site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
MVtCs4rDNzo
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
सिन्धुपाल्चोक । बस्ती हस्तान्तरण गर्न ३५ दिन बाँकी रहँदा गिरानचौरमा सीताराम कट्टेल ‘धुर्मुस’लाई निकै धमाधम छ । भन्छन्, “कहिलेकाहीँ त दिनमा ३६ घण्टा भइदिए पनि हुन्थ्यो, कति चाँडो बित्छ दिन पनि !” 
गत वैशाख १२ गते सिलान्यास गरेर वैशाख २९ गतेदेखि गिरानचौर एकीकृत नमुना बस्ती निर्माणको काम थालिएको हो । तीन महिनाको दौरानमा करिब ७० प्रतिशत काम त सकिएको छ, तर निर्धारित समयमा काम सकिने हो कि होइन भनेर धुर्मुस पछिल्लो समय निकै तनावमा छन् ।
“देशविदेशका सहयोगीहरूलाई हामीले दसैँको घटस्थापनाको दिन बस्ती हस्तान्तरण गर्छौं भनेर वचन दिइसकेका छौँ,” धुर्मुसले खुइय गर्दै भने, “तर सकिने हो कि होइन भन्ने गम्भीर चिन्तामा पो छौं हामी ।”
मध्य वर्षा याममा काम सुरु गरिएकाले प्रारम्भमा निकै कठिनाइ आइपर्यो । त्यसो त सिन्धुपाल्चोकको पश्चिमी बेल्ट गिरानचौर विकट ठाउँमध्येमै पर्छ । ‘गिरानचौर’ भने पनि त्यहाँ समथर जमिन छैन । त्यसैले एकीकृत बस्ती निर्माणको लागि निकै पापड बेल्नुपर्यो । भिरालो जमिन सम्याउन होस् या बस्तीसम्म पुग्ने मोटर बाटो बनाउन, कुनै पनि काम सहज भएन । एक महिनाभन्दा बढी त ठाउँ मिलाउनै खर्च भयो । पानीका लागि उस्तै दुःख छ । त्यहाँका बासिन्दा वर्षौंदेखि गाग्री बोकेर घण्टौँ लाग्ने पँधेरो धाइरहेका छन् । पानीको चरम अभाव भएको ठाउँमा एकसाथ ६५ घर निर्माण गर्नु चानचुने कुरा थिएन । अहिले धुर्मुस–सुन्तली फाउन्डेसनले करिब आठ सय मिटर तल सिन्धुखोलादेखि ‘लिफ्टिङ’ गरेर त्यहाँ पानीको आपूर्ति गरिरहेका छन् । त्यसले बस्ती निर्माणमात्र सम्भव भएको छैन, गाँवैलाई पानी पुगेको छ ।
एकीकृत बस्ती बनाउने भनेपछि पहिला समाज एकीकृत गर्नुपर्यो । जग्गा एकीकृत थिएन, त्यो पनि मिलाउनुपर्यो । “समाज एकीकृत भएपछि त विकासको मूल फुटिहाल्यो नि,” धुर्मुस सुनाउँछन् । 
त्यसका अतिरिक्त बस्ती निर्माणका लागि प्रशासनिक स्वीकृति र अन्य झमेला पन्छाउँदा–पन्छाउँदा उनीहरू हैरानै भए । त्यसले पनि समय लागेको धुर्मुस बताउँछन् । “यस्ता समस्याको हामी सबै भुक्तभोगी हौँ,” धुर्मुस कहिलेकाहीँ ठट्टा गर्छन्, “यहाँ सजिलो त चोक चौतारीमा बसेर कुरा काट्न र गफ चुट्नमात्रै हो ।”
० ० ०
परियोजना तोकिएको मितिमा सकिन्छ कि सकिँदैन भनेर प्रोजेक्ट कोअर्डिनेटर अर्जुन न्यौपानेलाई पनि उस्तै चिन्ता छ । “दिनरात नभनी काम गरिरहेका छौँ,” उनले सुनाए, “यही गतीमा काम भए हामी निर्धारित मितिमै काम सम्पन्न गर्छौं ।” बस्ती निर्माणकै लागि भनेर आफूहरूले सम्पूर्ण व्यक्तिगत कामहरू थाँती राखेर मरिमेटेर लागेको उनको भनाइ छ ।
“हामी दैनिक १२–१४ घण्टासम्म काममा खटिएका छौँ । बिहान घाम उदाएदेखि बेलुका मध्यरातसम्म कहिले बत्तीमा त कहिले जूनको प्रकाशमा समेत काम गरिरहेका छौँ,” उनले थपे ।
उनका अनुसार हालसम्म ४५ वटा घर तला छाप्ने स्थितिमा पुगेका छन् । त्यस्तै, बालउद्यान निर्माणको काम पनि प्रारम्भ भइसकेको छ । सामुदायिक भवन निर्माणका लागि जग्गा सम्याउने र तीन वटै ब्लकमा पुग्न बाटो निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ । 
बस्ती निर्माणका लागि दैनिक सरदर १ सय ५० व्यक्ति खटिएका छन् । शनिबार त त्यो संख्या झण्डै दुई सयको हाराहारीमा पुग्छ । लायन्स क्लब, क्विक भोलेन्टियर, सहकारीका समूहहरू श्रमदानका लागि गिरानचौर पुग्ने गरेका छन् । “उहाँहरू आउनुहुन्छ, सकेको सहयोगको हात बढाउनुहुन्छ । कतिले त पैसा पनि दिन खोज्नुहुन्छ । सहयोग रकम लिन बन्द गरिसकेकाले हामी श्रमदान गरिदिनुहोस् भन्छौँ । उहाँहरू खुसीसाथ काम गर्न तयार हुनुहुन्छ । दुःखको कुरा भन्नुपर्छ, उहाँहरूलाई हामीले खाजा, खाना र बस्ने ठाउँको प्रबन्ध मिलाउन सकेका छैनौँ,” धुर्मुसले बीचमा थपे । 
० ० ०
तीन–चार वटा क्याम्प खडा गरेर नेपाली सेनाले बस्ती निर्माणमा सघाइरहेको छ । बस्ती निर्माण गर्न सैनिक श्रीमती संघले १४ लाख रुपैयाँ प्रदान गरेको थियो । त्यसका साथै नेपाली सेनाले ब्लक ‘ए’ मा ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरिरहेको छ ।
“मेरो पहिले सेना बन्ने लक्ष्य थियो । सैनिक बनेर देशको सेवा गर्ने उत्कट अभिलाषा थियो मेरो,” धुर्मुसले सुनाए, “मेरो लागि निकै खुसीको कुरा हो यो, नेपाली सेना र हामीहरू सँगै मिलेर बस्ती बनाउन पाइयो, भूकम्पपीडितको खुसी एकसाथ साट्न पाइयो ।” सैनिक बन्ने रहर उनले सैनिकको जस्तै कपाल काटेर पूरा गरेका छन् । नेपाली सेनाको सम्मानमा क्याम्पका सबैले सैनिकले जस्तै गरी कपाल काटेका छन् । 
नेपाली सेनाले बस्ती निर्माणमा त सघाएको छ नै, त्यसैगरी बस्तीको सुरक्षा पनि दिएको छ । असईको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली निर्माणको सुरुवातदेखि नै तैनाथ छ । उनीहरूले बस्तीको निगरानी गरेका मात्रै छैनन, बस्ती बनाउन कम्मर कसेरै लागेका छन् ।
० ० ०
“हामी देशबाहिरका खेलाडीसँग प्रतिस्पर्धा गरेर गोल्ड मेडल ल्याउन दत्तचित्त छौँ, तपाईँहरूले देशभित्र ‘गोल्ड मेडल’ हात पारिसक्नुभयो,” शनिबार श्रमदानका लागि गिरानचौर पुगेका उसुका प्रशिक्षक राजीव महर्जनले यसो भनिरहँदा धुर्मुस मुस्कुराएमात्रै । उनको अनुहारमा खुसीका प्रतिबिम्ब भन्दा ज्यादा काम कसरी फत्ते गर्ने भन्ने चिन्ता झल्किन्थ्यो । 
प्रशिक्षक महर्जन, गोल्ड मेडलिस्ट निमाका अतिरिक्त बाह्रौँ सागकै रजत पदक विजेता विजय सिंजालीलगायत २२ जना खेलाडी श्रमदानका लागि पुगेका थिए । “देशका लागि केही गरौँ भन्ने भावना भएकाहरूलाई दिलोज्यान दिएर सघाउनु हामी खेलाडीहरूको पनि दायित्व हो,” प्रशिक्षक महर्जनले यहाँ आउनुको तात्पर्य खुलाए ।
छेवैमा थिइन् उसुकी राष्ट्रिय खेलाडी तथा बाह्रौँ सागकी गोल्ड मेडलिस्ट निमा घर्तीमगर । बस्ती निर्माणप्रति अचम्मित हुँदै उनले कौतूहलता पोखिहालिन्, “धुर्मुस दाइ त हामी टेलिभिजन हेर्ने दर्शकलाई पेट मिचीमिची हँसाउनु हुन्थ्यो । यहाँ भूकम्पपीडितलाई पनि साँच्चिकै हँसाउँदै पो हुनुहुँदो रहेछ ।” धुर्मुस यतिबेला पनि प्रतिक्रियाविहीन नै रहे । केही क्षण घोत्लिएका धुर्मुसले खेलाडीहरूलाई उत्साहित बनाउँदै भने, “खेलाडीहरूप्रति जुन किसिमको राष्ट्रप्रेम र राष्ट्रभक्ति हुन्छ, त्यो सबै तह र तप्काका मानिसमा हुने हो भने मुलक बन्न समय पर्खनुपर्दैन ।”
एकछिन हात खाली नबस्ने रजत पदक विजेता विजयको शनिबार जन्मदिन पनि रहेछ । सोही अवसरमा उनले गिरानचौरमै पुगेर केक काट्ने अवसर जुराए । केक काट्दै धुर्मुसले शुभकामना दिए, “अब अर्कोपटक देशलाई गोल्ड मेडल नै दिलाउनू ।”
खेलाडीहरूलाई त्यहाँ पुर्‍याउन समन्वयात्मक भूमिका खेलेका थिए कराते खेलाडी पुरुषोत्तम पोखरेलले ।
० ० ०
धुर्मुस निकै गलेछन् । गोरो वर्णका घामले डढेर ‘श्याम’ भएछन् । “प्रेसर लो भएर म त उठ्नै पो नसक्ने भएको छु त,” उनले समस्या सुनाए, “कामको चिन्ताले कहिले खानै बिर्सन्छु, कहिले राति अबेरसम्म निद्रा पर्दैन, त्यसैले होला बीपी अत्यन्त लो भएछ, तीन–चार दिनदेखि काम नै गर्न सकेको छैन ।”
मानिसको मन न हो, उनी निकै भावुक हुन्छन्, “कहिलेकाहीँ त भक्कानो छुट्छ, घरपरिवार, कलाकारिता सबथोक त्यागेर पीडितको सेवामा जुटेको छु । देशको हालत र यहाँको व्यवस्थाले घरी–घरी रुवाउँछ मलाई ।”
काखे छोरी भएकाले कुञ्जना घिमिरे ‘सुन्तली’ गिरानचौर बस्न पाउँदिनन् । उनलाई पनि त्यस्तै तनाव छ, गिरानचौर बसौँ, छोरीलाई समय दिन नसकिने, नबसौँ भने धुर्मुस एक्लैको काँधमा कामको बोझ पर्ने ।
धुर्मुस अगाडि भन्छन्, “झापामा भएका बाबुआमालाई तीन–चार महिना भयो, फोन गर्न पाएको छैन । काम सुरु गर्दै भन्नुहुन्थ्यो– त्यत्रो करोडौँको काममा हात हालिस्, कसरी सक्छस् निकै चिन्ता पो लागेको छ त !”
काम सम्पन्न भएपछि आफ्ना र कुञ्जनाका बाबुआमालाई संयुक्त रूपमा गिरानचौर ल्याउने धोको छ रे उनको । उनले भने, “अब छिट्टै पूरा गर्छु त्यो इच्छा ।”
धुर्मुसलाई सघाउने हातहरू प्रशस्तै बढेका छन् । दिनप्रतिदिन श्रमदान गर्ने टोली पनि बढेका छन् । ‘क्विक भोलेन्टियर’ले क्याम्प नै खडा गरेर श्रमदानमा स्वयंसेवक खटाइरहेको छ । क्विक भोलेन्टियरका चन्द्र खड्का भन्छन्, “हामी औसतमा १० जना डेढ महिनादेखि गिरानचौरमा खटिएका छौँ । धुर्मुस–सुन्तली फाउन्डेसनसँग काम गर्न पाउनु हाम्रा लागि निकै गौरवको कुरा हो ।” 
 
० ० ०
राजधानीको प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा महोत्सव चलिरहेको छ । तीते–जिरे–मेरी बास्सै गाईजात्रा महोत्सवमार्फत पेट मिचिमिचि हँसाउने धुर्मुस अहिले गिरानचौरमा सावेल मच्चाउँदैछन् । प्रज्ञा भवनको प्रेक्षालयका दर्शक हँसाउने धुर्मुस यतिबेला गिरानचौरका भूकम्पपीडितलाई हँसाइरहेका छन् । 
तर, उनको तनमात्रै गिरानचौरमा छ, मन यहाँको गाईजात्रामा पुगिरहन्छ  छ । ‘मेरी बास्सै’ मन पराउने दर्शकहरू प्रज्ञा भवन पुगेका छन् । गाईजात्रामा धुर्मुस–सुन्तली नदेख्दा उनीहरूको मन खिन्न भयो कि भन्ने चिन्ता पनि छ । भन्छन्, “यसपटकको गाईजात्रा भूकम्पपीडितको अनुहार हँसाउन खर्चिएँ । अर्को गाईजात्रामा पक्कै भेट्नेछु ।”
त्यस्तै, उनलाई अर्को चिन्ता पनि रहेछ– अब त अभिनय कला पनि बिर्सिसकेँ होला । झन्डै तीन महिनादेखि अनवरत काममा खटिँदा दर्शकलाई हँसाउन सक्दिन कि जस्तो लाग्छ । जे होस्, दर्शक÷स्रोता र आम मानिसको माया बढ्दै गएको छ, यसले यथास्थानमा फर्काउनेमा विश्वस्त छु । 
उनीहरूकै समूहले निर्माण गरेको ‘छक्का–पञ्जा’ रिलिजको तयारीमा छ । त्यसको ‘प्रमोसन’मा समय दिन नसक्दा दुखित छन् उनी । भन्छन्, “दीपक–दीपाश्रीले फोन गरिरहनुहुन्छ, गाईजात्रा खेल्न नसके पनि हेर्न आउनुहोस् भन्नुभएको थियो, त्यहाँ पनि जान सकिनँ । दुःख लागेको छ ।”
० ० ०
शनिबार शुक्रपथ सहकारीबाट एक समूह श्रमदानका लागि गिरानचौर पुगेको थियो । त्यो समूहलाई धुर्मुस भन्दैथिए– यो बस्ती निर्माणपछि धेरैको बोली बन्द हुनसक्छ । काम गर्न निकै गाह्रो छ । यो देशकै नमुना सिटी पनि हो । पर्यावरणीय हिसाबले उपयुक्त, बालमैत्री, अपांगमैत्री र ग्रिन तथा क्लिन सिटी अवधारणाअन्तर्गत यो बस्ती बनाउन लागिएको हो । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्ने यो नै पहिलो सिटी हुनेछ ।
सरकारको नीति र कार्यान्वयनबीच तालमेल नमिल्दा पुनर्निर्माणमा ढिलाइ भइरहेको उनको बुझाइ छ । सरकारले निर्देशनमात्र दिने तर तल गएर काम भयो कि भएन भनेर अनुगमन नगर्दा र सरोकारवाला निकायले दायित्व बोध नगर्दा समस्या आएको उनको ठहर छ । 
तीन–चार दिनदेखि जाजरकोटाका १४ जना मिस्त्री गिरानचौरमा खटिएका छन् । “धुर्मुस बाबुले राम्रो गर्दै हुँनुहुँदो रहेछ, हामी न्यूनतम ज्यालामा यहाँ काममा खटिएका छौँ,” खगेनकोटका देउमान बिसीले भने । 
१७–१८ वर्षको उमेरदेखि ज्याला मजदुरीमा हिँडेका देउमान अहिले ६० वर्षका भए । “यो उमेरमा थाहा पाएँ, देशका लागि सोच्ने मानिसहरू पनि हुँदा रहेछन्,” उनले भने ।  
० ० ०
बस्तीको मुखैमा भूकम्पले खण्डहर बनाएका केही घरहरू छन्, जसले सरकारलाई गिज्याइरहेको प्रतीत हुन्छ । गिरानचौरमा झन्डै चार सय घरधुरी छन्, जसमध्ये ६५ घर धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउँदैछ । बाँकी घर कहिले बन्ने हुन्, कुनै टुंगो छैन । स्थानीय शिव घोरासैनी भन्छन्, “सरकारले धुर्मुस–सुन्तलीबाट सिकोस्, एउटा कलाकारले बस्ती नै बनाउँछु भनेर आँट गर्छ भने डेढ वर्षसम्म कानमा तेल हालेर बस्न सरकारलाई लाज लाग्नुपर्ने हो ।”
उनको आक्रोश अझै बढ्यो, “भूकम्पपछि तीन सरकार फेरिए तर भूकम्पपीडितको एउटा पालसमेत फेरिएन । यत्रो बर्खा के गरी काटे होलान् भनेर सरकारका निकाय कोही हेर्न समेत आएनन्, यस्तो पनि राज्य हुन्छ सर ?”
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro