गाउँगाउँमा सडक पुग्दैमा गणतन्त्र उपलब्धिमूलक भएको मान्न सकिँदैन । पानी, बिजुली, सडकजस्ता पूर्वाधार निर्माणबाट मात्र जनताको जीवनस्तर उठ्न सक्दैन । भौतिक पूर्वाधार विकासको एउटा अंश हुन सक्छ तर जनताको जीवनस्तर उठाउन शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था राम्रो हुनु जरुरी हुन्छ ।
विडम्बना, आज यिनै कुराको अभावमा नेपाली जनता तड्पिरहेका छन् । राम्रो शिक्षाको खोजीमा प्रकृति लम्सालहरूले मृत्युवरण गर्नु परिरहेको छ । रोजगारका लागि युवा विदेशिनु परेको छ । यो सबै देशमा उद्योगधन्दा, कलकारखाना स्थापित नहुनुको परिणाम हो । उद्योगधन्दा खोल्न त परै जाओस भएका केही उद्योगधन्दा पनि बन्द भएका छन् ।
राज्य सञ्चालकहरूसँग इच्छाशक्ति हुने हो भने हामीसँग थुप्रै संभावना छन् । देशमा ६ हजारभन्दा बढी नदीनाला छन् । ती नदीनालाबाट ८५ हजार मेघावाटभन्दा बढी बिजुली उत्पादन गर्न सकिन्छ । उत्पादित बिजुली विदेश निर्यातमात्र गर्ने हो भने पनि ठूलो रकम आर्जन गर्न सकिन्छ । हामी पशुजन्य, कृषिजन्य, जडीबुटीजन्य, वनजन्य थुप्रै उद्योगधन्दा स्थापना गर्न सक्छौँ ।
नेपालीलाई रोजगारीका लागि विदेशिनुपर्ने अवस्था नै रहने थिएन । तर, बिडम्वना राज्य सञ्चालकहरूले गर्न चाहेनन् । उनीहरू त सुनको कचौरा लिएर भिक्षा माग्ने मानसिकताका भए । र त हामी विदेशीवाट हेपिने अवस्थामा पुग्यौँ ।
अब अमेरिकाले मात्र होइन नेपाली कामदार अरू देशले क्रमशः नेपालीलाई फर्काउन सक्छन् । सुरु भइरहेको छ । सबै आर्थिक मन्दीका कारण विदेशी कामदार थेग्न नसक्ने अवस्थामा पुगिसकेका छन् । विदेशिएका लाखौं नेपाली स्वदेश फर्केकाबेला नेपालको हालत के होला ? त्यसले निम्त्याउने परिणाम कति भयानक होला ?
लाग्छ, यो दिन देख्न अब धेरै कुर्नुपर्ने छैन । त्यतिमात्र होइन यतिबेला देशभित्रै धमिलो पानीमा माछा मार्नेहरूको सगबगाहट सुरु भइरहेको छ । अब पनि शासकहरूको चेत खुल्दैन भने 'विनाशकाले विपरीत बुद्धि' भन्नुबाहेक अरू केही गर्न सकिँदैन ।