
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) उडान फेरि शून्य भएको छ । उडान गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीले उडान अनुमति नलिएसँगै अन्तर्राष्ट्रियतर्फको शून्य भएको हो ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमबाहेक अन्य अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमान कम्पनी भैरहवाबाट बाहिरिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लयमा फर्किन लागेपछि भैरहवा शून्य भएको हो । चैत १९ देखि त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालन हुने नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।
त्रिभुवन विमानस्थल स्तरोन्नतिका लागि कात्तिक २३ देखि रातमा बन्द हुने गरेको थियो । सुरूमा १० घण्टा बन्द गरिएकामा आलोचना भएपछि ८ घण्टामा झारिएको थियो ।
मुख्यविमानस्थल १० घण्टा बन्द गरी स्तरोन्नतिका काम सुरू गरिएको थियो । विकल्पका रूपमा भैरहवा विमानस्थल उडान गर्न छुटसहित सञ्चालन गर्ने कार्ययोजना समेत थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतबुद्ध र पोखरा विमानस्थल सञ्चालन गर्न साउन २८ गते मन्त्रिपरिद्बाट कार्ययोजना पास गराएको थियो ।
२७ बुँदे कार्ययोजनामा हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुट लगायतका कार्ययोजना ल्याएपछि अन्तराष्ट्रिय हवाइ सेवा कम्पनीहरूले भैहवातर्फ सोझिएका थिए ।
तर, श्रम, म्यानपावर, तथा पयर्टन व्यवसायीको कार्यालय, भिसा सेन्टर स्थापना नहुँदा यात्रुहरू काठमाडौं नै धाउनुपर्ने बाध्यता रह्यो । त्यहीकारण विमानस्थल दीर्घकालीन सञ्चालनमा समस्या आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले जानकारी दिए ।
“क्यान (नेपाल नागरिक उड्ड्यन प्राधिकरण)ले गर्नुपर्ने काम सबै गर्यो, अन्य मन्त्रालयले त्यति चासो देखाएनन्,” उनले भने, “श्रम गर्न काठमाडौं, म्यानपावर खोज्न काठमाडौं, भिसा लिन काठमाडौं जानुपर्ने कार्यले अकुपेन्सी घट्यो ।”
साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो ।
यात्रु नै नपाएपछि कतार एयरले १५ दिन उडानपछि नवीकरण गरेन । १५ दिनमा कतारले जम्मा ९३ यात्रु बोकेको थियो । मार्च २८ देखि सुरू भएको ‘समर सेड्युल’ मा नेपाली वायुसेवा निगम मात्रै उडान गर्ने सेड्युल प्राप्त भएको प्रवक्ता साहले जानकारी दिए ।
“समरका लागि जजिरा, फ्लाई दुवई, थाई एयर एसिया कुनैले पनि सेड्युल पठाएका छैनन्,” उनले भने, “जजिराको अकुपरेन्सी राम्रो छ, तर पनि उसले सेड्युल पठाएको छैन ।”
सरकारले श्रम स्वीकृति, मेडिकल, विद्यार्थीको नो अब्जेक्सन सर्टिफिकेट लेटरलगायतका कामका लागि काठमाडांै आउनुपर्ने बाध्यताका कारण यात्रुहरू यतैबाट उड्ने हुँदा पनि भैरहवाबाट उड्ने विमानले यात्रु नपाएको साह बताउँछन् ।
“ट्राभल एजेन्सी, म्यानपावर, एजुकेशन कन्सलटेन्सी भैरहवा आए विमानस्थल सञ्चालन हुन समस्या पर्देन,” उनले भने ।
काठमाडौंको विमानस्थलबाट ३० प्रतिशत उडान कटौती भएपछि त्यसले प्रमुख गन्तव्य भैरहवा हुनेगरी सरकारले छुटसहितका कार्ययोजना ल्याएको थियो । उड्ड्यन मन्त्रालयले ल्याएको कार्ययोजना मन्त्रिपरिषद्ले स्वीकृत गर्यो ।
तर, कार्ययोजनामा अन्य मन्त्रालयले असहयोग गरेपछि भैरहवातर्फ अन्तर्राष्ट्रिय उडान करिब शून्य भएको छ । “क्यानको तर्फबाट उडानमा कुनै समस्या छैन । कुनै पनि विमान उडान र अवतरण गर्नुमा केही समस्या छैन,” उनले भने, “अन्य मन्त्रालय र निकायले विमानस्थल सञ्चालन गर्ने योजना गम्भीर रुपमा लिएनन् ।”
नेपालबाट वैदेशिक रोजगारीमा दैनिक तीन हजारको हाराहारीमा विदेसिन्छन् । विदेसिने यात्रुहरूको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ ।
“ठूलो लगानीमा विमानस्थल त बन्यो, सरकारको पुँजीगत खर्च पनि देखियो, तर, अब कसरी दीर्घकालीन अपरेसन गर्ने भन्ने नै भएन,” उनी भन्छन् ।
समरका लागि कुनै पनि विमान कम्पनीले भैरहवाको अनुमति नलिएको क्यान प्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन् । “समरका लागि कुनै पनि अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान अनुमति लिएका छैनन्,’’ उनले भने, “हामीले धेरै प्रयास गर्यौँ तर, कोही पनि त्यहाँ नियमित जान चाहेनन् ।”
उनका अनुसार, १९ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ नियमित सञ्चालनमा आउने भएपछि सबै यतै आउन चाहेका छन् । भैरहवा नै जानुपर्छ भनी फोर्स गर्न सकिन्न । महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार, गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड र पोखरा विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड खर्च भएको उल्लेख छ ।
भैरहवा गौतम बुद्ध विमानस्थल निर्माण गर्न ३० अर्ब ९१ करोड र पोखरा विमानस्थलका लागि २२ अर्ब रूपैयाँ सुरूवाती लागत थियो । पछि समय र लागत बढेर ६१ अर्ब खर्च थियो । गौतमबुद्ध विमानस्थल निर्माण गर्न सरकारले एसियाली विकास बैंक (एडीबी) र ओपेक कोषबाट सहुलियतपूर्ण ऋण र अनुदान गरी ४ अर्ब ९१ करोड लिएको थियो ।
दुवै विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकसित भएपनि डोमेस्टिक उडानका मात्रै हुँदा सञ्चालन खर्च र ऋण तिर्न समेत सरकारकै ढुकुटी प्रयोग भइरहेको छ ।