site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं । टाइब्रेकरमा स्वीट्जरल्यान्डलाई हराउँदै इंग्ल्यान्डले लगातार दोस्रोपटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।

शनिबार राति मेर्कुर स्पेइल एरिनामा भएको खेलमा स्वीस टिमविरुद्ध पेनाल्टी सुटआउटमा ५–३ को जित निकाल्दै इंग्ल्यान्डले सेमिफाइलन यात्रा तय गरेको हो । इंग्लिस फुटबलको इतिहासमा हालसम्म इंग्ल्यान्ड चार पटकमात्र टाइब्रेकरमा जित निकालेको छ । जसमा आजको नतिजासहित इंग्ल्यान्डले दुई पटक स्वीस टिमविरुद्ध नै जित निकालेको हो । इंग्ल्यान्डले यसअघि सन् २०१९ को यूईएफए नेसन्स लिगमा स्वीस टिमलाई टाइब्रेकरमा निराश बनाएको थियो ।

खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । टाइब्रेकरमा इंग्ल्यान्डबाट प्रहारका लागि आएका कुनै पनि खेलाडीले गल्ती गरेनन् । इंग्ल्यान्डका ट्रेन्ट एलेसान्डर आर्नोल्ड, इभान टोनी, बुकायो साका, जुड बेलिङ्घम र कोल पाल्मेरले गोल गरे । स्वीट्जरल्यान्डका फाबियन सार, जेद्रान साक्विरी र जेकी अम्डोउनीले गोल गरे । तर, पहिलो प्रहारका लागि आएका म्यानुयल अकान्जीको प्रहारलाई भने इंग्लिस गोलकिपरले विफल बनाएका थिए ।

त्यसअघि खेलमा सुरुआती अग्रता स्वीट्जरल्यान्डले नै बनाएको थियो । ७५औँ मिनेटमा ब्रिल इम्बोलीले गोल गर्दै स्वीस टिमलाई अग्रतामा राखेका थिए । स्वीट्जरल्यान्डको यो अग्रता लामो समय टिक्न भने सकेन । त्यसको पाँच मिनेटपछि नै बुकायो साकाले १८ यार्ड बक्स बाहिरबाट ‘सेकेन्ड बार’ मा उत्कृष्ट गोल गर्दै इंग्लिस टिमलाई खेलमा फर्काएका थिए ।

स्वीट्जरल्यान्ड ठूला प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको यो पाँचौँपटक हो । यसअघि स्वीट्जरल्यान्डले सन् १९३४, १९३८ र १९५४ को विश्वकपमा र सन् २०२० को युरोपियन च्याम्पियनसिपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको हो ।

जितसँगै इंग्ल्यान्डले अब फाइनल प्रवेशका लागि टर्कीया र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्ने भएको छ । इंग्ल्यान्ड गत संस्करणको फाइनलमा पुगे पनि इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि उपविजेतामा खुम्चिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro