी थिएन, शम्भु भन्छन् “उड्नुअघि धेरै काम बाँकी थियो, आन्दोलनबारे चासो पनि थिएन ।”
शुक्रबार दिउँसो करिब २ः३० बजेको हुँदो हो, तीनकुने चौरछेउ पुग्दा शम्भुको आँखा तिरमिर भएर ढलौँलाजस्तो भयो, प्रहरीले निरन्तर अश्रुग्यास फ्याँकिरहेको थियो ।
साउदीमा ग्यास कम्पनीमा काम गर्दाको अनुभव सम्झिँदै उनी ग्यासको असर कम भएको दिशातिर दौडिए, एयरपोर्टतिर बाटो काट्न लाग्दा पछाडिबाट केही झट्का लागेजस्तो भयो उनलाई ।
दायाँ कुममा हात पुर्याउन नपाउँदै बीच सडकमा ढले शम्भु । होसमा आउँदा उनलाई कसैले मोटरसाइकलमा राख्दै थियो, त्यति दुखेको थिएन, तर भल्भल्ती रगत आएको थियो, घाउमा छाम्दा औँला भित्रैसम्म पुग्ने प्वाल भेटियो ।
राष्ट्रिय ट्रमा सेन्टर पुर्याएपछि थाहा भयो पछाडिबाट हानिएको गोलीले कुमको भाग वारपार गर्दै अगाडिपट्टि ठूलै घाउ बनाएको रहेछ । अपरेसनपछि पाँच टाका लगाइयो, अर्थो वार्डको बेड नम्बर ४०६ बाट घाइते शम्भु भन्छन् “१२ वर्षदेखि विदेश जाँदै आउँदै छु, अहिले पनि हातमुख जोड्नकै लागि जान लागेको थिएँ, यो देशमा गोली खाने, मारमा पर्ने हामीजस्तै गरिब र सोझा जनता त रहेछौँ...।”
बुबा बितेपछि घरको अभिभावक बनेका शम्भुलाई दुई महिनाअघि आमाको उपचार र विदेश जाने सिलसिलामा लागेको पाँच लाख रुपैयाँ ऋणको चिन्ता छ । “हुन त हालसम्म सरकारको तर्फबाट भनेर कोही भेट्न आउनुभएको छैन, तर उपचार चाहिँ निःशुल्क भनेको छ, धन्न बाँचियो अब हात निको भए गरी खान सकिएला नि ...,” उनी भन्छन् । घाउ निको नभएसम्म कतै नचल्न डाक्टरको सल्लाह छ शम्भुलाई ।
तीनकुनेमै गोली प्रहार गरिएका अर्का घाइले डिल्लीप्रसाद लुइँटेल पनि ट्रमा सेन्टरको आईसीयूमा छन् । दायाँ पेटबाट गोली लागि आन्द्रामा प्वाल पार्दै बायाँ पार भएको जटिल घाउ छ उनको पेटमा ।
२७ वर्षका डिल्ली मान्छे चिन्न र बोल्न सक्छन् तर खाना मुखबाट खुवाउने अवस्था छैन । दिसाबाहिर निकाल्न कोलोस्टोमी ब्याग’ लगाइएको छ । डिल्लीको कम्मरको हड्डी पनि भाँचिएको छ ।
“दाइ कुनै संगठन, राजनितिक पार्टीमा जोडिएको हुनुहुन्न, उहाँ आन्दोलन प्रदर्शन त्यस्तोमा जाने खालको मान्छे पनि होइन,” डिल्लीका भाइ केदार लुइँटेल भन्छन् ।
डिल्लीले त्यो दिन आफू प्रदर्शनमा नगएको तर काउन्टर जाने क्रममा बाटोमा भीडभाड देखेर हेर्ने क्रममा उभिएका बेला गोली लागेको बताएका छन् । डिल्लीले गोली लागेर ढलेपछि पनि मोबाइलको लक खोलेर आफ्ना परिवार र साथीभाइलाई खबर गरिदिन अनुरोध गरिरहेको भिडियोमा देखिन्छ ।
आफू प्रदर्शनकारी नभएको र घरमा चिन्ता हुने भन्दै फोटो भिडियो नखिच्न याचना गरिरहेको पनि सार्वजनिक भएको भिडियोमा देखिएको छ ।
अस्पतालका सूचना अधिकारी खुमबहादुर घर्तीका अनुसार सोमबार दिउँसोसम्म अवस्था स्थिर छ । आईसीयूमा उनलाई विशेष निगरानीमा राखिएको छ ।
आईसीयू बाहिर कुरुवा बसेका भाइ केदारलाई भने दाजुको उपचारको चिन्ता त छँदैछ, राज्य बेखबर बनेको देख्दा त्यतिकै गुनासो पनि छ । “चार दिन भयो अस्पताल राखेको, अस्पतालले त राम्रो उपचार गरिरहेको छ, तर सरकारका तर्फबाट कोही सोधीखोजी गर्नसम्म आएका छैनन्,” उनी गुनासो गर्छन् ।
न आफूले भोट हालेका जनप्रतिनिधि न राज्यको कुनै निकायबाट अभिभावक, कोही पनि ढाडस दिन नआएकोमा केदार अचम्मित छन् । “निःशुल्क उपचार गर्नु मात्रै जिम्मेवारी होइन नि राज्यको, भोलि घाइते निको भएपछिको अवस्था के हुने, कसरी जिविकोपार्जन गर्ने, सरकारले हामीसँग आएर बोल्न कसैलाई पठाउनु सक्दैनन् ?” उनको प्रश्न छ ।
निर्दोष नागरिकमाथि गोली प्रहार गरेर राज्य बेखबरझैँ बनेकोमा केदारको चिन्ता छ ।
चैत १५ गते तीनकुने र कोटेश्वर क्षेत्रमा भएको राजावादी समूहको प्रदर्शनमा दुईजनाले ज्यान गुमाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घटनामा घाइते भएका १२८ जना विभिन्न अस्पताल भर्ना भएका थिए । तीमध्ये १३ जनाको इमर्जेन्सी अपरेसन गरिएको थियो, बाँकी सबै डिस्चार्ज भइसकेका छन् । सबै घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय छ ।