काठमाडौं । नेपाली कथानक चलचित्र ‘बाटो : रेड टु डेथ’ यही शुक्रबारबाट रिलिज हुँदै छ । यो चलचित्रको प्रचार खासै भएको छैन । निर्माणपक्ष प्रचारमा जुट्न सकेको छैन ।
यद्यपि, यसको ट्रेलरले धेरैलाई कौतुहल बनाएको छ । थ्रिलर जानरामा बनेको यो चलचित्रलाई मदन थापाले निर्देशन गरेका छन् ।
उनका अनुसार यो चलचित्र एक दिनको यात्रामा घट्ने घटनाको कथा हो । एक दिनको यात्रामा पात्रले आफ्नो उद्देश्य पूरा गर्न के–के गर्छ, त्यसकै सेरोफेरोमा चलचित्रको कथा घुम्ने निर्देशक थापा बताउँछन् ।
“यो चलचित्र एक दिनको सफरको कथा हो । काठमाडौंबाट धरानसम्मको यात्राका क्रममा घट्ने घटनालाई मैले चलचित्रमा समेटेको छु,” निर्देशक थापा बाह्रखरीसँग भन्छन्, “यात्रामा रहेका पात्रको लक्ष्य के छ । र, त्यो लक्ष्य प्राप्त गर्न के–के सम्म गर्छन् भन्ने चलचित्रको कथा हो ।”
एक्सन, थ्रिल, सस्पेन्सलगायत सबै पक्ष चलचित्रमा समेटिएको उनको भनाइ छ । नेपाली दर्शकलाई थ्रिलर मुभी हेर्नुपरे साउथ इन्डियन सिनेमा हेर्ने गरेको भन्दै नेपाली चलचित्रमै त्यो ‘टेस्ट’ आफूले दिने प्रयास गरेको उनले जानकारी दिए ।
चलचित्रको अधिकांश छायांकन काठमाडौं र गाइघाटमा भएको छ । चार करोड लगानी रहेको चलचित्र ओटीटीका लागि पनि लक्षित गरेर बनाएको निर्देशक थापा बताउँछन् । नेट्फ्ल्क्सििका लागि आफूले प्रयास गरिरहेको उनले जानकारी दिए ।
लेखन तथा सम्पादन पनि निर्देशक थापाकै रहेको चलचित्रमा मिथिला शर्मा, अशान्त शर्मा, पशुपति राई, उत्पल झा, रक्षा थापा, सुलक्षण भारतीलगायत कलाकारको अभिनय छ ।