बीबीसी । भारतकी चर्चित लेखिका अरुन्धती रायको विरुद्ध १४ वर्षअघिको एक अभिव्यक्तिलाई लिएर दिल्लीका उपराज्यपाल वीके सक्सेनाले गैरकानुनी गतिविधि(रोकथाम) अधिनियम अर्थात् युएपीएका अनुसार मुद्दा चलाउन अनुमति दिएपछि यो मामिला निकै चर्चामा आएको छ ।
अनलफुल एक्टिभिटिज (प्रिभेन्सन) एक्ट (युएपिए)लाई भारतको कडा कानुन मानिन्छ । जसको प्रयोग आतंककारी गतिविधिका विरुद्ध गरिने जनाइएको छ ।
दिल्लीमा अक्टोबर २०१०मा ‘कमिटी फर द रिलिज अफ पोलिटिकल प्रिजनर’को सम्मेलनमा उनले भनेका तीन वाक्य थिए, ‘काश्मिर कहिले पनि भारतको अविछिन्न अंग थिएन । यो ऐतिहासिक तथ्य हो । भारत सरकारले पनि यो स्वीकार गरेको छ ।’
यही कारणले गर्दा नै उनलाई अहिले आएर कडा कानुन प्रयोग गर्ने अनुमति प्राप्त भएको हो । उनीसँगै काश्मीरका डाक्टर शेख सौकत हुसेनको विरुद्धमा पनि यो कडा कानुन अनुसार मुद्धा चल्नेछ । यो मामिला १४ वर्ष पुरानो हो । अरुन्धतीमाथि भारतको एकता र अखण्डताको विरुद्ध टिप्पणी गरेको आरोप लागेको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिको कटु आलोचक रहेकी अरुन्धती रायमाथि सन् २०१०मा दिल्लीमा दर्ता गरिएको एक एफआइआरअनुसार मुद्दा चल्न लागेको हो ।
अघिल्लो वर्ष टेलिभिजन च्यानल अल जजिरालाई दिएको अन्तर्वार्तामा काश्मीरको पुलवामा हमलाको सम्बन्धमा प्रधानमन्त्री मोदीसँग जोडिएको सवालमा रायले भनेकी थिइन्, “म हमेसा प्रधानमन्त्री मोदीको खिलाफमा रहेकी छु । जब उनी २००२मा गुजरातका मुख्यमन्त्री थिए, त्यतिबेला पनि ।”
वरिष्ठ पत्रकार करण थापरलाई दिएको एक अन्तर्वार्तामा पनि उनले सत्ताधारी भाजपा फासीवादी भएको र एक दिन यो देश उसको विरुद्धमा खडा हुने बताएकी थिइन् ।
को हुन् उनी ?
आफ्नो पुस्तक ‘द गड अफ स्मल थिंग्स’का लागि १९९७ मा बुकर पुरस्कार जितेकी अरुन्धती रायले ९ भन्दा बढी पुस्तक लेखेकी छन् ।
उनको हालैको पुस्तक ‘द मिनिस्ट्री अफ अटमोस्ट हयाप्पिनेस’ नेशनल बुक क्रिटिक्स सर्कल अवार्ड फाइलिस्टमा एक थियो । उनी ६२ वर्षकी हुन् र उनले दिल्ली स्कूल अफ आर्टिटेक्चरमा पढाई गरेकी हुन् । रायले यसपछि प्रोडक्सन डिजाइनरको रुपमा पनि काम गरेकी थिइन् ।
उनको जीवन हमेसा केही फरक रह्यो । उनले १६ वर्षको उमेरमा घर छोडिन् । उनी दिल्लीको एक आर्टिटेक्चर स्कूलमा गइन् । गोवाको समुन्द्र तटमा उनले केक बेचिन् । एरोबिक्स सिकाइन् । एक फिल्ममा पनि काम गरिन् । उनले आफ्नो पहिलो उपन्यास लेख्नुभन्दा पहिला करिब ५ वर्ष पटकथा लेखिन् ।
