![चन्द्रमालाई दोहोरो स्वर्ण](https://12khari.top/uploads/posts/441897861_857179306007869_6348856482540188536_n-1720198785.jpg)
काठमाडौं । चन्द्रमा थापा क्षेत्रीले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा एथलेटिक्स प्रतियोगितामा शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । चन्द्रमाले होचा/पुड्का महिलाको १०० र २०० मिटर दौडमा स्वर्ण जितेकी हुन् ।
चन्द्रमाले एक सय मिटर दौड २१.२५ सेकेन्डमा पूरा गरिन् । सिर्जना सेन्चुरी दोस्रो तथा अमृता बाँस्तोला तेस्रो भइन् । २०० मिटर दौड ४५.२६ सेकेन्डमा पूरा गर्दै चन्द्रमाले अर्को स्वर्ण जितिन् । सिर्जना तथा अमृता नै क्रमशः दोस्रो र तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको व्यवस्थापनमा भएको प्रतियोगिताको व्हीलचेयर पुरुष एक सय मिटरमा लक्ष्मीराज भट्ट पहिलो भए । उनले २६.७६ सेकेन्ड समय लगाए । सविन थापा दोस्रो तथा सन्तोष कार्की तेस्रो भए । सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल ३६.१५ सेकेन्ड समयमा पहिलो भइन् । बविता फुयाल दोस्रो तथा प्रतिक्षा माझी तेस्रो बने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको होचा/पुड्का पुरुष दुई सय मिटर दौडमा लालबहादुर खत्री प्रथम भए । उनले ४३.८३ सेकेन्डमा दौड सकाए । खुर्शेद मन्सुर द्वितीय तथा राजदीप थापा क्षेत्री तृतीय स्थानमा रहे । सो स्पर्धाको पुरुष एक सय मिटर दौडमा भने खुर्शेदले बाजी मारे । उनले निर्धारित दूरी २०.०५ सेकेन्डमा तय गर्दै पहिलो भए । लालबहादुरले दोस्रो स्थानमा चित्त बुझाए भने मानबहादुर नेवार तेस्रो भए ।
पूर्ण दृष्टिविहीनको पुरुष एक सय मिटर दौडमा विश्वराम दनुवारले स्वर्ण जिते । विश्वरामले १५.९५ सेकेन्ड समय खर्चे । धीरेन्द्र बुढाले रजत तथा विपेश चौधरीले कांस्य हात पारे । उक्त स्पर्धाको महिलामा २३.८१ सेकेन्डमा दौड पूरा गरेकी सकुन्तला वादी पहिलो भइन् । प्रेरणा खप्तरी दोस्रो तथा रेणुका तामाङ तेस्रो भइन्।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
अल्प दृष्टिविहीनको पुरुष १०० मिटर दौडमा दयारामनारायण चौधरी पहिलो भए । उनले १४.०९ सेकेन्डमा दौड पूरा गरे । सुवास सुनार दोस्रो तथा दावा स्याङबु शेर्पा तेस्रो भए । त्यसै स्पर्धाको महिलामा दिलसरा धमला १८.१० सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन् । सरिता घिमिरे दोस्रो तथा पवित्रा धामी तेस्रो बने । क्रचेचतर्फ पुरुष एक सय मिटर दौडमा निखिलकुमार बुढा पहिलो भए । उनले २६.६८ सेकेन्ड समय निकाले । गिरीराज थापा दोस्रो तथा हरिबहादुर गुरुङ तेस्रो भए ।
सामान्य अपांगताको पुरुष १०० मिटर दौड १५.२२ सेकेन्डमा पूरा गर्दै यम्बर घले मगरले स्वर्ण जिते । हिक्मत थापा मगरले रजत तथा नागेश जोशीले कांस्य प्राप्त गरे ।
बौद्धिकतर्फ पुरुष १२–१५ वर्षको एक सय मिटर दौडमा मिटियोन ताचामो पहिलो भए । उनले निर्धारित दूरी १६.५० सेकेन्डमा पूरा गरे । विवेक श्रेष्ठ दोस्रो तथा कृष दुवाल तेस्रो भए । सो स्पर्धाको महिलामा सर्वदा सुवाल पहिलो भइन् । सर्वदाले ३५.०५ सेकेन्डमा निर्धारित दूरी सकाइन् । निर्माना शाक्य दोस्रो तथा समीक्षा सिल्पकार तेस्रो भए ।
बौद्धिकतर्फ १८ वर्षमाथि पुरुष एक सय मिटर दौडमा अदित बज्राचार्यले स्वर्ण जिते । उनले निर्धारित दूरी १५.२१ सेकेन्डमा पूरा गरे । शक्ति तिमल्सेना दोस्रो तथा सुशन बुयो तेस्रो बने । उक्त स्पर्धाको महिलामा २१.०३ सेकेन्डमा पूरा गर्दै निता श्रेष्ठ पहिलो बनिन् । आस्मा वज्राचार्य दोस्रो तथा लोजिना खरेल तेस्रो भए ।
विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राखेपकी सदस्य विना श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ८० खेलाडीले २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।