काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा समूहले ओमोडा–ई ५ कार प्रदान गर्ने भएको छ ।
‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई ओमोडाको नयाँ कार प्रदान गरिने एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले पुष्टि गरे । यसअघि पुरस्कारको रूपमा दिइने कारको नाम खुलाइएको थिएन । नेपालमा यसको बजार मूल्य ६१ लाख ९९ हजार रुपैयाँ छ ।
एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको सहकार्यमा शारडा समूहसँग सम्झौता भएको हो ।
मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेईको’ ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदार रहेको छ ।