site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पर्यटकको स्वर्ग परिचित देश कसरी बन्यो माफिया गढ ?

बीबीसी । तीस वर्षीय पल निकै कमजोर देखिन्छन् । उनी भन्छन्, “यतिखेरको अवस्था निकै खतरनाक छ, मृत्यु जहाँबाट पनि आउन सक्छ ।”  पललाई लाग्छ– उनी अर्को गिरोह (ग्याङ)को हिटलिस्टमा छन् र उनी आमाको आशीर्वादले मात्र बाँचेका छन् ।

“यस्तो लाग्छ भगवान मलाई बोलाउन चाहनुहुन्न र सैतानले मलाई छुन चाहँदैन,” पलले भने । 

पल उनको वास्तविक नाम होइन । उनको परिचय गोप्य राख्न उनलाई यो नाम दिइएको हो । गिरोहमा सामेल हुँदा पल मात्र १५ वर्षका थिए । यतिखेर उनको उमेर ३० वर्ष पुग्यो ।  उनलाई लाग्थ्यो– ‘गिरोहमा सामेल भएपछि जीवनमा मोजमस्ती मात्र हुन्छ ।‘

इक्वेडरको सबैभन्दा ठूलो सहर ग्वायाकिलमा २० वटा गिरोह सक्रिय छन् र आफ्नो वर्चस्व कायम गर्न दिनहुँ गोली हानाहान हुने गर्छ ।

एकै ठाउँमा रोकिएर कुरा गर्यो भने उनका दुश्मनहरूले उनलाई निशाना बनाउन सक्छन् भन्ने पललाई लाग्छ । त्यसैले, उनको सल्लाहमै बीबीसीले पलको अन्तर्वार्ता सहर घुम्दै लिएको जनाएको छ ।

Global Ime bank

“म सम्मान चाहन्छु,” पल भन्छन् । पल र उनको गिरोहले इक्वेडरमा फैलिएको हिंसामा महत्वपूर्ण भूमिका खेलेको थियो ।

कुनै समय इक्वेडर ल्याटिन अमेरिकामा सबैभन्दा सुरक्षित देश थियो । यो देशमा घना जंगल छ र ग्यालापागोस जस्ता मनमोहक टापुहरू पनि छन् । तर पछिल्लो पाँच वर्षमा देशको अवस्था नाजुक बन्दै गइरहेको छ ।

सन् २०२३ मा इक्वेडरमा ८ हजार हत्या भएका थिए । यो संख्या इक्वेडरमा सन् २०१८ भएको हत्याभन्दा आठ गुणा बढी हो । यो हत्याको संख्या मेक्सिको र कोलम्बिया जस्ता देशमा हुनेभन्दा पनि बढी हो ।

सन् २०२४ को जनवरीमा इक्वेडर विश्वभर छायो । कारण थियो– केही बन्दुकधारीहरू लाइभ शो चलिरहेको बेला टीभी स्टेशनमा प्रवेश गरेका थिए । ठीक त्यही समय देशका विभिन्न स्थानमा विस्फोट र कारागारमा दंगाको खबर आउन थाल्यो । धेरै मानिसलाई अपहरण गरिएको खबर पनि आएको थियो ।

दुई महिनाअघि राष्ट्रपति बनेका नोबोआले यसपछि देशमा संकटकाल घोषणा गरेका थिए । उनीको निशानामा लागू औषध तस्करी गर्ने अपराधीहरू थिए ।

संकटकालको घोषणा गर्दै नोबोआले भनेका थिए, “यी ‘नार्को–टेरोरिस्ट’हरू हामीलाई डर देखाउन चाहन्छन् र उनीहरूलाई लाग्छ कि हामी डराएर उनीहरूको माग स्वीकार गर्नेछौं ।”

त्यसयता इक्वेडरमा १६ हजार मानिस पक्राउ परेका छन् । घोषणा गरिएको संकटकाल ८ अप्रिलमा समाप्त भयो । तर राष्ट्रपतिले देशको सुरक्षालाई ध्यानमा राखेर सेनालाई विशेष अधिकार दिइएको बताएका छन् ।

राष्ट्रपति नोबोआ अपराधीहरूलाई कडा सजाय दिने कानुन बनाउन चाहन्छन् । साथै उनले हतियार राख्ने कानुनमा पनि परिवर्तन गर्न चाहेका छन् । यी सबै प्रस्तावहरू अप्रिल २१ मा हुने जनमत संग्रहको हिस्सा हुन् ।

सडकमा निस्कनै मुस्किल 

ग्याङयुद्धले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको छ । मानिसहरू घरबाट बाहिर निस्कन डराउँछन् । अपहरण र फिरौती सामान्य लाग्न थालिसकेको छ ।

हामीले धेरै मानिसहरूसँग कुरा ग¥यौं । उनीहरूले स्पष्ट शब्दमा, आफूहरूलाई बाहिर निस्कन डर लाग्ने, विशेषगरी रातमा डर लाग्ने बताए । इक्वेडर सरकारले क्विटो र ग्वायाकिललगायत धेरै सहरहरूमा रातको समयमा कर्फ्यू लगाएको छ ।

देशको राजधानी क्विटोमा रहेको गेब्रिएला अल्मेडा नाम गरेकी डाक्टरले भनिन्, “म हरेक दिन यस्ता बिरामीहरूलाई भेटिरहेको छु जो असाध्यै मानसिक दबाबमा रहेका छन् ।”

अल्मेडा यस्तो ठाउँमा बस्छिन्, जहाँ ठूलो गेट लगाइएको छ । ठूलो गेट लगाउनुको कारण कोही पनि कोलोनीभित्र पस्न नसकुन् भन्ने हो । उनले आफ्नो क्लिनिकको रुटिन पनि परिवर्तन गरेकी छिन् । उनले रातमा बाहिर निस्कन छोडेकी छन् ।

घर बाहिर निस्कनु पर्यो भने अल्मेडा तब मात्र निस्किन्छिन्, जब ट्याक्सी आइपुग्छ । ट्याक्सी नआउन्जेलसम्म उनी घरबाट बाहिर आउँदिनन् । ट्याक्सीमा चढेपछि उनी तुरुन्तै आफ्नो परिवारका सदस्यहरूसँग लोकेशन सेयर गर्छिन् । 

लागू पदार्थको व्यापार केन्द्र

अल्मेडा भन्छिन्, “हालसालै यहाँ अपहरणको घटना भएको थियो । यहाँ नजिकै । म सानै छँदा कोलम्बियामा किन यति धेरै हिंसा भैरहेको छ भनी सोच्थें । हाम्रो देशको हालत एक दिन यस्तो हुनेछ भनेर मलै कहिल्यै सोचेको थिइनँ । अहिले बसमा पर्स चोरी हुन सक्छ । तर मलाई मृत्युको डर भने छैन । हो, हामी भयानक दुःस्वप्नमा बाँचिरहेका छौं ।”

एक बच्चाकी आमा अल्मेडा अब स्पेनमा बस्नेबारे गम्भीर रूपमा विचार गरिरहेकी छन् । उनी भन्छिन्, “म मेरो छोरालाई यस्तो ठाउँमा लैजान चाहन्छु जहाँ हिंसा र अपहरणको डरविना घुम्न सकियोस् ।”

इक्वेडरका राष्ट्रपतिले अनुमान गरेझैँ समस्यको जड लागू औषधको धन्दा हो । पलको कथाबाट पनि यही कुरा बुझ्न सकिन्छ । गिरोहमा सामेल भएपछि आफ्नो क्षेत्रमा गाँजा र कोकिन बेच्ने गरेको पल बताउँछन् ।
 
संयुक्त राष्ट्रसंघका अनुसार, त्यसयता विश्वभर कोकिनको उत्पादन र उपभोग रेकर्ड स्तरमा पुगेको छ । २०२० र २०२१ को बीचमा कोकिन उत्पादन तीन गुणा बढेको छ । मेक्सिको, कोलम्बिया र अल्बानियाका गिरोहहरू अब लागूपदार्थको धन्दाका लागि नयाँ ठाउँहरू खोजिरहेका छन् ।

इक्वेडर त्यस्ता मानिसहरूका लागि उपयुक्त ठाउँ साबित भएको छ । किनभने इक्वेडरको विश्वका दुई ठूला कोकिन उत्पादन गर्ने देशहरूसँग सीमा जोडिएको छ । यी दुई देश कोलम्बिया र पेरु हुन् ।

पछिल्लो अवस्थाले भन्छ– इक्वेडर लागूपदार्थको विश्वव्यापी वितरण केन्द्रमा परिणत भएको छ, जहाँ लागूपदार्थ भण्डारण गरिन्छ र ट्रान्जिट पोइन्टको रूपमा प्रयोग गरिन्छ । इक्वेडरबाट लाग ूपदार्थ शिपिंग कन्टेनरहरूमार्फत अन्य देशहरू र अन्तिम गन्तव्यमा पठाइन्छ । यस प्रक्रियामा गिरोहहरूले महत्वपूर्ण भूमिका खेल्छन् ।

सुरुवाती दिनमा पलले थोरै परिमाणमा लागुऔषधको व्यापार गर्थे । तर पछि किलोको परिमाणमा कोकिनको तस्करी गर्न थालेको पल बताउँछन् । अन्य उत्पादनसँगै अवैध लागूऔषध लुकाएर कन्टेनरमा राख्ने गरेको समेत उनले बताए ।

