काठमाडौं । बिराज भट्टको निर्देशन रहने चलचित्र ‘१२ गाउँ’मा न्यान्सी खड्का नायिका बन्ने पक्का भएको छ । न्यान्सी र निर्माण पक्षबीच सम्झौता पनि भइसकेको छ ।
खड्का मिस नेपाल इन्टरनेशनल–२०२२ हुन् । विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडल समेत हुन् । उनले केही समय अगाडि जापानमा भएको ‘मिस इन्टरनेशनल‘मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
आमसञ्चारमा अमेरिकाबाट स्नातक गरेकी न्यान्सी मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय रहँदै आएकी छन् ।
यही चलचित्रबाट बिराज आफ्ना छोरा समीर भट्टलाई डेब्यु गराउँदै छन् । प्रि–प्रोडक्सनको चरणमा रहेको ‘१२ गाउँ’ चैत १५ बाट छायांकनमा जाने भएको छ ।
सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता बिराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैँले निर्देशन गर्नेछन् ।