काठमाडौं । मैथिली भाषामा निर्माण गरिएका चलचित्रहरूलाई लक्षित गर्दै पहिलोपटक जनकपुरधाममा दुई दिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिएको छ । असार ११ र १२ गते जनकपुरमा भएको महोत्सवलाई जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवले गर्दै मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा टेवा पुर्याउने बताए । “मैथिली भाषामा फिल्म निर्माण हुनु गौरवको विषय हो । नवीनतम सोच भएका युवाहरूको उपस्थिति बढेसँगै आउँदो समयमा अन्य भाषा झैँ मैथिली फिल्मले फड्को मार्नेमा विश्वस्त छु,” मुख्यमन्त्री सिंहले भने ।
अभिनेता तथा निर्देशक नीर शाहले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउन अन्तर संस्कृतिका विषय चलचित्रमा आउनु पर्ने बताए ।
महोत्सवका निर्देशक रमेश रञ्जन झाले फेस्टिभलका कारण मिथिलाञ्चल क्षेत्रसँगै मैथिली भाषामा काम गरिरहेका कलाकार, लेखक, गायक तथा निर्देशक एउटा प्लेटफर्मको निर्माण भएको बताए ।
महोत्सवमा वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुफिल्मतर्फ ‘अफवाह’ र ‘रक्त तिलक’, फिचर फिल्मतर्फ ‘ललका पागु’, ‘लोटस ब्लूम्सु’ ‘समानान्तर’ प्रदर्शन गरियो । महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तरक्रिया गरिएको निर्देशक र महोत्सवका संयोजक पुर्णेन्दु के झाले जानकारी दिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पहिलो संस्करण भएकाले प्रतिस्पर्धा नगराइको निर्देशक झाले बताए । अहिले मैथिली भाषामा काम गरिरहेकालाई भेला मात्र गरेको उनको भनाइ छ ।