इक्वेडरबाट हुने कुल निर्यातको तीन चौथाइ भन्दा बढी हिस्सा ग्वाक्विल बन्दरगाहबाट बाहिरिन्छ । प्रशान्त महासागरको तटमा रहेको यस बन्दरगाहबाट मुख्य रुपमा केरा निर्यात गरिन्छ । तर इक्वेडोर कोस्ट गार्डले हाम्रो सामु तस्विरको अर्को साइड प्रस्तुत गरे । उनका अनुसार, इक्वेडरबाट हुने लागू औषध तस्करीमध्ये ९० प्रतिशत यही बन्दरगाहका कन्टेनरबाट बाहिरिने गरेको छ ।

इक्वेडरमा जब आन्तरिक सशस्त्र द्वन्द्वको घोषणा भयो तबदेखि कोस्ट गार्डले आफ्नो गस्ती बढाएको छ । जब कोस्ट गार्डको टोलीले बन्दरगाह वरपरका क्षेत्रहरूमा गस्ती गरिरहेको थियो, हामी उनीहरूको टोलीमा सहभागी भयौं ।

उनीहरूका एक कमाण्डरले हामीलाई भने, “पहिले हामी सामान्य अपराधीहरूको सामना गथ्र्यौं । अब त हामीले सामना गर्ने मानिसहरू जोसुकै हुन्, तर उनीहरूसँग डरलाग्दा हतियार हुनसक्छ ।”

गिरोहको खतराको डरले उनले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् । उनले आफ्नो अनुहार छोप्न कालो मास्क लगाएका थिए ।

उनको सशस्त्र टोली दिनमा चार पटक गस्तीमा निस्कन्छ । उनीहरू ‘स्पीड बोट’हरूमा अपराधी खोज्छन् । यस्ता अपराधीहरू ठूला जहाजमा राखिएका कन्टेनरहरूमा लागूपदार्थ लुकाउन खोज्छन् ।

तर भ्रष्टाचारको समस्याले उनीहरूको काम गर्न कठिनाई भएको छ । बन्दरगाहमा खटिएका व्यक्तिलाई उचित रकम दिएमा उनीहरूले सुरक्षा क्यामेरालाई अन्यत्र फर्काइदिने पल बताउँछन् । यसोगर्दा अवैध गतिविधि गर्ने कुनै अपराधी सुरक्षा क्यामेरामा कैद हुँदैन ।

कोस्ट गार्ड कमाण्डर भन्छन्, “सिस्टममा धेरै व्यक्तिहरू भ्रष्ट छन् । कहिलेकाहीँ म बन्दरगाहभित्रको सुरक्षा जाँच बिन्दूहरूमा रहेका कन्टेनरमा छेडछाड गरिएको छ भनेर भन्न सक्छु ।”

सबै आफ्नो क्षेत्र बनाउन चाहन्छन् 

पलका लागि राम्रो तस्करी भनेको ‘धेरै पैसा, राम्रो हतियार’ हो । तथ्याङ्कले सन् २०२० पछि इक्वेडर प्रहरीले बरामद गरेको हतियारको संख्या ५८ प्रतिशतले बढेको देखाउँछ ।

प्रहरीका अनुसार, बरामद हतियारको संख्या बढ्नु भनेको देशमा हतियारको ‘सर्कुलेसन’ बढ्नु हो । सडकमा आपराधिक गिरोहबीच तनाव बढ्दै जाँदा कारागार पर्खालभित्रका हिंसात्मक झडपहरू पनि घातक बन्दै गएका छन् ।

पल बताउँछन्, “सबै आ–आफ्नो क्षेत्र बनाउन चाहन्छन् । अपराधीहरू लागूपदार्थ बेच्न, तस्करी गर्न र जबरजस्ती तथा अपहरणको लागि पनि क्षेत्र बनाउन चाहन्छन् ।”

हामीले पललाई सोध्यौं– ‘तपाईँ किन गिरोह छोड्नुहुन्न ?’

यसको जवाफमा पलले आफू लुकेर बस्दै आएपछि आपराधिक गतिविधिसँग दुरी बढेको बताए । तर उनी यो पनि स्वीकार्छन् कि उनलाई खोज्नेहरू सबै ठाउँमा उपस्थित छन् ।

पल अझै पनि आफ्नो गिरोहका सदस्यहरूसँग सम्पर्कमा छन् । आफ्नो सुरक्षाका लागि आवश्यक परेको बेला उनीहरूसँग मद्दत माग्न उनले सम्पर्क नटुटाएका हुन् । 

पलले चाहेको भए प्रहरीसमक्ष आत्मसमर्पण गर्न सक्थे । तर उनले गरेका छैनन् । उनको बुझाईमा गिरोह तब मात्र छाड्न सकिन्छ, जब देश छोडेर अन्यत्र गइन्छ । किनभने गिरोहका सदस्य जेलमा समेत सक्रिय छन् ।

हामीले उनलाई सोध्यौं– ‘अपराधको संसारमा तपाईँको संलग्नता कस्तो थियो ?’

यस प्रश्नमा, पलले हिच्किचाउँदै आफूले मानिसहरूलाई मारेको कुरा स्वीकार गरे । मानिसहरूका घर बर्बाद गरेकोमा उनलाई पछुतो पनि छ । “मानिस मार्दा मलाई दुःख लाग्छ । म कसम खाएर भन्छु– जसलाई मैले नोक्सान पुर्याएको छु मलाई त्यसप्रति पछुतो छ,” पलले भने ।
 
न्यायका लागि लडाई

जब यी सबै मुद्दाहरू इक्वेडर सरकार समक्ष उठाइयो तब भनियो– हिंसाका कारण हुने मृत्युका घटनाहरूमा उल्लेखनीय कमी आएको छ । कारागारहरूमा संगठित गिरोहहरूको शक्ति समाप्त गरिएको छ । भ्रष्टाचारका मुद्दाहरूमा छानबिन भइरहेको छ र ‘माफिया’ विरुद्धको लडाई जितिँदै छ ।

एकातिर सरकार यी गिरोहलाई कारबाही गर्न खोजिरहेको छ भने अर्कोतिर यस्ता अपराधीलाई कानुनी कठघरामा ल्याउने जिम्मेवारी लिनेहरू आफैं निशाना बनिरहेका छन् । विगत दुई वर्षमा ६ जना सरकारी वकिलको हत्या भएको छ । यो तथ्यले अवस्थाको गम्भीरता दर्शाउँछ । 

हत्या गरिएका सरकारी वकिलमध्ये एक थिए, सेजर स्वारेज । उनले टिभी स्टेसन आक्रमण र भ्रष्टाचारको ठूलो मुद्दा ‘मेस्टास्टेसिस केस’को अनुसन्धानको नेतृत्व गरिरहेका थिए । उनको जनवरीमा गोली हानी हत्या गरिएको थियो ।

“उनी एक असल मान्छे थिए । उनी आफ्नो कामलाई माया गर्थे,” सेजरका सहकर्मी तथा सरकारी वकिल मिशेल लुनाले भनिन् ।

लुनाका अनुसार, उनी ६ वर्षको हुँदा उनको बुबा ठगीको सिकार भएका थिए । उनी थप्छिन्, “मैले त्यो उमेरदेखि नै बुझेको थिएँ– अन्यायको वास्तविक अर्थ के हो । जब म हुर्किएँ, मैले आफैँसँग प्रतिज्ञा गरें कि म यसविरुद्ध लड्नेछु ।”

तर, अहिले उनलाई डर लाग्न थालेको छ । ज्यानको माया लाग्न थालेको छ । उनी आफ्नो करियर बदल्नेबारेमा पनि सोचिरहेकी छन् ।

“यदि हामीले हाम्रो सुरक्षाको कुनै ग्यारेन्टी पाएनौं भने म राजीनामा दिन्छु,” उनले भनिन् । 

लुना र उनका सहकर्मीहरू सरकारी वकिलहरूको पहिचान गोप्य राख्न चाहन्छन् । उनीहरू मुद्दाहरू भर्चुअल रूपमा सुनुवाइ गर्न चाहन्छन् । यस्तो चाहना राख्नु पछाडिको कारण हो– अदालतमा अपराधीहरूसँगै जाने जोखिमबाट बच्नु ।

महान्यायाधिवक्ता डायना सालाजारले ‘मेस्टास्टेसिस केस’ मा तस्कर र सरकारी कर्मचारीबीचको सम्बन्धको पनि अनुसन्धान गरिरहेकी छिन् । उनलाई धम्की पनि आइरहेको छ । उनले प्रहरी र सेनासँग थप सहयोग मागेकी छन् ।

तर, इक्वेडरमा स्रोतको अभाव पनि एउटा समस्याका रुपमा देखिएको छ । लुना भन्छिन्, “एउटा सरकारी वकिललाई पाँच हजार मुद्दाहरू हेर्न दुई जना मात्र सहयोगी दिएर कसरी सम्भव हुन्छ ?”

लुनाले व्यक्तिगत रूपमा कुनै धम्की पाएकी छैनन् । तर जुनसुकै बेला यस्तो घटना हुन सक्नेमा उनी चिन्तित छिन् । कसैले गिरोहविरुद्ध लड्न खोज्छ भने उ संगठित अपराधको तारो बन्छ भन्ने उनले बुझेकी छन् । उनलाई यसैको डर छ । 
(बीबीसीबाट भावानुवाद)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu