
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको ‘विशेष बैठक’ आज (चैत १८) बस्दै छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो ३ बजे सुरु हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, केन्द्रीय समिति बैठक दुई चरणमा बस्नेछ । “पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बस्नेछ । सोही बैठकले सभापतिमा रवि लामिछानेलाई जिम्मेवारी तोक्ने निर्णय गर्नेछ,” झाले भने, “दोस्रो चरणमा लामिछानेकै सभापतित्वमा बैठक बस्नेछ ।”
बैठकनिम्ति विभिन्न एजेन्डा तय गरिएको छ । पहिलो बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालबाट धन्यवाद ज्ञापन गरिनेछ । त्यसपछि सभापति रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक बस्नेछ ।
नेतृत्व छाडेको १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्कन लागेका हुन् । लामिछाने गएको कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा छ ।
०८१ पुस ८ गते लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिएका थिए । नेता–कार्यकर्ता र मतदाताको मागानुसार लामिछानेलाई जिम्मेवारीमा फर्काउन लागिएको कार्यवाहक प्रवक्ता झाको भनाइ छ ।
सहकारी ठगीमा चार अदालतमा धरौटी तारिख पाएका लामिछानेले तीनवटामा पुनरावेदन दर्ता गराइसकेका छन् ।
रास्वपाले यसअघि वीरगन्जको सानो पाइला सहकारीमा अभियोजन र सुनुवाइपछि मात्र लामिछानेलाई पार्टी भूमिकामा फर्काउने जनाएको थियो । तर, यतिखेर रास्वपाले ‘विशेष परिस्थिति’ बताएर लामिछानेलाई नेतृत्वमा फर्काउन लागेको हो ।
“देशमा फरक परिस्थिति निर्माण भएको छ । पुरानाहरूले फेरि इतिहासलाई पछाडि फर्काउने घोषणा र प्रयत्न गरिरहेका छन्,” झाले बाह्रखरीसँग भने, “यस्तो अवस्थामा जनताको नयाँ आशा बोकेको पार्टीको विशेष भूमिका आवश्यक हुने भएकाले पनि यस्तो निर्णयमा जान लागेका हौँ ।” उनले अदालतका विषय चल्दै जाने र त्यसको सम्मान गर्दै रास्वपा अघि बढ्ने बताए ।
आज बस्ने रास्वपा दोस्रो बैठकका यी हुन् छलफलका विषय–
१. पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ
२. लिडरसिप एकेडेमीको फ्लो चार्ट सम्बन्धमा
३. जनयात्रा कार्यक्रमबारे
४. पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस
५. अधिवेशन/महाधिवेशन कार्यतालिका
६. विविध
(क) मुस्लिम समुदायको महान् चाड इदको शुभकामना आदानप्रदान ।