site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ वर्षमा कैदी/बन्दीको संख्या ५५ प्रतिशतले बढ्यो
फाइल तस्बिर

काठमाडौं । समाजमा अपराध बढेकै कारण कैदी/बन्दीको संख्या ह्वात्तै बढेको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार, २०८१ फागुन मसान्तसम्म नेपालका कारगारमा कैदी/बन्दी संख्या २९ हजार ८५ छ ।

आठ वर्षको अन्तरालमा कैदी/बन्दीको संख्या ५५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसमा बालसुधार गृहमा राखिएका बालबालिकाको संख्या समावेश गरिएको छैन । कैदी/बन्दीमा पुरुषको संख्या २७ हजार ४७२ छ भने महिलाको संख्या १ हजार ६१३ छ । ६५ वर्षभन्दामाथिका उमेरका कैदीबन्दी ६४१ जना विभागको तथ्याङ्कले देखाउँछ । 

आठ वर्षअघि अर्थात् २०७३ फागुन मसान्तमा नेपालमा कुल कैदी/बन्दीको संख्या १८ हजार ७५५ थियो । उक्त समयमा पुरुष कैदी/बन्दीको संख्या १७ हजार ४८७ थियो भने महिलाको संख्या १ हजार २६८ थियो ।

२०७३ फागुन मसान्तको तुलनामा २०८१ फागुन मसान्तमा नेपालका कारागारमा कैदी/बन्दीको संख्या ५५.०७ प्रतिशतले वृद्धि भएको छ । आठ वर्ष अघिभन्दा अहिले नेपालका कारागारमा १० हजार ३३० बढी कैदी/बन्दी छन् । 

विभागका अनुसार, हाल नेपालका कारागारमा १७ हजार ९४० जना कैदी छन् । कुल कैदीमध्ये १७ हजार २२ जना पुरुष र ९१८ जना महिला छन् । यस्तै, २०८१ फागुन मसान्तसम्म नेपालका कारागारमा ११ हजार १४५ जना थुनुवा छन् । तीमध्ये पुरुषको संख्या १० हजार ४५० र महिलाको संख्या ६९५ छ । 

हाल नेपालका कारागारमध्ये सबैभन्दा बढी कैदी/बन्दी जगन्नाथदेवलमा ३ हजार ७६६, झुम्का सुनसरीमा १ हजार ७५९, झापामा १ हजार ६१८, नख्खुमा १ हजार ३५५, पर्सामा १ हजार ३२७ र मोरङमा १ हजार ५३ जना छन् । नेपालका ७७ जिल्लामध्ये मुगुमा कारागार छैन ।

विदेशी कैदी/बन्दी पनि बढे

पछिल्लो आठ वर्षमा नेपालका कारागारमा विदेशी कैदी/बन्दीको संख्या ४१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विभागको तथ्याङ्क अनुसार, २०८१ फागुन मसान्तसम्म नेपालका कारागारमा १ हजार ४९५ जना विदेशी कैदीबन्दी छन् । तीमध्ये अधिकांश भारतीय छन् । 

आठ वर्षअघि अर्थात् २०७३ फागुन मसान्तमा नेपालमा कुल १ हजार ५९ जना कैदी/बन्दी थिए । २०७३ फागुनको तुलनामा २०८१ फागुनमा विदेशी कैदी/बन्दीको संख्या ४१.१७ प्रतिशतले बढेको छ । 

२०७३ सालको तुलनामा नेपालका कारागारमा ४३६ बढी विदेशी कैदी/बन्दी छन् । नेपालका कारागरामा भारत, भुटान, बोलिभिया, म्यानमार, चीन, जाम्बिया, बेलारुस, पाकिस्तान र क्यानडाका नागरिक छन् । 

बालसुधार गृहमा झन् बढे

बितेको आठ वर्षमा नेपालका बालसुधार गृहमा बालबालिकाको संख्या ४३३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारागार व्यवस्थापन विभागका अनुसार, २०८१ फागुन मसान्तमा नेपालका ९ वटा बालसुधार गृहमा रहेका बालबालिकाको संख्या १ हजार ३६१ छ । 

बालसुधार गृहमा कैदी बालबालिकाको संख्या ७८४ छ । जसमध्ये ७६३ जना बालक र २१ जना बालिका छन् ।

यस्तै, बालसुधार गृहमा कुल ५७७ जना थुनुवा बालबालिका छन् । थुनुवामध्ये ५६२ जना बालक र १५ जना बालिका छन् । २०७३ फागुन मसान्तमा तीन वटा बालसुधार गृहमा कुल २५५ जना बालबालिका थिए । जसमध्ये २५० बालक र ५ बालिका थिए ।

२०७३ सालको तुलनामा २०८१ सालमा बालसुधार गृहमा बालबालिकाको संख्या ४३३.७२ प्रतिशतले वृद्धि भएको छ । २०७३ सालमाभन्दा बालसुधार गृहमा १ हजार १०६ जना बढी बालबालिका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro