site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बोल्दै नबोलेको शब्द हटाउन माग गर्दै नियमापत्ति

पोखरा । कुलमान घिसिङको बर्खास्तगीको विषयले गण्डकी प्रदेशसभामा पनि प्रवेश पायो । मंगलबार माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरूले गण्डकी प्रदेशसभामा कुलमान हटाइनुको बारेमा सरकारको आलोचना गरे । उनीरूले कालो चस्मा लगाएर विरोध पनि जनाए ।

बैठकको शून्य समयमा बोल्दै प्रदेश सांसद रेशम जुग्जालीले लोडसेडिङ अन्त्यका लागि व्यवस्थापकीय भूमिका निर्वाह गरेर देशलाई लोडसेडिङमुक्त बनाउने कुलमानलाई सरकारले बिचौलियाको इसारामा हटाएको आरोप लगाए । “पहिलेदेखि नै सरकार बिचौलियाको इसारामा सरकार चलेको आरोप लाग्दै आएको छ । कुलमान हटाउने निर्णयले त्यही प्रमाणित गरेको छ,” उनले आरोप लगाए ।

माओवादीकै अर्का सांसदले त विधेयकमाथिको छलफलभन्दा बाहिर गएर कुलमानको प्रशंसा र सरकारको आलोचना गरे ।प्रदेशसभामा गण्डकी प्रदेशमा विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिएका माओवादीका हरि भण्डारीले घिसिङको बारेमा सरकारमाथि प्रश्न उठाए । 

Argakhachi Cement Island Ad

“टुकी बालेर बसेका नेपालीलाई बिजुलीको पहुँच दिने, मैनबत्ती बालेर उज्यालो भविष्य खोजिरहेकाहरूलाई विद्युत् जोडिदिएर सहज बनाइदिने, घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याइदिने कुलमान घिसिङ के अपराधी थिए ?” उनले प्रश्न गरे । 

कार्यकाल सकिन केही समय मात्र बाँकी छँदा सरकारले हटाउने निर्णय गर्दा आमजनताले नै प्रश्न उठाएको उनले बताए । गण्डकीको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्र उज्यालो प्रदेश घोषणाको निर्णय गरेको थियो । अहिले गण्डकीमा ९९ प्रतिशत घरमा बिजुली पुगेको तथ्यांक मन्त्रालयसँग छ । कुलमान घिसिङजस्तो नेतृत्व विद्युत् प्राधिकरणमा भएकाले जनताका घरमा बत्ती बलेको उनले बताए । 

सभामुख कृष्णप्रसाद धितालले उनलाई विषयमा केन्द्रित हुन निर्देशन दिएका थिए । उनले बोलिसकेको करिब एक घण्टापछि नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले नियमापत्ति गरे । उनले जुन विषयमा छलफल चलेको छ त्योभन्दा बाहिर गएर बोल्न नमिल्ने बताए । 

नेपालीले भण्डारीलाई आपत्तिजनक शब्द बोलेको भन्दै त्यसलाई हटाउन माग गरे । “वास्तवमा ‘प्रधानमन्त्रीको सालो’ भन्ने शब्द घोर आपत्तिजनक शब्द हो । म चुनौती दिन चाहन्छु, निर्वाचनमा, उपनिर्वाचनमा प्रचण्ड कमरेडको सामु कुलमान घिसिङको पोस्टर टाँस्दै हिँड्नुभयो । उहाँहरूको सम्बन्ध के हो ? उहाँ माओवादी केन्द्रको नेता हो ?” उनले प्रश्न गरे । “सालो भन्ने शब्द पुष्टि गर्न चुनौती दिँदै म यो सम्मानित शब्दमा त्यो आपत्तिजनक शब्द हटाइयोस् भन्न चाहन्छु ।”

तर, नेपालीले नियमापत्ति गरेको १० मिनेटपछि फेरि हरि भण्डारीले स्पष्टीकरण माग गरे । “नियमावलीको ३० मा स्पष्टीकरण माग गर्न दिन सकिने भनेको छ । जुन शब्द बोल्नेक्रममा सालो भन्ने शब्द बोलिएकै छैन, त्यसप्रति कसरी यो प्रश्न उठ्यो ध्यानाकर्षण गराउन चाहन्छु ।”

सभामुख धितालले पछि रेकर्ड हेर्ने र कार्यव्यवस्थामा छलफल गर्ने बताए । प्रदेशसभा सचिवालयका अनुसार पछि रेकर्ड हेर्ने क्रममा भण्डारीले उक्त शब्द प्रयोग भएको नदेखिएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्