काठमाडौं । कन्सुलर सेवा विभागले एक वर्षमा सात लाखभन्दा बढी कागजात प्रमाणीकरण गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ती कागजात विभागले प्रमाणीकरण गरेको हो ।
विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार सेवाग्राहीले ४ लाख ८२ हजार ४४७ कागजात अनलाइन र २ लाख १८ हजार ४८० कागजात विभागमा नै आएर प्रमाणीकरण गरेका थिए । “एक वर्षमा विभागले ७ लाख ९२७ वटा कागजात प्रमाणीकरण गरेको छ । यसवर्ष अनलाइन कागजात प्रमाणीकरण ५७.१८ प्रतिशतले वृद्धि भएको छ,” विभागका महानिर्देशक पौडेलले भने ।
आर्थिक वर्ष २०७९/८० मा विभागले ४ लाख ६६ हजार २ वटा कागजात प्रमाणीकरण गरेको थियो । यीमध्ये ३ लाख ६ हजार ९२२ वटा कागजात अनलाइनमार्फत प्रमाणीकरण गरिएको थियो । विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रमाणीकरण गरिएका ४ लाख १३ हजार ५३४ कागजातमध्ये २ लाख ५२ हजार २२ वटा अनलाइन प्रमाणीकरण गरिएको थियो ।
“पछिल्लो वर्ष अनलाइन कागजात प्रमाणीकरण गर्नेको संख्या ह्वात्तै बढेको छ । अनलाइन प्रमाणीकरणले सेवाग्राहीको समय र आर्थिक खर्च दुवै बचाएको छ । यसले सेवाग्राहीलाई काठमाडौं आउनुपर्ने बाध्यतालाई समेत हटाएको छ,” महानिर्देशक पौडेलले भने ।
महानिर्देशक पौडेलका अनुसार विभागले थुप्रै सरकारी कागजातको प्रमाणीकरण गर्नेभए पनि अनलाईन प्रमाणीकरण भने प्रहरी चारीत्रिक प्रमाणपत्रको मात्र गर्ने गरेको छ ।
“अध्ययन, रोजगार लगायत विभिन्न उदेश्यले विदेश जाँदा प्रहरीको चारीत्रिक प्रमाणपत्र आवश्यक पर्छ र त्यसलाई विभागले प्रमाणीकरण गर्नुपर्छ,” उनले भने ।
गत आर्थिक वर्ष ४ लाख ८२ जनाले ४४७ जनाले प्रहरी चारीत्रिक प्रमाणपत्र प्रमाणीकरण अनलाइनमार्फत गरेका थिए । अर्थात् उक्त वर्ष ४ लाख ८२ हजार ४४७ जनाले प्रहरी चारीत्रिक प्रमाणपत्र बनाएको देखिन्छ । “सेवाग्राहीले अनलाइनमाफत पठाएको प्रहरी चारीत्रिक प्रमाणपत्रलाई विभागले प्रमाणीकरण गरी अनलाइन नै पठाउन गरेको छ । यसले गर्दा विभागमा सेवाग्राहीका चाप समेत घटेको छ,” महानिर्देशक पौडेलले भने ।
विभागले जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र, वैवाहिक अवस्थाको प्रमाणपत्र, सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र, बसाई सराई प्रमाणपत्र, विभिन्न प्रमाणपत्रमा नाम, थर वा अंग्रेजीमा हिज्जे फरक परेकोले एउटै व्यक्ति हो भनी दिएका प्रमाणपत्र प्रमाणीकरण गर्ने गर्छ ।
यस्तै, बैक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात, शैक्षिक प्रमाणपत्र, प्रहरी प्रतिवेदन, चिकित्सकको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतीपत्र प्रमाणिकरण, उत्पत्तीको प्रमाणपत्र प्रमाणिकरण पनि विभागले गर्दै आएको छ ।
कागजात प्रमाणीकरण गरेर विभागले गत आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड २१ लाख ४० हजार ५३९ रुपैयाँ राजस्व उठाएको छ । एउटा कागजागत प्रमाणीकरण गरे बापतट विभागले ५ सय रुपैयाँ राजस्व उठाउने गर्छ ।
विभागका अनुसार, अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २३ करोड ९५ लाख ८४ हजार ५१३ रुपैयाँ कागजात प्रमाणीकरण गर्दा राजस्व उठेको थियो । आर्थिक वर्ष २०७८/७९ मा विभागले कागजात प्रमाणीकरण गरेर २१ करोड २० लाख ४१ हजार रुपैयाँ राजस्व उठाएका थियो ।
प्रहरी चारीत्रिक प्रमाणपत्र प्रमाणीकरण गरेर मात्र विभागले गत आर्थिक वर्ष २०८०/८१ मा २४ करोड २९ लाख ५३९ रुपैयाँ, २०७९/८० मा १५ करोड ३४ लाख ६१ हजार १३ रुपैयाँ र २०७८/७९ मा १३ करोड १२ लाख ८५ हजार रुपैयाँ राजस्व उठाएको थियो ।