![बेरेटिनीलाई निराश बनाउँदै सिनर तेस्रो चरणमा](https://12khari.top/uploads/posts/449599613_2001671813568641_6524991619609170566_n-1720089314.jpg)
काठमाडौ । आफ्नै देशका प्रतिद्वन्द्वी माटेओ बेरेटिनीलाई निराश बनाउँदै जानिक सिनर वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार सेन्टर कोर्टमा विश्व वरीयताको शीर्ष स्थानका सिनरलाई बेरेटिनीविरुद्ध जित निकाल्न तीनपटक ‘टाइ–ब्रेक’ को आवश्यकता परेको थियो ।
तीन घण्टा ४२ मिनेटसम्म चलेको खेलमा सिनरले पहिलो सेट ७–६ (७–३) ले आफ्नो पक्षमा पारेका थिए । दोस्रो सेटमा पनि सिनरले ७–६ (७–४) को स्कोरसहित नतिजा आफूमा राखे । तर, तेस्रो सेटमा सिनरविरुद्ध ६–२ को सहज जित निकाल्दै बेरेटिनीले खेलमा फर्किने सम्भावना कायम राखेका थिए ।
चौथो सेट ७–६ (७–४) ले जितेपछि विश्व नम्बर एक सिनरले प्रतियोगिताको तेस्रो चरणमा स्थान सुनिश्चित गरेका हुन् । “पक्कै पनि हामीबीच राम्रो मित्रता छ । हामीले डेविस कप एकसाथ खेलेका थियौँ । कहिलेकाहीँ हामी एकसाथ प्रशिक्षण पनि गर्छौँ । यसैकारण दोस्रो चरणमा हामी एकअर्काविरुद्ध खेल्नु लज्जाको कुरा हो,” जितपछि सिनरले भने, “उ ग्रास कोर्टको विशेषज्ञ भएकाले मैले मेरो स्तर बढाउनुपर्छ भन्ने थाहा थियो । म मेरो आजको स्तरप्रति खुुसी छु ।”
सिनरले अब तेस्रो चरणमा सर्वियाका मिओमिर केक्मानोभिकविरुद्ध खेल्नेछन् ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)