रायलाई २००२ सालमा लण्डन फाउण्डेसन प्राइज फर कल्चरल प्रिडम, २००४मा सिड्नी पिस प्राइज, २००४मै नेसनल काउन्सिल अफ टिचर्स अफ इंग्लिसका तर्फबाट दिइने जर्ज अरवेल अवार्ड र विशिष्ट लेखनका लागि २०११मा नोर्मन मेलर प्राइजले सम्मानित गरिएको थियो ।
अरुन्धतीले सातवटा ननफिक्सन पुस्तक पनि लेखेकी छन् । यसमा १९९९मा प्रकाशित ‘कस्ट अफ लिभिंग’ पनि रहेको छ । जसमा विवादास्पद नर्मदा बाँध परियोजना र परमाणु परीक्षण कार्यक्रमको लागि सरकारको कडा आलोचना गरिएको छ ।
यसबाहेक उनले सन् २००१ मा ‘पावर पोलिटिक्स’ नामको पुस्तक लेखेकी थिइन् । जो निबन्धको संकलन हो । त्यसैवर्ष उनको ‘द अलजेब्रा अफ इनफिनिट जस्टिस’ पनि प्रकाशित भयो । उनी जनस्तरमा खासगरी आदिवासी जनजातिका बीचमा निकै लोकप्रिय मानिन्छन् ।
उनीसँग जोडिएको विवाद
अरुन्धती नर्मदा बचाओ आन्दोलनसहित देशका कतिपय अन्य आन्दोलनमा सक्रिय रुपमा जोडिएकी थिइन् । नर्मदा बचाओ आन्दोलन मेधा पाटकरको अगुवाईमा केही मानवअधिकार कार्यकर्ताका गुटले गरेका थिए ।
जो गुजरातमा सरदार सरोबर बाँध परियोजनाको कारण विस्थापित आदिवासीको अधिकारको लागि आवाज उठाइरहेका थिए । यो आन्दोलनमा रायको सहभागिता गुजरातका कैयौं राजनेताले आफूहरुको विरोधको रुपमा देखेका थिए उनी २००२मा गुजरातमा भएको दंगालाई लिएर मोदी विरुद्धमा पनि खनिएकी थिइन् ।
दिल्लीका उपराज्यपालको तर्फबाट अरुन्धतीविरुद्ध मुद्दा चलाउने मन्जुरी दिएपछि भाजपा प्रवक्ता तुहिन सिन्हाले रायले १४ वर्षअघि गलत बोलेको भन्दै आलोचना गरेका छन् ।
त्यतिबेला उनले काश्मीर भारतको हिस्सा नभएको जनाएकी थिइन् । उनको संगत गर्नेहरु जनतासँग जोडिएकी उनी हिम्मतिली लेखिका भएको बताउँछन् । राय तथा काश्मीरका पूर्वप्रोफेसर शेख शौकत हुसेनको विरुद्ध आइपीसीको धारा १५३ ए, १५३ बी, ५०४, ५०५ र युएपीएको धारा १३ अनुसार एफआइआर दर्ता गरिएको छ ।
धारा १५३ धर्म, जाति, जन्म स्थान निवास, भाषा आदिको आधारमा विभिन्न समूहबीच बैमनश्यता बढाउने विषयसँग जोडिएको छ ।
धारा १५३ बी राष्ट्रिय एकताको लागि हानिकारक आरोप तथा बयानका लागि दण्डको प्रावधान राखिएको छ भने धारा ५०५ जानीबुझी शान्ति भंग गर्ने इरादासँग सम्बन्धित रहेको जनाइएको छ ।
१४ वर्षअघिको कुरालाई लिएर उनलाई सो कानुनअनुसार थुनियो भने विश्वमै भारतको छबिमा नकारात्मक असर पर्न सक्ने विश्लेषकहरुले बताएका छन् । उनी पहिलादेखि नै भारतको संस्थापन पक्षविरुद्ध खरो रुपमा लाग्नु र मोदीको तेस्रो कार्यकालको शपथलगत्तै उनी विरुद्धको मुद्दा अघि बढ्नुलाई धेरैले शंकाको नजरले हेरिरहेको पाइएको छ ।
यद्यपि आफू विरुद्धका पछिल्ला गतिविधिबारे स्वयं अरुन्धती भने मौन नै रहेकी छन् । बीबीसी