site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘इगो’का कारण मुठभेडमा परिणत कोटिहोम विवाद ‘अन्त्य’

पोखरा । स्थानीय सरकारले शक्ति देखाउन खोज्दा गत शुक्रबार लेकसाइडको बाराहीघाट रणभूमि बन्न पुग्यो । पोखरा महानगरपालिका र मानवसेवा फाउन्डेसन दुवैपक्षको दाबीअनुसार त्यो झडपमा २४ जना घाइते भए । महानगरले विज्ञप्तिमार्फत ११ जना नगरप्रहरी घाइते भएको जनाएको छ । फाउन्डेसनले १३ जना आफ्ना मान्छे घाइते भएको विवरण दिएको छ ।

फलामे रड, लौरो, ढुंगा प्रहारबाट रक्ताम्य बनेको बाराहीघाटको विवादको अब भने अन्त्य भएको छ । पोखरामा कोटिहोम हुने नै भएको छ । तर, स्थान भने बाराहीघाट नै नहुन सक्छ ।

सोमबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा पोखरा महानगरपालिकामा संयुक्त बैठक भएको छ । पोखरा महानगरका मेयर, उपमेयरसहितका जनप्रतिनिधि, आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्णमूर्ति भनिने विजय भण्डारी, शंकर खरालसहितका पाँच प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित तीनवटै सुरक्षा निकायको बैठकले कोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मंगलबार बिहान महानगरपालिकाको कार्यपालिका बैठक बस्ने र कोटिहोम कहाँ गर्ने भन्ने विषयको टुंगो लगाउन पाँच सदस्यीय समिति गठन गर्ने निर्णय हुनेछ ।

यही निर्णय यही टिम बसेर पहिले नै गरेको भए न नगरप्रहरी कुटिन्थे, न स्थानीयले पिटिनु पर्थ्यो । शान्त पोखरामा भएको उक्त हिंसात्मक झडपपछि पोखरा महानगरपालिका आफ्नो ‘इगो’ बाट पछाडि हटेको छ ।

पोखराको कोटिहोम विवादमा लामो समयदेखि महानगर र आयोजकबीच जुहारी चल्दै आएको थियो । यो विवाद अनुमति माग्नेखि लिएर अनुमति दिएको छैन भन्नेसहित अदालत नै पुग्यो । पछिल्लोसमयमा विवाद चर्किँदै जाँदा त्यो झडपमा नै परिणत हुनपुगेको थियो ।

यो विवादमा आउनुको मुख्य घटनाचाहिँ एउटा ऐतिहासिक रुखको ठुटो तस्बिर सार्वजनिक थियो र त्यो मानवसेवा फाउन्डेसनले आयोजना गरेको कोटिहोममा समिधाका लागि काटिएको थियो । त्यसलाई अगाडि बढायो, सामाजिक सञ्जालले ।

त्यसपछि स्थानीय सरकारले आलोचना सहन सकेन, मानवसेवा फाउन्डेसनले काटेको हो भनेर दोष थुपर्नेतिर लाग्यो । त्यसपछि आयोजकले पनि हामीले अनुमति लिएर काटेका हौँ भनेर पत्र सार्वजनिक गर्‍यो ।

जवाफको प्रतिजवाफ जुहारीतर्फ अगाडि बढ्यो । महानगरका मेयर धनराज आचार्यले कोटिहोम कुनै हालतमा हुँदैन, हामीले अनुमति दिएका छैनौँ भने । कोटिहोमले वातावरण प्रदूषण हुन्छ, यसले हवाई उडानमा असर पुर्‍याउँछ भन्ने अभिव्यक्ति दिए ।

समिधाका लागि संकलन गरिएका ५० टन दाउरा महानगरले जफत गर्‍यो । जबकी वडा नं. ६ ले बाराहीघाटमा कोटिहोम गर्न अनुमति मात्र दिएको थिएन राजस्व पनि उठाइसकेको थियो । आफ्नै वडाको निर्णय बदर गर्न मेयरले कार्यपालिका बैठकबाट अर्को निर्णय गराए । यसबाहेक वडा नं. ६, १३ र १४ मा रुख काट्न वडा र टोल विकास समितिले अनुमति दिएका थिए ।

यता, मानवसेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीले पनि धर्मका लागि अधर्म गर्न तयार रहेको, बाराहीघाटमा नै कोटिहोम गर्न कसैले रोक्न नसक्ने अभिव्यक्ति दिए । सुरुमा रुख कटानबाट सुरु भएको कोटिहोम विवाद यहाँदेखि भने व्यक्तिगत ‘इगो’ को रूपमा देखिन थाल्यो ।

महानगरले कार्यपालिका बैठकबाट निर्णय गरेर कोटिहोम गर्न नदिने निर्णय गर्‍यो । कोटिहोमको लागि अनुमति दिएको नेपाल ट्रस्टलाई पनि सहमति रोक्न आग्रह गर्ने निर्णय गर्‍यो । तर, ट्रस्टले मानेन । आफ्नो सम्पत्ति भाडामा दिँदा अरुलाई सोध्न नपर्ने जवाफ पनि दियो ।

Kotihome_pokhra-(1)-1741617188.jpg
महानगरको निर्णयविरुद्ध आयोजक उच्च अदालत पुग्यो । अदालतले फागुन १ गते कोटिहोम नरोक्न अन्तरिम आदेश दियो ।

नेपाल ट्रस्टबाट तितो जवाफ पाएको महानगरलाई उच्चले अर्को झट्का दियो । आदेश एकपक्षीय भन्दै महानगरका मेयर धनराज आचार्य स्वयं वारेसमार्फत ११ फागुनमा उच्च अदालत पुगे । उनले अदालतको आदेश एकपक्षीय रहेको हुँदा खारेज गर्नुपर्ने माग राखेका थिए । तर, अदालतले यहाँ पनि उनलाई साथ दिएन । कोटिहोम नरोक्नु भन्ने पुरानै आदेशलाई निरन्तरता दियो ।

आयोजकले चाहिँ फागुन २३ गते साइत जुरेको हुँदा भूमिपुजन कार्यक्रमको तयारी थाल्यो । नेपाल पञ्चाङ निर्णायक विकास समितिले यही मितिमा साइत दिएको थियो ।

कतैबाट साथ नपाएको महानगर जसरी पनि कोटिहोम रोक्ने भनेर लागिपरेको थियो । भूमिपुजन रोक्नकै लागि २३ गते बिहान अचानक कार्यपालिका बैठक डाकियो । कार्यपालिका सदस्यहरूलाई महानगरले बैठकको लागि भनेर बिहीबार राति १० बजेतिर मेसेज पठाएको थियो । यो कार्यपालिकाको एक मात्र एजेन्डा थियो, ‘भूमिपुजन रोक्ने ।’

कार्यपालिकाबाट यो निर्णय गराएर केही वडाध्यक्षसहित नगरप्रहरीहरू महायज्ञस्थल बाराहीघाट पुगे । भित्र भूमिपुजन कार्यक्रम चल्दै थियो । नगरप्रहरी पुगेर टेबुल उठाउन थाले ।

परिस्थिति आकलन गरेरै आयोजकले स्थानीय केही युवाहरूलाई पनि बोलाएको थियो । उनीहरूले नगरप्रहरीलाई प्रतिकार गरे । यहीक्रममा नगरप्रहरीबाट स्थानीय मिलन पहारी कुटिए ।

स्थिति तनावग्रस्त बन्न पुग्यो । भूमिपुजन रोक्नका लागि महानगरले स्थानीय प्रशासनको पनि साथ खोजेको थियो । तर, नेपाल प्रहरीले महानगरलाई साथ दिएन । नगरप्रहरीलाई बाराहीघाट स्थलबाट बाहिर निस्किएपछि भूमिपुजन सम्पन्न भयो ।

पूजा सकिएपछि आयोजक निस्कने तयारी गर्‍यो । तर, महानगरका एक कर्मचारीले नगरप्रहरीलाई भने, “पहिला हाम्रो गाडी निकाल्ने, बल्ल अरुको निस्कन दिने ।”

गेटको बाहिरपट्टी रहेका नगरप्रहरी आफ्नो गाडी लिन भित्र पस्न खोजे । स्थानीय युवाहरूले भित्र आउन दिएनन् । त्यो धकेलाधकेल अचानक झडपमा परिणत हुन पुग्यो । जहाँ २४ जना घाइते हुन पुगे । प्रहरीले भने १३ जना घाइते रहेको विवरण उपलब्ध गराएको थियो । स्थिति छिनमै युद्धभूमि जस्तो देखिन थाल्यो ।

कोटिहोमको उत्कर्ष बनेको त्यो झडपपछि अब के हुन्छ भन्ने अन्योलता नै थियो । त्यो झडपले धेरै पक्षको भूमिकामाथि प्रश्न उठ्यो, प्रशासन मूक भएको आरोप लाग्यो । झडप पहिला कसले सुरु गर्‍यो भन्ने बहस उठ्यो । पोखराले दिने सन्देशमाथि चिन्ताहरू पोखिए । यतिसम्म कि धार्मिक साम्प्रादायिकता खलल हुने तरिकाबाट टीकाटिप्पणी उठ्न थाले । धार्मिक द्वन्द्व निम्तिने खतरा बढ्यो ।

यही झडपपछि, सोमबार जे निर्णय भयो, झडप हुनुभन्दा अगाडि नै हुनुपर्थ्यो । एउटा ‘इगो’ले निम्तिने जोखिम सबैले महसुस गरे र कोटिहोम विवादको अन्त्य हुनपुग्यो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro