काठमाडौं । नेपाली कथानक चलचित्र ‘बाटोः रोड टु डेथ’को बुधवार प्रिमियर गरिएको छ । ललितपुरको लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा भएको प्रिमियरमा चलचित्रको ‘बाटो’को टिम, कलाकार, शुभचिन्तक तथा पत्रकारहरूको उपस्थिति थियो ।
नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा चलचित्र हेर्नेले प्रशंसा गरेको बताए । दर्शकबाट पनि प्रशंसा पाउने आशा गरेको उनले बताए ।
“नेपाली चलचित्रको गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरको बनाउने मेरो चाहना छ । अहिले दर्शक फिल्ममेकरभन्दा निकै अगाडि हुनुहुन्छ,” उनले भने, “त्यसकारण पनि हामीले चलचित्र राम्रो बनाएका छौँ ।”
चलचित्रका अभिनेता सुलक्षण भारतीले नेपाली चलचित्रमा निर्देशक थापाले एउटा नयाँ संसार निर्माण गरेको बताए । उनले यस प्रकारको चलचित्र नेपालमा यसअघि नबनेको बताए ।
अभिनेता उत्पल झाले लामो समयको प्रतिक्षापछि चलचित्र रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे ।
अभिनेत्री रक्षा थापाले यो चलचित्रमा आफ्नो भावना जोडिएको बताइन् ।
प्रिमियरमा सहभागीहरूले अहिलेसम्म नेपालमा बनेका चलचित्रमध्ये ‘बाटो’ फरक रहेको र यो चलचित्रले दर्शकलाई एउटा बाटोमा डोर्याउन सफल रहने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रका निर्माता चन्दन झा हुन् । यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायांकार शरण ऋषिले छायांकन गरेका छन् ।
चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।
चलचित्रको प्रिमियर इभेन्टलाई राठी ग्रुपको राठीकोलले बोन्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो ।