site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश निषेधको राजनीतिबाट अगाडि बढ्न सक्दैन : पूर्वप्रधानमन्त्री चन्द
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देश अब निषेधको राजनीतिबाट अगाडि बढ्न नसक्ने बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै चन्दले राष्ट्रिय सहमति, सहकार्य र सबै पक्षबीच राष्ट्रिय एकता नै अबको निकासको अपरिहार्य मार्ग रहेको उल्लेख गरे ।

"दश वर्षको माओवादी द्वन्द र ०६२/०६३ को आन्दोलनपछि मुलुक राजनीतिक अस्थिरता, भ्रष्टाचार, कानुनविहीन र उत्तरदायित्व विहीनताको भूमरीमा फसेको छ । सरकार, संसद्, न्यायपालिका र राज्यका अन्य अंगहरूमाथि जनविश्वास गुम्न गइ आम जनतामा घोर निराशा तथा आक्रोश पैदा भएको छ," उनले विज्ञप्तिमा भनेका छन् ।

Argakhachi Cement Island Ad

यसैले अबको निकास भनेको बिनाकुनै बिलम्ब नगरी सबैले आ–आफ्‌ना आग्रह पूर्वाग्रह र अहम् त्यागी राजसंस्था, राजनीतिक दलहरू र सम्पूर्ण जनता एकै ठाउँमा अटाउने मिलनविन्दु पहिल्याउनु रहेको बताए ।

उनले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा यही चैत १५ मा काठमाडौंमा भएको शान्तिपूर्ण विरोधसभाको क्रममा भएको दुखद् घटनाले आफू मर्माहित भएको उल्लेख गरेका छन् ।

साथै, नजरबन्दमा राखिएका राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक नवराज सुवेदी तथा हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत पक्राउ परेकाहरूलाई  यथाशीघ्र बिनासर्त रिहाइको माग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्