काठमाडौं । स्वीटजरल्यान्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा नेपाली चलचित्रले उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड जितेको छ । नेपाली चलचित्र ‘साम्बाला’की नायिका थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी हुन् ।
मिनवहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’मा मुख्य पात्रको भूमिकामा अभिनय गरेकी कलाकार थिन्लेले उक्त अवार्ड जितेको निर्माण टिमले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
“दक्षिण एसियाली कलाकारले पहिलोपटक यसप्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेका हुन् । साम्बालामा थिन्लेले बहुपति प्रथाअनुसार विवाह गरेकी डोल्पाली महिला पेमाको प्रतिनिधित्व गर्दै अभिनय गरेकी थिइन्,” निर्माण टिमले विज्ञप्ति जारी गर्दै भनेको छ, “जसमा ती महिला पात्रले हिमाली क्षेत्रको संघर्षपूर्ण जीवनयापन अन्त्य गर्दै जीवनमा नयाँ खोज र स्वतन्त्रताका लागि गरेको जोखिमयुक्त यात्रा गरेकी छन् ।”
निर्माण टिमले यो अवार्ड नेपाली कलाकारले जित्नु भनेको सिनेमाको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरण भएको बताएको छ ।