
पोखरा । देशकै सबैभन्दा बढी विद्यार्थी मतदाता रहेको पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ । निर्वाचन कार्यतालिकाअनुसार मंगलबार (चैत ५) बिहान ८ बजेदेखि मतदान सुरु हुनुपर्थ्यो ।
निर्वाचन कमिटीले त्यसको तयारी पनि पूरा गरेको थियो । जसै मतदानका लागि तयार पारिएका मतपत्र उमेदवारले हेरे । त्यहाँ एकजना अखिल छैटौँबाट सभापतिमा उमेदवारी दिएका मिलन सुनारको नाम त थियो, तर उनलाई मत लगाउने (रेजा दिने) कोष्ठक चाहिँ थिएन ।
अखिल छैटौँले त्यसको प्रतिवाद गर्यो । सर्वपक्षीय विद्यार्थीको भेला बोलाइनुपर्ने र नयाँ मतपत्र छाप्नुपर्ने माग राख्यो । सबै विद्यार्थी संगठन त्यसमा सहमत भए ।
निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले पनि गल्ती महसुस गर्दै नयाँ मतपत्र छापिने प्रतिबद्धता जनाए । त्यसपछि नयाँ मतपत्र छपाइको काम थालनी भयो । दिउँसो ३ बजेसम्म पनि मतपत्र आइनसकेपछि निर्वाचन कमिटीले बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुने सूचना निकाल्यो ।
१०औँ हजार विद्यार्थी पढ्ने पीएन क्याम्पसको चुनावी सरगर्मीमा विभिन्न दलका नेताहरू पनि दिनभर क्याम्पस परिसर र विद्यार्थी संगठनका सम्पर्क कार्यालयमा भेटिए ।
क्याम्पस गेटअगाडिको सडकमा दिनभरजसो विद्यार्थी संगठनका नाचगान देखिए । भाषण गरिए । तर, बुधबार गर्ने भनिएको निर्वाचन अब भने अनिश्चित बनेको छ ।
निर्वाचनमा भाग लिएको संयुक्त प्यानलसहित अखिल छैटौँ, नयाँ शक्ति विद्यार्थी युनियनले क्याम्पसको गेटमा तालाबन्दी गरेका छन् ।
एक विद्यार्थीका अनुसार, निर्वाचन कमिटीले मौन अवधिलाई कडिकडाउ गर्न नसकेका कारण गेटमा तालाबन्दी गरिएको हो । “७२ घण्टाको मौन अवधि हुनुपर्ने हो, तर दिउँसो जे जस्ता गतिविधि भए, त्यसले निर्वाचन आचारसंहिता उल्लंघन भएको छ,” उनले भने, “निर्वाचन कमिटीले पुनः ७२ घण्टाको मौन अवधि राखेर आचारसंहिता पालना गराउँछ भने हाम्रो तर्फबाट अवरोध हुँदैन ।”
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूका महासचिव राजन शर्मा पराजुलीले फेसबुकमा लेखेका छन्, “संयुक्त प्यानलसहित अखिल छैटौँ, नयाँ शक्ति विद्यार्थी युनियनको तालाबन्दी । पृथ्वीनारायण क्याम्पसको स्ववियु अनिश्चित । सत्ता गठबन्धनको सेटिङको विरुद्धमा ।”
संयुक्त प्यानलले एक विज्ञप्ति निकालेर क्याम्पस प्रशासनले षड्यन्त्रपूर्ण वातावरण सिर्जना गरेको आरोप लगाएको छ ।
“विद्यार्थी संगठनहरूले छलफलबिना नै एकाएक दिउँसो ३ बजे अप्रत्याशित ढंगले भोलि चैत्र ६ गते बिहान ८ बजेबाट सुचारु गरिनेछ भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण तथा केटाकेटीपना देखेर अचम्मित भएका छौँ,” विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा मौन अवधि उल्लंघन गरेकालाई कारबाही गरी निर्वाचनको नयाँ तालिका सार्वजनिक गर्न माग गरिएको छ भने दोषीमाथि कारबाहीको गर्न भनिएको छ ।
“यस्तो अविश्वास, छलकपटपूर्ण र बारम्बार निर्वांचन आचारसंहिता उल्लंघन भइरहँदा पनि मुकदर्शक बनेर बस्ने घटनाले थप षड्यन्त्रको गन्ध आएको प्रष्ट देखिन्छ । त्यसैले निर्वाचन समितिले शान्तिपूर्ण, भयरहित र प्रभावरहित, निष्पक्ष निर्वाचनको लागि जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो १६ वर्षयता रोकिएको पीएनको स्ववियु निर्वाचन फेरि अनिश्चित बनेको छ । यसअघि २०६५ सालमा नेकपा एमालेनिकट अनेरास्ववियुका रश्मि आचार्य स्ववियु सभापति बनेका थिए । त्यसपछिका हरेक निर्वाचनको मिति घोषणा हुने तर मतदान नहुने अवस्था पीएनमा दोहोरिइरहेको छ ।
यो त्यही स्ववियु निर्वाचन हो, जहाँ निर्वाचित भएका सभापतिहरू सभामुखदेखि मन्त्रीसम्म बनेका छन् ।
स्ववियु स्थापनायता पीएनले २१ जना सभापति पाएको छ । खगराज अधिकारी संघको मन्त्री र गण्डकीका मुख्यमन्त्री बने । स्व. रवीन्द्र अधिकारी पनि स्ववियुबाटै उदाएका हुन् । बहालवाला प्रतिनिधिसभा सदस्य पदम गिरी पनि स्ववियु जितेर कानुनमन्त्री बने । एमालेका राजीव पहारी युवासंघको इञ्चार्ज र गण्डकीको सांसद बने ।
गण्डकीकै सांसद तथा पोखरा उपमहानगरको मेयर बनेका कृष्ण थापादेखि पोखराका मेयर धनराज आचार्यको पृष्ठभूमि पनि स्ववियुबाट नै बनेको हो । तर, २२ औँ सभापति चुन्ने चुनावको निश्चिततामा भने आशंका उत्पन्न भएको छ ।
हालको निर्वाचनमा आठजनाको उमेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लपी न्यौपाने स्वतन्त्र रूपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको विद्यार्थी संगठनका उमेदवार हुन् ।
एमालेनिकट अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट सुशील न्यौपाने, माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।
समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेकाबाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य)का उमेदवार पनि चुनावी मैदानमा छन् । क्याम्पसमा ९ हजार २७० मतदाता छन् ।