site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोकरिझ्याइँका 'अवतारपुरुषहरू' 

सोभियत संघ विघटित भएर संसारबाट साम्यवाद पछि हट्दा धेरैलाई लागेको थियो अधिनायकवादीहरूको ‘व्यक्ति पथ’को खेती सकियो भन्ने लागेको थियो । हामी ‘इतिहासको अन्त्य’मा पुग्यौँ र उदार लोकतन्त्रले जित्यो । लोकतान्त्रिक रूपमा आवधिक निर्वाचनबाट निर्वाचित अधिकारीहरूबीच शान्तिपूर्वक शक्ति हस्तान्तरण हुने अभ्यास सामान्य प्रक्रिया बन्नेछ र कसैले पनि आफूलाई दोषरहित ईश्वरीय गुणसम्पन्न भन्ने हिम्मत गर्दैन भन्ने ठानियो ।
 
सोभियत संघमा कम्युनिज्म(साम्यवाद) मात्रै ‘धर्म’ हुनसक्थ्यो । कम्युनिज्ममा भगवान हुँदैन भने इसाई धर्म त्यसको प्रतिवाद हुनसक्छ । सोभियत संघपछिको पहिलो रुसी राष्ट्रपति बोरिस येल्तसिनले आफ्नो लोकतान्त्रिक भावना आंशिकरूपमा सञ्चार गर्दै आफू इसाई भएको  घोषणा गरे । यही लेनिनलाई भगवान नमान्ने सोभियत संघको पतनपछिका नेताको लोकतान्त्रिक आकांक्षाको मानक बनेको देखियो । 
 
रसियाका अहिलेका राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नो अधिनायकवादी आकांक्षा पूरा गर्ने चाहनामा सोभियत कालपछिको धार्मिक लगावलाई सम्प्रदायको तहसम्म पुर्याए ।   
 
'क्रस' र चमत्कारहरूका बारेमा सन् २००२ को अमेरिका भ्रमणका क्रममा पुटिनको उत्साहजनक अभिव्यक्तिले राष्ट्रपति जर्ज डब्ल्यु बुसले समेत पूर्व सोभियत गुप्तचर संस्था केजीबीका लेफ्टिनेन्ट जनरलले ‘मुटु र आत्मा’ भएको इसाईका रूपमा पुनर्जन्म लिएको ठाने । धर्मभीरु देखिने यस्ता नेताहरूको समश्या चाहिँ के थियो भने उनीहरू प्रायः भावावेशमा गरिएका निर्णयलाई आफ्नो धार्मिक आस्थाको आवरण दिन खोज्छन् । त्यसो गर्नु लोकतन्त्रमा समेत जोखिमपूर्ण हुन्छ । बुसले पुटिनलाई भेटेका बेला उनी अफगानिस्तानमा एक प्रकारको 'क्रुसेड' (धर्मयुद्ध) लडिरहेका थिए । 

त्यतिबेला उनले इरान, इराक र उत्तर कोरियालाई हतियार लुकाउने अपराधमा संलग्न ‘एक्सिस अफ इभिल्स’ ( खराब गिरोह) को संज्ञा दिएका थिए । तर, बुसको 'युद्ध' फैलिँदै र लम्मिदै गएपछि उनको धार्मिक अपिल र  साख घट्यो अनि नयाँ निर्वाचनबाट कम कट्टरपन्थी एवं अपेक्षाकृत राम्रो नेतृत्व आयो ।

पुटिनको रसिया त्यति भाग्यमानी थिएन । बुससँग जस्तो नभएर पुटिनसँग आफ्नो कट्टरतालाई जसरी सही लाग्छ त्यसरी नै लागु गर्ने शक्ति थियो । क्रेमलिन नियन्त्रित रसियाली चुनाव धार्मिक कर्मकाण्डभन्दा फरक थिएन ।

हुनत रुस धार्मिक शासनमा छैन तर राज्यको 'धर्म' 'अर्थोडक्स क्रिस्चियानिटी' कम्युनिज्म जस्तै  बन्न पुगेको छ । उदाहरणको लागि राज्यका अधिकारीहरूले शारीरिक अङ्गहरूको प्रदर्शनिलाई आस्तिकहरूको धार्मिक आस्थामा चोट पुग्न सक्ने निहुँ बनाएर प्रतिबन्ध लगाउन सक्छन् । पुटिन पश्चिमको चर्को विरोध गर्दा यसको 'अधोपतन'मा बढी जोड दिन्छन् र बैजन्टाइन साम्राज्यसँग ऐतिहासिकरूपमा जोडिएको सभ्य रुसले विपरीत लिङ्गी सम्बन्ध र पारिवारिक मूल्यजस्ता परम्परागत मान्यताहरूको रक्षा गर्ने नेतृत्व गर्नुपर्छ भन्छन् ।    

पुटिनले आफू देवता भएको दाबी त गर्दैनन् तर त्यसको पैरवी गर्छन् । सोभियत कालमा महासचिवहरू लेनिन, मार्क्स र एङ्गल्सजस्ता 'देवदूत'हरूका 'अंश' हुनेगर्थे भने पुटिन  पवित्र जारका विशेषगरी महान् पिटर तथा क्याथरिनजस्ता पृथ्वीमा अवतरित देवदूत आधुनिक अवतार  हुनपुगेका छन् । उनी कुनै सन्काहा हैनन् बरु धर्म रक्षाको पवित्र कार्यका लागि सक्षम नियति भएका पुरुष हुन्  भन्ने देखाउँछन् ।

पुटिनले लामो समयदेखि आफ्नो यस्तै छवि बनाउँदै आएका छन् । सन् २००७ मा रुसी अर्थोडक्स चर्चका अनुयायीहरूको एउटा समूहले क्राइस्ट विरोधीहरूसँग लड्न पाउल द एपोस्टल पुटिनका रूपमा पुनर्जन्म लिएको विश्वास गर्दै सम्प्रदाय नै बनाएका थिए । सन् २०१०मा उति बेला पुटिनको निकट सल्लाहकार रहेका भ्लादिस्लाव सुर्कोवले पुटिन परमेश्वरले रुसको रक्षाका लागि पठाएका 'ह्वाइट नाइट' भएको घोषणा गरेका थिए । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसको आधिकारिक प्रसारणहरूमा ईश्वर र पुटिनसँग उनको विशेष सम्बन्धको चर्चाको प्रभुत्व थियो ।

सङ्कटका समयमा मानिनसहरूलाई धार्मिक भावना वा आस्थाप्रति उत्प्रेरित गर्नुमा कुनै हानी नभएको तर्क गर्न सकिन्छ । स्टालिनले समेत दोस्रो विश्वयुद्धका बेला अर्थोडक्स चर्चको सहारा लिएका थिए । ईश्वर आफ्नो पक्षमा भएको विश्वास दिलाउन सके युद्धमा जनतालाई प्रेरित गर्न जो सकिन्छ । यसको उल्टो पुटिनले भने सङ्कट उत्पन्न गर्न र चर्काउने कामको औचित्य सिद्ध गर्न धर्मको प्रयोग गर्छन् ।

अहिले त्यसरी धर्मको गलत उपयोग गर्नेमा पुटिन एक्ला भने छैनन् । उदाहरणका लागि यस वर्षको सुरुतिर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई ईश्वरले 'विशेष उद्देश्य' पूरा गर्न धर्तीमा पठाएकाले आफू त्यही अनुष्ठानमा पूर्णरूपले समर्पित भएको घोषणा गरेका थिए । मोदीको व्यक्तित्व पूजाले हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीलाई हालै सम्पन्न निर्वाचनमा बहुमत दिलाउन भने सकेन । कारण भारतीय लोकतन्त्र अरू पूरै रुसका बाटामा लागेको त छैन तैपनि मोदी विश्वका सबैभन्दा लोकप्रिय निर्वाचित नेता मानिनन्छन् ।

लोकतान्त्रिक आवरणमा अर्का अधिनायकवादी शासक टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले पनि धर्मलाई यसरी नै प्रयोग गरेका थिए । सन्, २०२० मा उनले इस्तानबुलको विख्यात बैजन्टाइन स्मारकलाई 'हेगिया सोफिया' मस्जिद भएको घोषणा गरे । उनका केही अनुचरहरूले त उनलाई इस्लामको आशाका रूपमा 'अल्लाहले पठाएको' दाबी गरेका थिए ।  गत अप्रिलमा एर्दोआनको जस्टिस एन्ड डेभलपमेन्ट पार्टी चुनावमा नराम्रो हार बेहोरेपछि त झन् एर्दोआनले विद्यालयका पाठ्यक्रममा धार्मिक विषय थप गर्ने तथा 'राष्ट्रिय मूल्य'हरू प्रवर्धन गर्नेलगायत धर्मको विषयमा दोब्बर जोड दिएका छन् ।

अर्का छन् अमेरिकाका कट्टर दक्षिणपन्थीका 'मसिहा' डोनाल्ड ट्रम्प । ट्रम्पलाई बाइबलका त पङ्क्ति कण्ठस्थ नहुनसक्छ तर आफ्नो मताधारलाई एकत्रित गर्न धार्मिक रङ्ग कसरी दिने भन्ने उनले जानेका छन् ।  र ट्रम्पका समर्थकहरूका लागि उनका जस्तै दाबी पनि अविश्वसनीय लाग्दैनन् । सन् २०२१ मा ट्रम्प समर्थक 'षड्यन्त्रको सिद्धान्तवादी ' हजारौं जना टेक्ससको ड्यालसमा जम्मा भएका थिए । तिनीहरू जिजसको पुनर्जन्म हुन्छ भनेर होइन ट्रम्प राष्ट्रपतिका रूपमा पुनःस्थापित भएपछि जोन एफ केनेडी जुनियर उपराष्ट्रपति हुने विश्वासमा  जम्मा भएका थिए । 

आफ्नो शासन र शक्ति अनिश्चित कालसम्म कायम राख्न खोज्ने नेताहरू नै आफू कुनै दैवी उद्देश्य प्रेरित भएको दाबी गर्ने गर्छन् । पुटिनले त त्यो मुकाम हासिल गरिसकेकाछन् भने मोदी र एर्दोआन त्यही दिशामा अग्रसर भउका छन् । तर, सबैभन्दा ठस्लो खतरा भने ट्रम्प हुनसक्ने देखिन्छ । उनफे यस वर्षको राष्ट्रपति चुनाव जिते भने संयुक्त राज्य अमेरिकामा सन् २०२८ मा चुनावै नहुनसक्छ भन्ने कटु सम्भावनालाई कसैले पनि इन्कार गर्न जो सक्तैन । 

Copyright: Project Syndicate, 2024.

( अन्तर्राष्ट्रिय मामिलासम्बन्धी प्राध्यापक, द न्यु स्कुल, अमेरिका)

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro