
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमण आज (मंगलबार) बाट सुरु हुँदै छ । नेपाल–थाइल्यान्ड दौत्य सम्बन्ध गाँसिएको ६५ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीले थाइल्यान्डको औपचारिक भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।
सन् १९५९ नोभेम्बर ३० मा नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध गाँसिएको थियो । त्यसयताका ६५ वर्षमा थाइल्यान्डका प्रधानमन्त्रीले एकपटक मात्र नेपाल भ्रमण गरेका छन् । यसबाहेक दुई देशबीच उच्चस्तरीय भ्रमण हुन सकेको थिएन ।
थाइल्यान्डका तत्कालीन प्रधानमन्त्री प्रयुत चान–ओ–चाले सन् २०१८ मा नेपालको भ्रमण गरेका थिए । उनी त्यतिबेला बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथौ शिखर सहभागी हुन काठमाडौं आएका थिए ।
प्रधानमन्त्री ओली पनि बिमस्टेकको छैटौँ शिखर सम्मेलनको अवसर छोपी थाइल्यान्ड जान लागेका हुन् । उनले यस भ्रमणलाई औपचारिक भ्रमणसमेत बनाएका कारण बिमस्टेक शिखर सम्मेलन सुरु हुनुआगावै थाइल्यान्ड जान लागेका हुन् ।
बिमस्टेकको छैटौँ शिखर सम्मेलन थाइल्यान्डमा अप्रिल २ देखि ४ सम्म हुँदैछ । शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सहभागिता अप्रिल ४ मा मात्र हुनेछ । त्यसअघिका दुई दिन बिमस्टेक सचिव तथा विदेशमन्त्रीस्तरीय बैठक हुनेछन् ।
“हामी नेपालीको निकट छिमेकीबाहेकका देशहरूको भ्रमणमा गेटवेएको रूपमा रहेको बैंककमा हालसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैँमा अर्थपूर्ण र महत्वपूर्ण छ भन्ने म ठान्छु,” प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई आफ्नो भ्रमणबारे जानकारी दिँदै भनेका थिए ।
भ्रमणका बेला थाइल्यान्डका समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक हुनेछ । द्विपक्षीय बैठक सकिएपछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्यान्डबीच आठवटा समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
हस्ताक्षरका लागि तयार गरिएका आठवटा एमओयू तथा सम्झौतापत्रमध्ये दुईवटा सरकारी निकायबीच र ६ वटा गैरसरकारी निकायहरूबीच हस्ताक्षर हुनेछ ।
दुई देशका सरकारी निकायबीच यसपटक पर्यटन र संस्कृति सम्बन्धमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
काठमाडौं विश्वविद्यालय र थाइल्यान्डको एक विश्वविद्यालयबीच पनि एक सम्झौता हुँदैछ । नेपाल नेत्रज्योती संघ र थाइल्यान्डको संस्थाबीच पनि एक सम्झौतामा हस्ताक्षर हुनेछ ।
द्विपक्षीय बैठकपछि थाइल्यान्डका समकक्षीसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् ।
प्रधानमन्त्री ओलीले थाइल्यान्डका नरेशसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । द्विपक्षीय औपचारिक भ्रमणका सबै कार्यक्रम अप्रिल २ (बुधबार) सकिनेछ ।
प्रधानमन्त्री ओलीको अप्रिल ३ बिहान थाइल्यान्डका प्रतिष्ठित व्यावासायीहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम छ । त्यही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजना गर्ने एक कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन् । त्यसपछि उनी साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक डिनरमा सहभागी हुनेछन् ।
“समयको चाप छ, अधिकांश सदस्य देशका नेताहरू २१ गते (अप्रिल ३) मात्र बैंकक आइपुग्ने तालिका छ । तर, पनि शिखर सम्मेलनलगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ,” प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा भनेका थिए ।
अप्रिल ४ को बिहान प्रधानमन्त्री ओली मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछन् । त्यही दिन दिउँसो प्रधानमन्त्री ओलीको बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने र सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
६ जुन १९९७ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको बिमस्टेकमा दक्षिण र दक्षिणपूर्व एसियाका बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड गरी सात देश सदस्य छन् । बैठकमा सातै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख सहभागी हुनेछन् ।
बिमस्टेक शिखर सम्मेलन सकिएपछि अप्रिल ४ साँझ प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बैंककमा भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा उनी सहभागी हुनेछन् ।
यसअघि प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच यसैवर्ष अमेरिकाको न्यूयोर्कमा राष्ट्रसंघको महासभाको साइडलाइनमा भेटवार्ता भएको थियो ।
थाइल्यान्ड भ्रमण सकी प्रधानमन्त्री ओली अप्रिल ५ (चैत २३ गते) स्वदेश फर्कनेछन् ।
बिमस्टेकको छैटौं शिखर सम्मेलन यसअघि २०८१ भदौ १९ गते बैंककमा आयोजना गर्न लागिएको थियो ।
आन्तरिक कारण देखाउँदै गत भदौमा थाइल्यान्डले शिखर सम्मेलन स्थगित गरेको थियो । त्यसपछि चैत २० देखि २२ गते (अप्रिल २–४) सम्मका लागि मिति तय गरिएको थियो ।
नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको १० वर्षपछि सन् १९६९ मा एक–अर्काको देशमा दूतावास स्थापना गरेका थिए ।
वर्षेनी ठूलो संख्यामा बौद्ध धर्मवलाम्वीहरू थाइल्यान्डबाट नेपाल घुम्न आउने गर्छन् । सन् २०२३ मा २५ हजार ६७८ जना थाई नागरिक नेपाल घुम्न आएका थिए । नेपाल घुम्न आउने अधिकांश थाई नागरिकको गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनी हुने गरेको छ ।
नेपालको ११औं ठूलो व्यापार घाटा थाइल्यान्डसँग छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल र थाइल्यान्डबीच कुल ८ अर्ब ७५ करोड २४ लाख ७१ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार थियो ।
भन्सार विभागको तथ्यांकअनुसार, उक्त वर्ष नेपालले थाइल्यान्डबाट ८ अर्ब ६५ करोड ७७ लाख २१ हजार रुपैयाँको वस्तु आयात गरेको थियो भने थाइल्यान्डले नेपालबाट मात्र ९ करोड ४७ लाख ५० हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।
गत आर्थिक वर्ष थाइल्यान्डसँग नेपालको व्यापार घाटा ८ अर्ब ५६ करोड २९ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा थाइल्यान्डसँगको नेपालको व्यापार घाटा झन् बढेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) मा नेपाल र थाइल्यान्डबीच ९ अर्ब २६ करोड ४४ लाख ८८ हजार रुपैयाँको व्यापार भएको छ ।
२०८१ साउन १ गतेदेखि फागुन मसान्तसम्म नेपालले थाइल्यान्डबाट ९ अर्ब ३० करोड ४८ लाख ९० हजार रुपैयाँको वस्तु आयात गरेको छ । त्यही समयमा नेपालले थाइल्यान्डमा मात्र ४ करोड ४ लाख २ हजार रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
यसैकारण प्रधानमन्त्री ओलीले थाइल्यान्ड भ्रमणका बेला थाई पर्यटकको संख्या वृद्धि गर्ने र वैदेशिक व्यापार घाटा कम गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ ।