काठमाडौं । बेलाबेलामा चर्चामा आइरहने गायिका हुन्, एलिना चौहान । प्रेम सम्बन्धमा रहँदादेखि नै उनी चर्चामा छिन् । उनी अहिले विवाह गरेर अस्ट्रेलिया पुगेकी छन् ।
अस्ट्रेलियामा रहेकै बेला उनी फेरि एकपटक चर्चामा आएकी छन् । सामाजिक सञ्जालमा नीलडामसहितको रुँदै गरेको भिडियो अपलोड गरेपछि उनी चर्चामा आइन् ।
‘थारा पैसा थारी दौलत’ बोलको नयाँ हिन्दी गीतमा भिडियो बनाएर उनले इन्स्टाग्राममा पोष्ट गरिन् । उक्त भिडियोमा धेरैको नजर पुग्यो । प्रेममा रहेका बेला नै प्रेमी विष्णु सापकोटासँग सम्बन्ध टुटेको भन्ने हल्ला चलेको थियो । पछि उनको विष्णुसँग नै विवाह भयो । एलिना अहिले विष्णुसँगै अस्ट्रेलियामा छिन् ।
रुदैँ गरेको भिडियो आएपछि धेरैले शंका गरे कतै श्रीमानसँग त झगडा परेन ! तर वास्तविकता अर्कै थियो ।
‘यो जस्ट एक्टिङ मात्रै हो है । गीत मन परेर बनाएको । नराम्रो नसोच्नुहोला कसैले,’ भन्दै उनी आफैँले कमेन्टमा लेखेपछि उनले अभिनयमात्र गरेको पुष्टि भयो ।
यसबाहेक पनि उनले यो भिडियोबारे स्पष्ट पारेकी छन् । “टिकटकमा मैले एउटा गीत धेरै देखिरहेको थिएँ । त्यो गीत युट्युबमा गएर हेरेँ । गीत राम्रो लाग्यो,” उनी अगाडि थप्छिन्, “मैले एउटा कन्सेप्ट बनाएँ । र, भिडियो बनाएर पोष्ट गरेँ ।”
धेरैले पिटेको भन्ने सोचे पनि त्यस्तो नभएको उनले स्पष्ट पारेकी छन् । आफूले भाइरल हुन यस्तो भिडियो नबनाएको भन्दै उनले सञ्चारमाध्यमले पुष्टि नगरी आफूखुसी समाचार बनाएको भन्दै असन्तुष्टि जनाएकी छन् ।
“भोलि कुनै स्याड सङ आउला, राम्रो लागेर मलाई सपोर्ट गर्न मन लाग्ला, के मैले बनाउनै नपाउनु ?,” उनी प्रश्न गर्छिन्, “मैले जहिले लभ परेको गीतमा मात्रै भिडियो (टिकटक) बनाउनु पर्ने हो ?”
क्र्याक भ्वाइसलाई नै ‘स्ट्रेन्थ’ बनाउन सफल एलिना अहिले थोरै रुचाइएका गायिकामध्ये एक हुन् । उनले चाँडै नै आफू नेपाल फर्किने पनि बताएकी छन् ।