काठमाडौं । स्ट्यान्डअप कमेडी शो ‘कमेडी च्याम्पियन सिजन–३’को ग्रान्ड फिनाले यही शनिबार हुँदै छ । शनिबार हुने ग्रान्ड फिनालेमा ‘कमेडी च्याम्पियन सिजन–३’को विजेता घोषणा हुनेछ ।
फाइनलमा सुयशा खनाल, ऋषभ काफ्ले र सुनील खड्का पुगेका छन् ।
शनिबार बेलुका ७ः३० बजेसम्मका लागि भोट खुला गरिएको छ । फाइनलिस्टहरू भोट माग्न व्यस्त छन् । जसको भोट धेरै आयो उही नै विजेता बन्ने भएकाले फाइनलिस्टहरू भोट माग्न व्यस्त भएका हुन् ।
कुन प्रतिस्पर्धीको के विशेषता ?
निर्देशक विशाल भण्डारीका अनुसार सुनसरीका ऋषभ काफ्ले स्टोरी टेलिङका लागि माहिर छन् । आफूले उठान गर्ने विषयको गहिराइमा पुगेर खोज्नु र अरुलेभन्दा भिन्न तरिकाले पेस गर्न सक्नु उनको सबल पक्ष हो । सुरुसुरुका केही शृंखलामा देखिएको स्लो पेसलाई सच्याउँदा उनी फाइनलसम्म पुगेका हुन् ।
अर्का प्रतिस्पर्धी काठमाडौंका सुनील खड्का आमदर्शकको ध्यान खिच्ने कमेडी गर्ने फाइनलिष्ट हुन् । उनी राइटिङमा पनि उत्तिकै अब्बल रहेको निर्देशक भण्डारीको भनाइ छ ।
नवलपुरकी सुयशा खनालको डाइलग डेलिभरी र प्रिजेन्टेसन राम्रो छ । स्क्रिप्टमा लेखिएको एक अक्षर तलमाथि नगरी जस्ताको तस्तै प्रस्तुत गर्न सक्नु उनको सवल पक्ष हो । उनी शो कै कान्छी प्रतिस्पर्धी हुन् ।
के छ पुरस्कार ?
विजेताले २५ लाख रुपैयाँ नगद र सीजी मोटर्ससँगको सहकार्यमा ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ कार पाउनेछन् ।
फर्ष्ट र सेकेन्ड रनरअपले एक/एकवटा स्कुटर पाउने निर्देशक भण्डारीले जानकारी दिए ।
विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् ।
‘कमेडी च्याम्पियन सिजन–१’को विजेता हिमेश पन्त हुन् भने सिजन–२ को विजेता भरतमणि पौडेल हुन् ।